आरजु देउवालाई रत्ना विष्टको प्रश्न- कथनी र करनीमा फरक किन ?
काठमाडाैँ । नेपाली कांग्रेसकी नेतृ रत्ना विष्टले उम्मेदवारमा महिलालाई नसमेटिएकोप्रति आपत्ति जनाएकी छन् । धनगढी उप महानगरपालिकाको न्याय समिति सदस्यसमेत रहेको विष्टले महिलालाई जनप्रतिनिधि बन्नबाट पार्टीले नै अंकुश लगाएको भन्दै आपत्ति जनाएकी हुन् ।
नेतृ डा. आरजु राणा देउवा, कांग्रेस कैलालीका सभापति, क्षेत्रीय तथा नगर सभापति, केन्द्रीय सदस्यलाईसमेत प्रश्न गर्दै विष्टले धनगढी उपमहानगरमा १९ वडामध्ये एक पनि महिला अध्यक्ष ल्याउन नसक्नु लज्जास्पद भएको बताएकी छन् ।
- यस्तो छ विष्टले सामाजिक सञ्जालमा राखेको विचार :-
‘महिलाहरूलाई कांग्रेस नेतृ देउवाको आग्रह- देशमा विकास देख्न चाहनुहुन्छ भने राजनीतिमा आउनुस्’ भन्ने पोस्ट धेरै दिन अगाडिदेखि आइरहेको थियो । हामी महिला दिदीबहिनीहरूलाई एक प्रकारको हौसला मिलेको थियो तर, आज त्यो सबै मिथ्या रहेछ, भ्रम रहेछ भन्ने लाग्यो । मेरो प्रश्न डा. आरजु राणा देउवाज्यूलाई कथनी र करनीमा फरक किन ? महिला नेतृलाई ल्याउनुपर्छ भन्ने तर, यथार्थमा महिला दिदीबहिनीहरूलाई निर्णायक पद दिन कन्जुस्याइँ गर्ने किन ? अनि देशमा विकास कहाँबाट हुन्छ ?
मेरो प्रश्न नेपाली काँग्रेस पार्टी जिल्ला सभापति, क्षेत्रीय सभापति तथा नगर सभापतिलाई पनि- धनगढी का १९ वडामा एक वडामा पनि महिला अध्यक्ष नदिनु किन ? यसले तपाईँहरूको महिलाप्रतिको दृष्टिकोण तथा मानसिकता कति नकारात्मक रहेछ भनी पुष्टि गरेको छ । फिल्मको टिकट किने जस्तै पार्टीको टिकट पनि पैसाले किन्नु पर्ने त होइन कतै ? मेरो प्रश्न केन्द्रीय सदस्यज्यूहरू (विशेषगरी महिला केन्द्रीय सदस्यज्यूहरू) तथा जिल्ला महिला संघलाई पनि- किन महिला दिदीबहिनीहरूको लागि आवाज उठाउन सक्नु भएन ? मात्र मूर्ति किन बनी दिनुभयो । महिला दिदीबहिनीहरूको आवाजलाई सम्बन्धित निकाय सम्म पठाउनु तपाईँको उत्तरदायित्व होइन र ? तपाईँहरूले १९ वडामा एक पनि महिला अध्यक्ष ल्याउन न सक्नु लज्जास्पद भएको छ ।
अन्तिममा मेरो प्रश्न वडा सभापतिलाई- महिला दिदीबहिनीहरूको लागि अभिभावकत्वको भूमिका निर्वाह गर्न सक्नु भएन किन ? आशा छ यी सबै प्रश्न को उत्तर दिन सक्ने हिम्मत होस् !! जय नेपाल ।