गृह मन्त्रालयले किराँत जनवादी वर्कर्सका कार्यकर्ता रिहाइ गर्ने
काठमाडौँ । गृह मन्त्रालयले किराँत जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरु गरेको छ।
उक्त पार्टीले पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ता प्रक्रिया सुरु गरेमा राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आउने र स्थानीय निर्वाचनमा भाग लिने बताएपछि सो पार्टीका नेता कार्यकर्ताको रिहाइ र कानुनअनुरूप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया सुरु गरिएको हो। मन्त्रालयका प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलले किराँत जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ताको आवश्यक प्रक्रिया थालिएको जानकारी दिए।
उक्त पार्टी र मूलधारको राजनीतिभन्दा बाहिर रहेका शक्तिबीच वार्ता गर्न गठित प्रारम्भिक वार्ता उपसमितिबीच २०७१ साउन ११ गते वार्ता सम्पन्न भएको थियो। त्यही सहमतिको जगमा विभिन्न समयमा भएका अनौपचारिक वार्तापछि अहिले विभिन्न आरोपमा थुनामा रहेका नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिएमा मूलधारको राजनीतिमा आउने र निर्वाचनमा सहभागी हुने प्रतिबद्धता आएपछि सरकारले आवश्यक तयारी थालेको हो।
पार्टीले पूर्वी नेपालमा आफ्ना क्रियाकलाप गर्दै आएको छ।