दार्चुलामा गठबन्धनबाट बाहिरियो एकीकृत समाजवादी
दार्चुला । दार्चुलामा चुनावी तालमेलका लागि सहमति नभएपछि नेकपा एकीकृत समाजबादी (एस) गठबन्धनबाट बाहिरिएको छ।
गठबन्धन दलबीच सीट भागबण्डामा असन्तुष्टि भएपछि नेकपा एसले जिल्लाका विभिन्न स्थानीय तहमा छुट्टै उम्मेदवारी दिने घोषणा गरेको हो। एकीकृत समाजवादीका अध्यक्ष वीरबहादुर ठगुन्नाले सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफूहरूको अपमान गरेको भन्दै छुट्टै उम्मेदवारी दिने घोषणा गरेका छन्। सत्ता गठबन्धनको मर्म र भावनाअनुसार स्थानीय तहमा स्थान नपाएपछि गठबन्धनमा अब आफ्नो पार्टी सामेल नरहेको उनले स्पष्ट पारेका हुन्। पार्टीको अस्तित्व नै नरहने गरी अपमानित हुँदै गठबन्धनमा रहिरहन नसकिने उनको भनाइ छ।
जिल्लामा स्थानीय तह भागबण्डामा नेपाली कांग्रेसले पाँच स्थानीय तह प्रमुख र सात स्थानीय तह उपप्रमुख लिने र नेकपा माओवादी केन्द्रले चार स्थानीय तह प्रमुख र दुई स्थानीय तह उपप्रमुख लिने गरी सहमति भएको छ।