सोमबार मध्यरातिसम्म कास्कीका पाँचवटै पालिकामा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीका पाँचवटै पालिकामा उम्मेदवारी दर्ता भएको छ।

उम्मेदवारी दर्ताका लागि आइतबार र सोमबार दुई दिन समय राखिए पनि सोमबार राति मध्यरातसम्म उम्मेदवारी दर्ता गरिएको थियो। भौगोलिक रूपमा देशकै ठूलो महानगरपालिका पोखरामा प्रमुख पदमा २३ जनाको उम्मेदवारी परेको छ। महानगरको प्रमुख पदका लागि उम्मेदवारी दिनेमा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य छन् भने नेकपा (एमाले)का कृष्ण थापा छन्। अन्य प्रमुखका उम्मेदवारमा साना दलका साथै स्वतन्त्र रहेका छन्। पोखराको उपप्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका कोपिला रानाभाट र एमालेका मञ्जुदेवी गुरुङको उम्मेदवारी परेको छ।

कास्कीका अन्य चार गाउँपालिकामध्ये अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका युवराज कुँवर र एमालेका विष्णु केसीले उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा कांग्रेसका खेमकुमारी गुरुङ र एमालेका चन्द्रा अधिकारीको उम्मेदवारी छ। माछापुच्छ्रेको अध्यक्षमा कांग्रेसका मीनबहादुर गुरुङ र एमालेका विक्रम गुरुङ तथा उपाध्यक्षमा कांग्रेसका सीता अधिकारी र एमालेका सीता तिवारी रहेका छन्।

मादीमा अध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका देवीजङ्ग गुरुङ र एमालेका महेन्द्र गुरुङ प्रतिस्पर्धा गर्दैछन् भने उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का लालबहादुर गुरुङ र एमालेका कल्पना गुरुङको उम्मेदवारी परेको छ। त्यस्तै, रुपा गाउँपालिकामा कांग्रेसका गीमाया गुरुङ र एमालेका नवराज ओझाले उम्मेदवारी दर्ता गराएका छन्। रुपाको उपाध्यक्षमा कांग्रेसका नारायण श्रेष्ठ र एमालेका लालसुब्बा गुरुङको उम्मेदवारी परेको छ।

दुई दिनसम्म उम्मेदवारी मनोनयनको समय राखिए पनि दोस्रो दिन राति अबेरसम्म उम्मेदवारी दर्ता गरिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *