जसपालाई मेयर दिएपछि वीरगञ्ज कांग्रेसलाई जनाधार गुम्ने चिन्ता

काठमाडौँ । सत्तारूढ गठबन्धनले स्थानीय तह निर्वाचनका लागि महानगर तथा उपमहानगरको भागबण्डा टुंग्याइसकेको छ ।

शीर्ष नेताहरूले काठमाडौँबाटै गरिदिएको बाँडफाँडले स्थानीय स्तरका नेता तथा कार्यकर्तामा भने असन्तुष्टि बढेको छ ।

बाँडफाँडअनुसार ६ महानगरमध्ये ३ वटा कांग्रेसको भागमा परेको छ भने माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाको भागमा १/१ वटा महानगर परेका छन् ।

महानगर भागबण्डापछि गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र स्थानीय स्तरमा तीव्र असन्तुष्टि देखिएको छ । गठबन्धनका कारण शीर्ष नेतृत्वले आफूहरूको जनाधार संकटमा पारिदिएको आरोप कतिपय स्थानीय तहका नेताकार्यकर्ताको छ ।

मधेश प्रदेशको ठूलो सहर वीरगञ्जमा पनि यस्तै किसिमको असन्तुष्टि देखिएको छ । गठबन्धनले गरेको निर्णयअनुसार वीरगञ्जको मेयर जनता समाजवादी पार्टीले पाएपछि स्थानीय कांग्रेस नेताहरूले वीरगञ्जमा पार्टीले जनाधार गुमाउने चिन्ता देखिएकाे छ ।

कांग्रेसको पर्सा नेतृत्वले केन्द्रीय निर्णयभन्दा पहिल्यै महानगरमा कसैसँग पनि गठबन्धन नगर्ने निर्णय गरेको थियो ।

कांग्रेसले जसपासँग सहमति गर्दै जिल्लाभर दुवै पार्टीले छुट्टाछुट्टै निर्वाचन लड्ने सहमति गरेकाे थियाे । कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र जसपाका पर्सा अध्यक्ष रामनरेश यादवबीच भएको सहमतिमा दुवै पार्टीले कार्यकर्ताको मनोभावनाको कदर गर्न छुट्टाछुट्टै निर्वाचन लड्ने निर्णय भएको बताएका थिए ।

केन्द्रले निर्णय लाद्ने देखिएपछि कांग्रेसका पर्सा जिल्ला सभापति जनार्दन क्षेत्री, केन्द्रीय सदस्य रमेश रिजाल, संविधान सभाका सदस्य रहेका अनि रुंगाटा, महासमिति सदस्य राकेश सिंह लगायतका नेताहरू प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न काठमाडौँ हान्निएका थिए ।

देउवासँगको भेटमा नेताहरूले गठबन्धनको निर्णय पुनःविचार गर्न आग्रह गरेका थिए । भेटका क्रममा देउवाबाट नेताहरूले ‘हुन्छ, ठिक छ’ भन्ने जवाफ पाएको भएपनि घटनाक्रमले निर्णयमाथि पुनःविचार हुने सम्भावना भने देखिएको छैन ।

उता स्थानीय स्तरमा वीरगञ्जको मेयर अरू पार्टीका लागि छोड्दा कांग्रेसले संघीय र प्रदेश लगायतका निर्वाचन जित्न मुस्किल हुने विश्लेषण हुन थालेको छ ।

यसअघि २०७४ को स्थानीय निर्वाचनमा वीरगञ्जबाट तत्कालीन संघीय समाजवादी फोरमका नेता विजयकुमार सरावगी मेयर पदमा विजयी भएका थिए । सरावगी अहिले एमालेमा पुगेका छन् । २०७९ को स्थानीय निर्वाचनका लागि पनि एमालेबाट सरावगी नै मेयरको उम्मेदवारका लागि सिफारिस भइसकेका छन् ।

प्रधानमन्त्रीसँगको भेटमा कांग्रेस नेताहरूले सानो र क्षेत्रीय पार्टीबाट मूलधारको पार्टीमा आएका सरावगी अबका निर्वाचनमा वीरगञ्ज कांग्रेसका लागि मुख्य चुनौतीकाे रूपमा रहने बताएका थिए । यस्तै, महानगरमा एमालेले लोसपासँग गठबन्धन गरेको छ ।

वीरगञ्ज महानगरले २ वटा प्रतिनिधिसभा तथा ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र ओगट्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *