केन्द्रीय परिपत्रभन्दा बाहिर गई काम नगर्न सभापति खनालको निर्देशन
काठमाडौँ । नेपाली कांग्रेस चितवनले केन्द्रीय परिपत्रभन्दा बाहिर गएर काम नगर्न निर्देशन दिएको छ।
जिल्ला सभापति राजेश्वर खनालले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्। विज्ञप्तिमा भनिएको छ, “यस प्रक्रियालाई नकारात्मक प्रभाव पर्ने गरी केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै नेता तथा कार्यकर्तासँग विनम्रताका साथ आग्रह गर्दछु।”
उनले आसन्न स्थानीय निर्वाचनमा सबै पार्टी होमिएको अवस्थामा कांग्रेसले गठबन्धनलाई आत्मसात गरी अगाडि बढ्नुपर्ने कुरामा पार्टीका नेता तथा कार्यकर्ताको ध्यानाकर्षण गराएका छन्। सभापति खनालले केन्द्रीय परिपत्रअनुसार गठबन्धनलाई पूर्णपालना गरी अगाडि बढ्नसमेत विज्ञप्तिमार्फत् आग्रह गरेका छन्।