वडाध्यक्षमा चुनाव लड्न तीन शिक्षकले दिए राजीनामा

धनगढी । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा चुनाव लड्न डडेल्धुराका दुई र डोटीका एक गरि तीन जना शिक्षकले राजीनामा दिएका छन् ।

डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ विजयाशैनी माध्यामिक विद्यालय चामाचौडका शिक्षक प्रेमबहादुर ऐर, गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम माध्यामिक विद्यालय रुवाखोलाका चन्द्रबहादुर देउवाले राजीनामा दिएका छन्।

ऐर र देउवाले शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुरामा राजीनामा पत्रमा बुझाएका हुन् । ऐर २०४१ देखि स्थायी निमावि द्वितीय शिक्षक हुन् भने देउवा २०४६ देखि स्थायी प्रावि द्वितीय श्रेणी शिक्षकका रूपमा कार्यरत थिए ।

देउवा नेपाली कांग्रेसबाट गन्यापधुरा–१ को वडाध्यक्ष तथा ऐर नेकपा एकिकृत समाजवादीबाट नवदुर्गा–५ को अध्यक्षमा चुवना लड्ने तयारीमा रहेको बताइएको छ।

गन्यापधुरा–१ रुवाखोला प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहवडा पनि हो ।

त्यसैगरी डोटीमा पनि वडा अध्यक्ष बन्नका लागि एकजना शिक्षकले बिहीवार राजीनामा गरेका छन् । जिल्लाको जोरायल गाउँपालिकाका नवीन ओझाले जोरायल गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्ष बन्नका लागि राजीनामा दिएका हुन् ।

उनी ११ वर्षदेखि शिक्षण पेशामा आवद्ध थिए । उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्न लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *