मधेस प्रदेशका मुख्यमन्त्रीकी श्रीमती र स्वकीय सचिव पनि उम्मेदवार
‘घरमा श्रीमती र कार्यालयमा पिएले जेगरे पनि नेतालाई ठिकै छ’ भन्ने उखानलाई मधेस प्रदेशका मुख्य मन्त्रीले चरितार्थ गरेका छन् । मधेस आन्दोलनका सहिद परिवार बिचल्लीमा परे पनि मुख्यमन्त्री लालबाबु राउत गद्दीले आफन्तलाई उम्मेदवार बनाएका छन् ।
पर्साको स्थानीय निकायबाट मुख्यमन्त्रीले श्रीमती र स्वकीय सचिवलाई उम्मेदवार बनाएका छन् । मुख्यमन्त्री लालबाबु राउत गद्दीको पैत्रिक थलो जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा श्रीमती जुलेखा खातुनले उम्मेदवारी दिएकी छन् । खातुनले जसपाबाट उम्मेदवारी दिएकी हुन् । मुख्यमन्त्री राउतकी श्रीमती उपाध्यक्षको उम्मेदवार बन्ने हल्ला चलेपछि उपाध्यक्ष बीसमिला खातुन जनता समाजवादी पार्टी (जसपा) पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेकी थिइन् । जगरनाथपुर गाउँपालिकामा मुख्यमन्त्री राउतकी श्रीमती जुलेखा खातुन सरकारी गाडीमा चढेर उपाध्यक्ष पदको भोट माग्दै हिँड्न थालेपछि जसपा छोडेर माओवादीमा प्रवेश गर्न बाध्य भएको आरोप बीसमिला खातुनको छ ।
मुख्यमन्त्री राउतकी श्रीमती जुलेखा खातुनले सोमबार गाँउपालिकाको उपाध्यक्षमा मनोनयन पत्र दर्ता गराएकी हुन् । उनले जसपाबाट पालिका उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन् । मधेस आन्दोलनका सहिद परिवारलाई टिकट नदिएको आरोप लागेका बेला जसपाले मुख्यमन्त्रीकै जोडबलमा पत्नी खातुनलाई उपाध्यक्षमा उम्मेदवार बनाएको आरोप असन्तुष्ट कार्यकर्ताहरूको छ ।
मधेस आन्दोलनका सहिद सोहन साह कलवारकी पत्नी विनिता साह कलवारलाई जसपाले टिकट नदिएपछि सोमबार उनले विवेकशील साझा पार्टीबाट वीरगञ्ज १६ को वडा अध्यक्षमा उम्मेदवारी दिएकी छन् । राजनीति र पार्टीमा खासै सक्रिय नरहेकी खातुन मुख्य मन्त्रीकी पत्नी भएकाले उपाध्यक्षको उम्मेदवार बनाइएको चर्चा छ ।
उपाध्यक्षमा कांग्रेसबाट बबिता सिंह, नेकपा एमालेबाट मीरा देवी कुर्मी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट अनिता देवीले पनि उम्मेदवारी दिएका छन् । जगरनाथपुर गाँउपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष जालीम मियाका भाइ महम्मद सलीम मन्सुरले एमालेबाट उम्मेदवारी दिएका छन् । कांग्रेसबाट श्रीकान्त यादव, माओवादी केन्द्रबाट मालती उपाध्याय, जसपाबाट कृष्णमोहन यादव, लोसपाबाट महम्मद अफताब मियाँ, जनमत पार्टीबाट चन्दन चौहानको पनि उम्मेदवारी परेको छ ।
मुख्यमन्त्रीका स्वकीय सचिव दिपक यादवले पनि गाउँपालिका प्रमुखको पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्ष पदमा यादवले उम्मदेवारी दिनुभएको जानकारी निर्वाचन अधिकृत गौतम भण्डारीले दिएका छन् । जनता समाजवादी पार्टीका तर्फबाट गाउपालिका अध्यक्षमा दिपक यादव र उपाध्यक्षमा आस्मोहनी चौधरीले उम्मेदवारी दिएका छन् ।
पाँच महिना अगाडि साइकल वितरणको घोटालामा मुछिएका मुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादवलाई उम्मेदवार बनाइएकोमा पार्टी भित्र व्यापक असन्तुष्टि रहेको एक कार्यकर्ताले बताए । दीपक यादवलाई विद्यालयसँग भरपाइ लिएर साइकल वितरण नगरेको आरोप लागेको छ ।
कागजी प्रक्रिया मिलान गर्नुपर्ने भन्दै यादवले विद्यालयको आधिकारिक लेटर प्याडमा साइकल वितरण भइसकेको भन्दै भरपाइ गराएर साइकल वितरण नगरेको स्थानीयको आरोप छ । स्राेतः INS न्यूज