स्थानीय निर्वाचन २०७९

काठमाडौँमा सिर्जना भर्सेस केशव : कसको सम्भावना कति, यस्तो छ मत विश्लेषण !

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा यसपटक सिर्जना सिंह र केशव स्थापितबीचको भिडन्त पक्का भएको छ । अन्य दलका नेताहरूसँगै स्वतन्त्र उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गराएका छन् । तर, मुख्य तथा निकटतम् प्रतिस्पर्धीका रूपमा भने सिर्जना र केशवलाई नै लिइएकाे छ । पाँचदलीय सत्ता गठबन्धनको तर्फबाट कांग्रेस नेतृ सिर्जना काठमाडौँको मेयरको उम्मेदवार बनेकी छन् ।

कांग्रेस नेता प्रकाशमान सिंहपत्नी सिर्जनालाई मुख्य मेयरको दाबेदारकाे रूपमा हेरिएको छ । गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी उनलाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासमेतले सघाउने छ । विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएकी उनी विवाहपछि भने निष्क्रिय रहेको उनी सुनाउँछिन् । ‘म पहिल्यैदेखि राजनीतिमै थिएँ,’ उनले भनिन्, ‘बरु विवाहपछि भने अलिक निष्क्रिय रहेँ । तर, पार्टीमा भने योगदान गरेकी छु ।’

सिर्जना २०३७ सालमा हालकी ऊर्जामन्त्री तथा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाललाई हराएर शंकरदेव क्याम्पसको कोषाध्यक्ष बनेकी थिइन् । नेपाल महिला संघ, गोरखाको सभापति भएर काम गरिसकेकी उनी महाबौद्ध क्याम्पसको नेविसंघ एकाइ सभापति बनेकी थिइन् । उनैलाई यसपटक गठबन्धनले काठमाडौँकाे मेयरको उम्मेदवार बनाएको छ । उनले सोमबार मात्रै उम्मेदवारी दर्तासमेत गरिसकेकी छन् ।

♦ याे पनि:
   सिर्जनाले गराइन् काठमाडाैँ महानगरकाे मेयरमा उम्मेदवारी दर्ता (तस्बिरहरू)
   स्थापित र डंगाेलले जुलुससहित गरे उम्मेदवारी दर्ता (तस्बिरहरू)

यता नेकपा (एमाले) को तर्फबाट केशव काठमाडाैँकाे उम्मेदवार बनेका छन् । महानगर कमिटीको सिफारिसमा परेका पाँच जनामध्ये प्रदेश कमिटीको नजरमा परेका उनलाई पनि बलियो उम्मेदवारका रूपमा हेरिएको छ । २०५४ सालमा नै काठमाडौँको मेयर बनिसकेका उनले पनि आफूले जसरी भएपनि यपटक बाजी मार्ने दाबी गरिरहेका छन् । उम्मेदवारी दर्ता गरेपछि उनले मकालुखबरसँग भनेका छन्, ‘गेम ईज् ओभर, अब कुनै प्रतिस्पर्धा बाँकी छैन । मैले जितिसकेँ । तर पनि औपचारिकताका लागि चुनावमा जानैपर्‍याे ।’

हुन पनि स्थापितले त्यत्तिबेला ८४ हजारभन्दा धेरै मत बटुलेका थिए । तर, यसपटक पनि त्यही अनुपातमा मत बटुल्नेमा एमाले नेताहरू नै शंका गर्छन् । यसबीचमा बाग्मती प्रदेशमा मन्त्रीसमेत भइसकेका उनी विवादित बने । यौन दूराचारको आरोप लागेका उनले यसपटक सिर्जनाले भन्दा दोब्बर मतका साथ जित्ने बताएका छन् ।

उनी केपी शर्मा ओली एमालेको भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष हुँदा महासचिव थिए । स्थापित ओलीपछि युवा संघको अध्यक्ष बनेका थिए । २०५१ सालमा उनी राष्ट्रिय खेलकुद परिषद्को नवौं सदस्यसचिव भएका थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा उनी काठमाडौँ महानगर प्रमुखमा मनोनीत भएका थिए ।

उनै केशवलाई एमालेले यसपटक काठमाडौँ महानगरको मेयरको उम्मेदवार बनाएको छ । उनले पनि आजै उम्मेदवारी दर्ता गरिसकेका छन् । यससँगै सिर्जना र केशवबीचकाे भिडन्त पक्का भएकाे हाे । यसपटक सिर्जना र केशवबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

राजनीतिक रूपमा सिर्जनाभन्दा केशव अब्बल र स्थापित नेता हुन् । तर चुनाव प्राविधिक विषयसमेत रहेकाेले यसै भन्न त नसकिएला । तर, पाँचदलीय गठबन्धनको साथ रहेकाेले सिर्जना पनि अब्बल हुन् भन्ने विश्लेषण आमवृत्तमा छ । त्यसाे त स्थानीय तहकाे निर्वाचनमा मतदाताहरूले पार्टी नभइ उम्मेदवार पनि हेर्ने गर्छन् । यसर्थ पनि केशवकाे सम्भावनाकाे उपादेयता बाँकी नै रहेकाे बताइन्छ ।

०००

यसपटक काठमाडौँ महानगरमा ०७४ सालको भन्दा करिब २१ हजार मतदाता बढेका छन् अर्थात् यहाँ ३ लाख २ सय ४२ मतदाता रहेका छन् । यी मतदाताहरूमध्ये धेरै आफ्नाे साथमा रहेको प्राय: उम्मेदवारहरूले दाबी गरिरकेका छन् । तर, मुख्य प्रतिस्पर्धीका रूपमा भने सिर्जना र केशवलाई नै लिइएको छ । पाँचदलीय गठबन्धन र मुलुकको सबैभन्दा ठूलो पार्टीका उम्मेदवार भएकैले पनि उनीहरूलाई मुख्य र निकटतम् प्रतिस्पर्धी मानिनु स्वाभाविक हो ।

२०७४ सालको चुनावअनुसार मत विश्लेषण गर्ने हो भने पनि सिर्जना र केशव नै उम्मेदवारका दाबेदारहरू हुन् पनि । ०७४ सालमा काठमाडौँको मेयरमा एमालेकै विद्यासुन्दर शाक्यले जितेका हुन् । उनले ६४ हजार ९ सय १३ मत ल्याएर विजयी बनेका थिए । प्राविधिक पक्षलाई छोडेर हेर्ने हो भने यो मत विशुद्ध एमालेको हो । तर, यसपटक यत्ति नै मत एमालेका मेयर केशवलाई जान्छ भन्नुचाहिँ गाह्राे हुन्छ । किन पनि भने यसबीचमा एमाले पनि दुई फ्याक भएको छ ।

अहिले एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल पक्ष एमालेमा छैन । ऊ यत्तिबेला नेकपा (एकीकृत समाजवादी) काे रूपमा बरु एमालेविरुद्ध छ । अर्थात् ऊ सत्ता साझेदार दलसमेत हाे । यस्तो अवस्थामा एकीकृत समाजवादीले सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी सिर्जनालाई समर्थन गर्नेछ । एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ काठमाडौँमा ३० देखि ३५ हजार मत आफ्नाे साथमा रहेकाे उल्लेख गर्दै आफूहरूकाे समर्थन सिर्जनालाई रहने बताउँछन् । ‘एकीकृत समाजवादीसँग काठमाडौँ महानगरपालिकामा ३० देखि ३५ हजार मतदाता छन्,’ उनले मकालुखबरसँग भनेका छन्, ‘एमालेसँगै हुँदा ६४/६५ हजार थियो । अब ३० हजारभन्दा धेरैचाहिँ हामीसँग छन् ।’

०७४ सालमा कांग्रेसकै राजुराज जाेशीले ४५ हजार २ सय ६९ मत पाएका थिए । यो मत एमालेको भन्दा १९ हजार ६ सय ५४ ले कम हो । कांग्रेसको यो मत नघट्ने नेताहरू बताउँछन् । नेपाली कांग्रेस, बाग्मती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले भनेका छन्, ‘०७४ सालयता नेपाली कांग्रेस एकजुट नै छ । अझ फैलिएकाे छ । यसपटक कांग्रेसले काठमाडौँ महानगरमा ०७४ को भन्दा बढाएर मत ल्याउँछ । त्यसमा अन्य दलहरूकाे मत त छँदैछ ।’ त्यसो त कांग्रेस एमालेझैँ विभाजन भएको छैन ।

सिर्जना नेता प्रकाशमान सिंहपत्नी हुन् र प्रकाशमान र सभापति शेरबहादुर देउवा अहिले एउटै कित्तामा उभिँदै आएका छन् । आफूलाई केन्द्रीय सभापति बनाएपछि देउवाले त्यही ऋण चुक्ता गरेको कतिपयको आकलन छ । त्यसो हुँदा देउवाले पनि सिर्जनालाई जिताउनका लागि भरपूर सहयोग गर्ने छन् । कांग्रेसभित्रको संस्थापनइतर पक्षले पनि काठमाडौँमा विभाजित नहुने बताउँदै आएको छ । उसले गठबन्धनमा असहमति जनाएपनि काठमाडाैँकाे सवालमा भने विभाजित नहुने बताएकाे छ । आजै पनि डा. शेखर काेइरालाले नेतृत्व गरेकाे कांग्रेसकाे इतर पक्षमा रहेका महामन्त्री गगनकुमार थापा सिर्जनासँगै सभागृह पुगेका थिए । यसले पनि सिर्जनाप्रति इतर पक्षले कुनै द्वेष राख्दैन भन्ने पुष्टि गरेकाे छ ।

यहाँ अर्को सत्ता साझेदार दल माओवादी केन्द्रको समर्थन पनि कांग्रेसलाई नै रहने छ । जसरी भरतपुर महानगरपालिकामा कांग्रेसकाे साथ माओवादी केन्द्रलाई रहनेछ । ०७४ सालमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका सर्वोत्तम दास डंगोलले ७ हजार ९ सय ६ मत पाएका थिए । माओवादी केन्द्रको यो मत पनि सिर्जनालाई डोलिने छ ।

उसो त यसबेला माओवादी केन्द्र पनि एकठाउँमा भने छैन । माओवादी केन्द्रबाट प्रभावशाली नेताहरू बाहिरिएका छन् । रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायतका नेताहरू बाहिरिएका छन् । यद्यपि उनीहरू नहुँदा काठमाडौँमा तात्त्विक असर नपर्ने नेताहरू बताउँछन् । एक माओवादी नेताले भनेका छन्, ‘उहाँहरूको प्रभाव भनेको खास पश्चिमतिर हो । त्यसले काठमाडौँमा असर गर्दैन । ०७४ सालका मतदाताहरू माओवादी केन्द्रसँगै छन् ।’

अर्को सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) को समर्थन पनि सिर्जनालाई नै रहने छ । तर, ०७४ सालको चुनावमा भने जसपा बनिसकेको थिएन । त्यत्तिबेला डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपाल थियो । त्यसबाट उम्मेदवार बनेकी पवित्र बज्राचार्यले ६ हजार ५० मत पाएकी थिइन् । यसमा भने मत बढ्न सक्छ । किनकी यसबीचमा तत्कालीन रूपमा उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम पनि जसपामा मै छ ।

बाबुरामको नयाँ शक्ति र उपेन्द्रको संघीय समाजवादी फोरमबीच पार्टी एकता भएर बनेको समाजवादी पार्टी (सपा) मा पछि महन्थ ठाकुरले नेतृत्व गरेको राष्ट्रिय जनता पार्टी (राजपा) पनि मिसिएकाे थियो । यसपछि जनता समाजवादी पार्टी बनेको थियो । तर, अहिले राजपा पक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को रूपमा छुट्टिसकेको छ । बज्राचार्यको मतमा तत्कालीन राजपा पक्षको केही प्रभाव रहने भएन ।

जे होस् यसपटक उपेन्द्र यादवसँग काठमाडौँमा रहेको मत पनि सिर्जनालाई नै जाने छ । त्याे लाभांशकाे रूपमा सिर्जनाकाे चिह्नमा डाेलिने छ ।

यसपटक रञ्जु दर्शनाले ०७४ सालमा ल्याएकाे मत भने निर्णायक हुने देखिन्छ । विवेकशील नेपाली दलबाट उम्मेदवार बनेकी रञ्जुले २३ हजार ४ सय ३९ मत ल्याएकी थिइन् । यसपटक उनी पार्टीमै छैनन् । उनले पार्टीबाट राजीनामा दिइसकेकी छन् भने काठमाडौँ महानगरमा नउठ्ने बताइसकेकी छन् । याे मत जता जाने छ, उही उम्मेदवारले बाजी मार्ने सम्भावना पनि उच्च छ ।

०७४ काे चुनावमा रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीबाट उम्मेदवार बनेका किशोर थापाले १८ हजार ४ सय ९६ मत ल्याएका थिए । याे मत यसपटक विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेकी समीक्षा बाँस्काेटाकाे पाेल्टामा जान सक्छ । जे हाेस् रञ्जुले त्यत्तिबेला ल्याएकी मत भने निर्णायक देखिन्छ ।

त्यसो त काठमाडौँको मेयर बन्नका लागि स्वतन्त्र र अन्य दलहरूले पनि उम्मेदवार दर्ता गराएका छन् । तर, उनीहरूको पक्षमा धेरैको १०० भोट नकट्ने देखिन्छ । ०७४ सालके मतरिणामलाई हेर्ने हो भने पनि स्वतन्त्र र अन्य दलहरूको तर्फबाट उम्मेदवार बनेकाहरूले १००, १५० कै अनुपातमा मात्रै भोट बटुलेका छन् । त्यसबेला काठमाडौँको मेयरमा उम्मेदवार दिनेहरूको संख्या २८ थियो । तीमध्ये १०० मतको आँकडा पार गर्ने उम्मेदवार भने कमै थिए । जसमा नेमकिपाका कुलनारायण डंगोलले २ सय ६७, स्वतन्त्र उम्मेदवार गोर्कीप्रसाद श्रेष्ठले १ सय ६४, नेकपा (माले) का उषाकुमारी टिवरेवालाले १ सय ४९ मत, राष्ट्रिय जनमोर्चाका निर्मलकुमार थापाले १ सय ३१ र तत्कालीन मधेशी जनाधिकार फोरम, नेपाल (लोकतान्त्रिक) का शिवहरी रिजालले १ सय १८ मत ल्याएका थिए । १७ उम्मेदवारले भने तेहोरो अंकसमेत कटाउन सकेका थिएनन् ।

०००

सरसर्ती रूपमा ०७४ सालको मत विश्लेषण गर्दा यसपटक सिर्जनाले बाजी मार्ने सम्भावना देखिन्छ । तर, चुनाव प्राविधिक पनि हुने भएकाेले यसै भन्न सकिने अवस्था भने छैन । त्यसाे त काठमाडाैँमा केशव पनि कमजाेर छैनन् । तेस्राेपटक काठमाडाैँकाे मेयर बन्न कस्सिएका उनकाे साथमा पनि राम्राे जनमत रहेकाे बताइन्छ ।

०७४ सालको दलगत मतअनुसार सिर्जनासँग झन्डै ६० हजार वरिपरि मत देखिन्छ । त्यसमा एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले पनि आफूसँग काठमाडौँ महनगरमा झन्डै ३० हजार मत रहेको बताउँदै आएको छ । यदि यसलाई साँचो मान्ने हो भने सिर्जनासँग झन्डै ९० हजारको हाराहारीमा मत हुनेछ ।

एमालेका बहालवाला मेयर विद्यासुन्दरले प्राप्त गरेको मत ६४ हजार ९ सय १३ मत केशवकाे मान्दा उनीभन्दा सिर्जना झन्डै २४/२५ हजार मतले अगाडि हुन्छिन् । एमालेले यसपटक काठमाडौँमा कुनै दलसँग चुनावी तालमेलसमेत गरेको छैन । अन्य पालिकाहरूमा सहज हुनेगरी कमल थापा नेतृत्वको राप्रपा, नेपाल र एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलसँग तालमेल गरेपनि उनीहरूकाे प्रभाव काठमाडाैँमा देखिँदैन ।

अत: यसपटक काठमाडाैँकाे चुनावी लडाइँ दलहरूकाे प्रतिष्ठाकाे विषयसमेत बनेकाे छ । देशकाे संघीय राजधानीसमेत भएकाेले काठमाडाैँमा दलहरूले जित्नैपर्ने मनसाय राखेका छन् । ५ वर्षसम्म जनतासँग जाेडिनका लागि काठमाडाैँमा अब काे आउँछ; वैशाख ३० लाई कुराैँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *