फोनपेको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त

काठमाडौँ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन्।

फोनपेको सञ्चालक समितिले आज बुधबारदेखि लागू हुनेगरी सापकोटालाई सिइओका रूपमा नियुक्त गरेको हो। फोनपेमा प्रमुख टेक्नोलोजी अफिसरका रूपमा काम सुरु गरेका सापकोटा फोनपेमै एसिस्टेन्ट सिइओका रूपमा कार्यरत थिए। एसिस्टेन्ट सिइओबाट उनी हाल सिइओमा बढुवा भएका हुन्। यसअघि, नेपाल क्लियरिङ्क हाउसमा आबद्ध उनले आफ्नो करियर एभरेष्ट बैंकबाट सुरु गरेका हुन्। सापकोटासँग डिजिटल भुक्तानी र आइटी क्षेत्रमा १५ वर्षभन्दा लामो अनुभव छ।

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्सबाट सहजै ‘क्यूएसआर’मार्फत्
भुक्तानी गर्न सकिन्छ। साथै, फोनपेमार्फत् अन्तरबैंक फण्ड ट्रान्स्फर, हब पेमेन्ट लगायतका कारोबारसमेत गर्न सकिने सुविधा छ। नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड अन्तर्गतको फोनपे नेटवर्कमा
६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक आबद्ध छन्। यस्तै, फोनपेमा हालसम्म ७ लाखको हाराहारीमा मर्चेन्ट आबद्ध छन् भने एक करोड ४० लाख भन्दा धेरै मोबाइल बैकिङ्ग प्रयोगकर्ता छन्।

आइटीदेखि व्यवस्थापनसम्म अनुभव तथा विज्ञता बटुलेका नवनियुक्त सिइओ सापकोटाले फोनपेलाई अझ धेरै उचाइमा पुर्याउने विश्वास लिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *