‘भुइँमान्छे हुँ, भुइँमान्छेको सहयोग पाउँछु’

विराटनगर । नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको मेयरका उम्मेदवार सागर थापाले भुइँमान्छेले नागरिकको समस्यालाई बुझेर अघि बढ्ने बताएका छन् ।

नागरिकका समस्या समाधान गर्नको लागि आफ्नो उम्मेदवारी भएको दाबी गरेका थापाले विराटनगरलाई ५ वर्षमा अहिलेसम्म नगरेको काम गरेर देखाउने दाबी गरे । उम्मेदवार दर्ता गरेपछि पहिलो पटक प्रेस चौतारी मोरङले आयोजना गरेको मिडियासँग साक्षात्कार कार्यक्रममा उनले ५ वर्षमा अस्वाभाविक रूपमा बढेको करलाई घटाएर दायरा बढाउनेमा आफ्नो अभियान हुने बताए ।

‘करको दायरा बढाउनको लागि विज्ञहरूसँग सल्लाह गरेर त्यसको आधार महानगरको नयाँ काम सुरु हुनेछ’, उनले भने, ‘करको दर बढाएर हैन दर घटाएर दायरा बढाएर पनि महानगरले प्रशस्तै राजश्व संकलन गर्न सक्छ ।’

५ वर्षको बिचमा महानगरले मेट्रो हस्पिटल पाउने, नागरिकको स्वास्थ्य सेवालाई सहज बनाउने उनले दाबी गरे । लामो समयदेखि रोकिएको रिङ रोड निर्माणको कामलाई गति दिनको लागि संघीय सरकार र प्रदेश सरकारसँग समन्वय, सहकार्य वा दबाबका बिचमा पनि सञ्चालनमा ल्याउने उनले प्रतिबद्धता जनाए ।

महानगरपालिकाको सुशासन, नागरिकका समस्या, विकास निर्माणको बारेमा नागरिकका गुनासा लिएर जाँदा पनि यस अघिका मेयरले बेवास्ता गरेको कारण देशकै दोस्रो नम्बरमा रहेको विराटनगर छैटाैँ नम्बरमा पुगेको उनको गुनासो छ । पटकपटक खबरदारी गर्दा र सुझाव दिँदा पनि बेवास्ता गरिएको उनको भनाई छ । ‘अहिलेसम्म भएको कामको बारेमा हामीले मेयरलाई ५२ बुँदे सुझाव सहितको खबरदारी गरेका थियौँ’, उनले भने, ‘महानगरलाई पारदर्शी बनाउनको लागि मेरो भूमिका महत्त्वपूर्ण हुनेछ ।’ उनका प्रत्याशी उम्मेदवार नेपाली काँग्रेसका नागेश कोइरालालाई एउटा सामान्य प्रतिस्पर्धीको रूपमा बुझेको बताए । ‘कोइराला जी आर्थिक रूपमा सम्पन्न हुनुहुन्छ’, उनले भने, ‘म एउटा भुइँमान्छे हुँ, भुइँमान्छेको प्रतिनिधित्व गर्ने भएकोले भुइँमान्छेको सहयोग पाउने छु ।’

महानगरको सुशासनका लागि अव्यावहारिक रूपमा ५ वर्षको बिचमा भर्ना गरेर डम्पिङ बनाएर राखिएका कर्मचारीबाट नै सुरु हुने उनले बताए । मनपरी कर्मचारी भर्तीकेन्द्र महानगरलाई बनाइएको छ’, उनले भने, ‘महानगर आर्थिक रूपमा जर्जर हुनुको कारण पनि अस्वाभाविक रूपमा भर्ना भएका कर्मचारी कटौतीबाट अभियान सुरु हुन्छ ।’

५ वर्षको बिचमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले ३५० जना कर्मचारी नियुक्त गरेको आरोप लागेको छ। विराटनगरको आम्दानीको अधिकांश स्राेत कर्मचारी तलबमा जाने गरेको थापाको विश्लेषण छ ।

एमालेबाट उपमेयरकी उम्मेदवार शिल्पा निराला कार्कीले सम्पूर्ण नगरवासीको लागि आफ्नो उम्मेदवारी रहेको बताइन् । उनले विराटनगर महानगरपालिकाको महिलाको आर्थिक सशक्तीकरण पहिलो एजेन्डा हुने बताइन् । महिला सशक्तिकरणसँगै महिलालाई सचेतना र शिक्षालाई अघि बढाउने, युवालाई सशक्तिकरण र स्वरोजगारको अवसर सिर्जना गर्न आफू केन्द्रित हुने बताइन् । ‘कुलतमा फसेका युवालाई बाहिर ल्याउनको लागि मेरो भूमिका हुने छ’, उनले भनिन्, ‘त्यसको लागि युवालाई सशक्तीकरण र स्वरोजगारको अवसर सिर्जना गर्नु हो ।’

उनले उद्योगी व्यवसायी लगायतका सबै क्षेत्रको भावनालाई समेट्दै सबैको प्रतिनिधित्व भएको महसुस हुने गरी काम गर्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज विनोद ढकालले एमालेले जनप्रतिनिधि बनाएर छाडा नछोड्ने बताए । पार्टीले जारी गरेको घोषणा पत्रलाई अक्षरशः कार्यान्वयन गराउनको लागि हरेक वर्ष मूल्यांकन गरेर नागरिकका समस्यालाई सम्बोधन गर्नेगरी अघि बढ्ने बताए । यो ५ वर्षको बिचमा विराटनगर महानगरपालिका सुतेको बताएका ढकालले त्यसलाई ब्युँझाएर गति दिने काम एमालेले गर्ने दाबी गरे । विराटनगरलाई निदाएको सहरबाट नयाँ सहरको रूपमा विकास गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *