कस्तो नबनाउने काठमाडौँलाई ?

बाग्मती नेपालको एक मुख्य नदी हो । बागद्वार उद्‍गम स्थल भएको यो नदी काठमाडौँको किनारबाट बग्दछ । चोभारको गल्छीबाट उपत्यका काटेर तराईतिर बग्ने यो नदीलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू पवित्र मान्दछन् । यस नदीको किनारमा दाहसंस्कार गर्दा जन्म र मृत्युको बन्धनबाट मुक्त हुनुका साथै मोक्ष समेत प्राप्त हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ ।

विगत केही वर्षदेखि यस नदीको स्वच्छताका लागि थुप्रै योजना र कार्यक्रम सञ्चालन भए तर समस्या घट्नुको साटो बढ्दै गएको छ । बढ्दो जनसङ्ख्या‚ अनियन्त्रित सहरीकरण‚ अव्यवस्थित ढल एवम् फोहोरमैलाले सहर झन् प्रदूषित हुँदै आएको छ । नदीको जलमार्ग दिनानुदिन साँघुरिँदै गएको छ भने नदीको बहाव पनि क्रमशः घट्दै गएको छ ।

बाग्मती नदीलाई स्वच्छ बनाउने लक्ष्य अनुसारको काम हुन नसकेपछि २०६४ सालमा बाग्मती सभ्यता एकीकृत विकास समिति बनाएर काम गर्न थालिएको थियो । २०६६ सालमा मन्त्रिपरिषद्को निर्णयले बागमती कार्य योजना कार्यान्वयनमा आयो । बागमती बचाउ अभियानले केही समयका लागि तीव्रता पनि पायो तर प्रगति भएको देखिएन । सुकुम्वासी बस्ती तथा अन्य किसिमका अतिक्रमणले नदीको सिमाना साँघुरो हुँदै गएको देखिन्छ ।

उपत्यकामा ढल तथा फोहोर व्यवस्थापन हुन नसक्दा नदी दिनानुदिन प्रदूषित हुँदै गएको छ भने नदीको सिमाना साँघुरो भएका कारण वर्षायाममा नदीको बहाव सहर तथा बस्तीतिर पसेर डुबानको समस्या देखिने गरेको छ । बर्सेनि धोबीखोला बागमतीको डुबानले सताइ रहेको छ । वर्षमा १ महिना चिन्ता गर्ने अनि ११ महिना कानमा तेल हालेर सुत्ने परिपाटीले गर्दा बाग्मतीको व्यवस्थापन नभएको हो ।

विगत केही वर्षदेखि यस नदीको स्वच्छताका लागि थुप्रै योजना र कार्यक्रम सञ्चालन भए तर समस्या घट्नुको साटो बढ्दै गएको छ । बढ्दो जनसङ्ख्या‚ अनियन्त्रित सहरीकरण‚ अव्यवस्थित ढल एवम् फोहोरमैलाले सहर झन् प्रदूषित हुँदै आएको छ । नदीको जलमार्ग दिनानुदिन साँघुरिँदै गएको छ भने नदीको बहाव पनि क्रमशः घट्दै गएको छ ।

प्राविधिक जनशक्तिको कमी र निर्णायक तहमा भएका व्यक्तिहरूमा इच्छाशक्ति नभएका कारण ढल निर्माण कार्य सम्पन्न गर्न; सम्पन्न भएका सडक सञ्चालन गर्न; मर्मत तथा सम्भार गर्न; र भइरहेको फोहोर व्यवस्थापन गर्न पनि चुनौतीपूर्ण बनेको छ । पूर्व मुख्य सचिव लिलामणि पौडेलको नेतृत्वमा सञ्चालित बाग्मती सफाइ अभियानले अहिले पनि निरन्तरता पाइरहेको भए तापनि त्यो पर्याप्त हुन सकेको छैन । फोहोर जथाभाबी गर्ने अनि झिँगा धपाउने मात्र गरेर बागमती सफाइ अभियान कहिले पूर्ण होला ?

बाग्मतीको उद्गमस्थलबाट पशुपतिसम्म र पशुपतिदेखि चोभारको गल्छीसम्म दुई वटा फरक फरक योजना बनाइ कार्यान्वयन गर्नेतर्फ सोच्नुपर्छ । हरियाली सहितको सफा बाग्मती नदीको परिकल्पना साकार पार्न बाग्मतीको दुवैतर्फ खुला र स्तरीय सडक‚ ग्रिनबेल्ट निर्माण र ढल मिसावटबाट बचाउन ढल प्रवाह हुने छुट्टै व्यवस्था गर्नु जरुरी छ । अन्यथा बाग्मती नदीमा अहिले झैँ निरन्तर ढल बगिरहने छ । ढललाई अन्डरग्राउण्ड गर्दै सम्भव भएसम्म सडक र पुलसँग जोडेर चोभारसम्म निकास दिने योजना बनाइ कार्यान्वयन गर्नु आवश्यक देखिन्छ ।

पशुपतिनाथदेखि टेकु दोभानसम्म बागमती नदीको पानीलाई संकलन गरी वोटिङ सञ्चालन गर्नेबारे पनि सोच विचार गर्नुपर्दछ । बाग्मती नदीलाई सौन्दर्यको पर्याय बनाउन स्थानीय नागरिकले पनि जिम्मेवारी बोध गर्नुपर्ने हुन्छ । यी सन्दर्भलाई मनन गर्न सके मात्र बाग्मतीको वास्तविक स्वरूप कायम हुन र हामीले सोचेजस्तो पर्यावरणीय सन्तुलन कायम गर्न मदत पुग्छ।

विगत केही वर्षदेखि हप्तैपिच्छे बागमती सफाइ अभियान जारी छ । जुन रूपमा बागमती सफाइ अभियान शुरु भयो‚ त्यसको मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ । यति भए पनि यो अभियानमा उपत्यकावासीको सक्रिय सहभागिता अपरिहार्य छ । घरघरबाट निस्किएका ढल र जथाभाबी यत्रतत्र थुपारिएका फोहोर मैलाले बागमतीको अस्तित्व संकटमा परिरहेको कोहीबाट लुकेको छैन तर यसलाई मनन गर्ने समय धेरैसँग नभएझैँ देखिन्छ ।

सर्वसाधारणमा नदी सफा राख्नुपर्छ भन्ने चेतनाको विकास भएका कारणले तुलनात्मक रूपमा विगतभन्दा अहिले केही सफाइ त भएको छ तर त्यतिले मात्र पुग्दैन । उपत्यकावासीको ध्यान यसतर्फ केन्द्रित गराउनु जरुरी छ । यो एउटा पवित्र नदी हो । यसको स्वच्छताले मानवीय जीवन पनि स्वस्थ रहन सक्छ‚ अन्यथा विभिन्न रोगको सिकार बन्ने कुरामा दुई मत छैन । घर-घरबाट निस्कने ढल र फोहोरको व्यवस्थापन गर्न नसक्दा यो स्थिति सिर्जना भएको हो । राजधानीका करिब ३ लाख भन्दा बढी घरहरूमा करिब ४०/४५ लाख मानिसहरू बस्दछन् । ती घरबाट निस्कने ढल बागमती, विष्णुमती, मनोहरा, धोवीखोला, टुकुचा, हनुमन्ते लगायतका नदी र खोलाहरूमा मिसाइएको छ । यो ढल मिसाउने विषयको व्यवस्थापन जबसम्म हुन सक्दैन तबसम्म जति सफाइ गरे पनि उस्तै रहने छ ।

हरियाली सहितको सफा बाग्मती नदीको परिकल्पना साकार पार्न बाग्मतीको दुवैतर्फ खुला र स्तरीय सडक‚ ग्रिनबेल्ट निर्माण र ढल मिसावटबाट बचाउन ढल प्रवाह हुने छुट्टै व्यवस्था गर्नु जरुरी छ ।

नदीमा थुप्रै पानी बग्यो । त्योसँगै राजनीतिका थुप्रै फोहोरी खेलहरू पनि भए । यसको बहानामा आफ्नो गोजी भर्नेहरू पनि भेटिए तर नदीको अवस्था भने ज्युँका त्युँ छ । ०६३/६३ को जनआन्दोलन पछि पनि थुप्रै सरकारहरू बने । थुप्रै प्रधानमन्त्री‚ मन्त्री‚ सांसद‚ मेयर बने तर बागमतीको स्वरूप भने झन् बिग्रँदै गएको छ । राजनीतिकर्मीहरूमा इच्छाशक्तिको कमी हुँदा उनीहरूले यसलाई पनि स्वार्थपूर्ति गर्ने माध्यम बनाए । बाग्मतीको प्रदूषण पनि अरूले नै गरेको दोष लगाए तर विडम्बना त्यसको सौन्दर्य बारे कसैले सोचेन ।

एकातिर सफाइ अभियान जारी रहेको छ भने अर्कोतिर जानाजान उपत्यकाका सडक, चोक र नदी किनारमा फोहोर थुपार्ने काम भइरहेकै छ । यी स्थानहरूमा देखिने फोहरको थुप्रोले यहाँको सभ्यताको स्रोतका रूपमा स्थापित बाग्मती लगायतका नदीको महिमा र छवि नासिँदै गएको छ। हप्तौँ होइन महिनौँसम्म पनि फोहोरका थुप्रोहरू ती सडक‚ चोक र नदी किनारबाट उठाउने र व्यवस्थापन गर्ने कार्यलाई सरोकार राख्ने पक्षले बेवास्ता गर्दै आएका छन् । घर बाहिर हिँड्दा समेत नाक थुनेर हिँड्नुपर्ने अवस्था छ । गर्मीयाम बढेसँगै फोहोर थुप्रिएकाले प्रदूषण अझ बढेर महामारी फैलन सक्ने खतरा बढ्दै गएको छ। यसले देशकै राजधानी सहर काठमाडौँ विश्व सामु घृणित हुने चिन्ता थपिएको छ ।

सांस्कृतिक सहरका रूपमा समेत विश्वमा परिचित काठमाडौँमा फोहर नउठ्दा पर्यटकमा पनि नकारात्मक सन्देश गएको छ । स्थानीय सरकारहरूले फोहोर व्यवस्थापनलाई चासो नदिई पन्छने गरेको देखिन्छ । त्यस विषयमा स्थानीयले पनि कुनै खबरदारी गरिरहेका छैनन् । सरकारका काम कारबाहीप्रति नागरिक समाज तथा बुद्धिजीवीहरूले वाच डगको भूमिका निर्वाह गर्नुपर्नेमा त्योसमेत यथेष्ट मात्रामा हुन सकिरहेको छैन । बुद्धिजीवीहरूमा बुद्धि बेचेर जीविकोपार्जन गर्ने तर सार्वजनिक सरोकारका विषयमा आवाज नउठाउने प्रवृत्ति हाबी भएको छ ।

सरसफाइलाई जबसम्म एउटा अभियानका रूपमा लिइँदैन‚ जबसम्म आफ्नो घर वरपर आफैँ सरसफाइ गर्ने वातावरण बन्दैन, तबसम्म बागमती लगायतका नदीहरूको दुर्दशा यस्तै रहिरहने निश्चित छ । हरेक नागरिकले सरसफाइमा विशेष ध्यान दिने र स्वच्छ वातावरणको हकको लागि सरकारलाई बेलाबेला घचघच्याई रहनु आवश्यक छ । नागरिकले पनि आफू जिम्मेवार हुन जरुरी छ । आफ्नो घर अगाडिको फोहोर उठाउन पनि सरकारकै मुख ताक्ने स्थितिको अन्त्य गर्नुपर्दछ ।

आफूले गरेको फोहोरको व्यवस्थापन आफैँ गर्ने बानी बसाउन मूलतः स्थानीय नागरिकमा चेतनाले मात्र काम गर्न नसकिरहेको पक्षलाई विचार गरी दण्ड प्रणाली लागू गर्नु आवश्यक भएको छ। चुहिगम मुखमा हालेर त्यसको खोल जथाभाबी फाल्ने, सार्वजनिक स्थानमा पिच्चपिच्च थुक्ने । चुरोटका ठुटा सडकमै मिल्काउने र लगाइरहेको मास्क उचितस्थानमा नराख्ने प्रवृत्ति सामान्य बन्दै गएको छ । यी समस्याबाट मुक्त हुन एक खालको अनुशासनमा रही सभ्य नागरिकको परिचय दिन सकियो भने मात्र सरसफाइ अभियानमा सुधारका केही संकेतहरू देखा पर्नेछन् ।

काठमाडौँलाई कस्तो बनाउने भन्दा पनि कस्तो नबनाउने भनेर छलफल गर्नु र नयाँ योजना बनाउँदा सबै कुरालाई ख्याल गरेर विकास गर्नु सान्दर्भिक देखिएको छ । काठमाडौँलाई पूर्णतः प्राचीन सहरका रूपमा विकास गर्न कसरी सकिएला ? सांस्कृतिक सहरलाई सभ्यतासँग जोडिएको सहरको रूपमा विकास गर्न के गर्नुपर्ला ?

यहाँ नागरिक दायित्व र सरकारी जिम्मेवारीबीच समन्वयको खाँचो देखिएको छ । राज्यको दायित्व जनतालाई सेवा प्रवाहसँगै स्वच्छ वातावरणमा बाँच्न दिने वातावरण बनाउनु पनि हो । यसको लागि काठमाडौँ उपत्यकाका सबै स्थानीय तहहरूले एकीकृत योजना बनाइ बागमती सफाइ अभियानलाई कार्यान्वयन गर्न सकियो मात्र सफा, स्वच्छ र सुन्दर बागमतीसहितको काठमाडौँ हामीले देख्न सक्ने छौँ ।

कुनै समय काठमाडौँ (कान्तिपुर) को सौन्दर्यबाट मोहित भएर आदिकवि भानुभक्त आचार्यले अलकापुरी नगरी कविता लेखेका थिए । यो अलकापुरी नगरी वास्तुशिल्पको सहर हो । यसलाई मन्दिरै मन्दिरको सहर पनि भनियो । ४०० ईशापूर्व पुरानो किराँत सभ्यतालाई अझै पनि आफ्नो गर्भमा समेटेर बाँचेको यो सहरले आधुनिकतालाई पनि आत्मसात् गर्दै गएको छ । अहिले मन्दिरै मन्दिरको यो सहरमा आधुनिक व्यापारिक भवन, सिनेमा घर, अनेक प्रविधियुक्त संरचनाहरू थपिएका छन् ।

आदिकवि भानुभक्तले भनेको जस्तो नभएर अहिले काठमाडौँ कतै दिल्लीजस्तो, कतै लन्डनजस्तो र कतै चाहिँ बनारसजस्तो हुन पुगेको छ । यो सहर ‘आधुनिकता र प्राचीन शैलीको फ्युजन’ बन्दै गएको झैँ देखिन्छ । काठमाडौँलाई कस्तो बनाउने भन्दा पनि कस्तो नबनाउने भनेर छलफल गर्नु र नयाँ योजना बनाउँदा सबै कुरालाई ख्याल गरेर विकास गर्नु सान्दर्भिक देखिएको छ । काठमाडौँलाई पूर्णतः प्राचीन सहरका रूपमा विकास गर्न कसरी सकिएला ? सांस्कृतिक सहरलाई सभ्यतासँग जोडिएको सहरको रूपमा विकास गर्न के गर्नुपर्ला ? उपत्यकालाई सांस्कृतिक राजधानी बनाउनेबारे पो सोच्ने हो कि ? यी प्रश्न पाठक वर्गलाई प्रतिक्रियाको लागि छोडेकी छु । स्राेतः INS न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *