शान्ति मिसनमा सुडान जाने सशस्त्र टोलीलाई बिदाइ
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले संयुक्त राष्ट्रसङ्घको अनुरोधमा शान्ति स्थापनार्थ दक्षिण सुडान जान लागेका टोलीलाई आज बिदाइ गरेका छन्।
सशस्त्र प्रहरी महानिरीक्षक केसीले सशस्त्र प्रहरी कर्मचारीले चेन अफ कमाण्ड, अनुशासन र सामूहिक भावनाका साथ राष्ट्र र सङ्गठनको नाम उच्च रहने गरी जिम्मेवारी निर्वाहमा जुट्ने विश्वास व्यक्त गरेका छन्। महानिरीक्षक केसीले टोलीलाई संयुक्त राष्ट्रसङ्घीय मिसनमा रहँदा विभिन्न देशका सुरक्षाकर्मीसँग समन्वय तथा सहकार्य गरी मानवअधिकारको उच्च सम्मान गर्दै कुनै पनि जातजाति, भाषा, धर्म र लिङ्ग नभनी विश्वशान्ति स्थापनाको कार्यमा आ-आफ्नो ज्ञान, सीप र क्षमताको उच्चतम प्रयोग गर्दै उत्कृष्ट कार्यसम्पादनमा जुट्न निर्देशन पनि दिएका छन्।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेललगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतले पनि शुभकामनासहित सुडान प्रस्थान गर्ने सशस्त्र टोलीलाई हार्दिक बिदाइ गरेका छन्। कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश थापाको कमाण्डमा १६ जना सिनियर अधिकृत, ३९ जुनियर अधिकृत र जवान गरी १८० सशस्त्र प्रहरी कर्मचारी वैशाख १२ गते सुडानतर्फ प्रस्थान गर्नेछन्।