दाङको तुलसीपुरमा गायक प्रमोद खरेल चढेको कार दुर्घटनाग्रस्त

काठमाडौँ । दाङको तुलसीपुरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जाने क्रममा गायक प्रमोद खरेल दुर्घटनामा परेका छन्।

हिजो बुधबार मध्यराति करिब १ बजेतिर उनी सवार भई कार दुर्घटनामा परेको हो। गायक खरेल आफ्नो सामाजिक सञ्जालमार्फत् आफू एक सांस्कृतिक कार्यक्रमका लागि दाङ जाँदै गर्दा बुधबार साँझ दुर्घटनामा परेको बताएका हुन्। काठमाडौँबाट हवाई मार्ग हुँदै नेपालगञ्ज पुगेका गायक खरेललाई विमानस्थलबाट आयोजकले पठाएको कारले लिएर कार्यक्रमस्थलतर्फ लैजाँदै गरेको समयमा उक्त दुर्घटना घटेको बताइएको छ।

सामाजिक सञ्जालमा खरेलले लेखेका छन्, ‘राति १ बजे होटल पुग्न १० मिनेट मात्र बाँकी हुँदा आयोजकले चलाएको कार दुर्घटनामा पर्यो। कार रोडको पर्खालमा बज्रिएछ। अर्ध निद्रामा मेरो होस त्यही गुमेछ।’ दुर्घटनापछि उनलाई दाङस्थित अस्पताल लगिएको छ। शरीरमा बाहिरी चोट लागेपनि भित्रि रूपमा भने केही समस्या नदेखिएको अस्पतालले जनाएको उनले बताए। उनले भने, ‘आज बिहान ४ बजे डिस्चार्ज भएँ। अहिले काठमाडौँ आइपुगेको छु। अवस्था विस्तारै सुध्रिदै जाँदै छ।’

गीत रेकर्डिङदेखि सांस्कृतिक कार्यक्रमलगायत सबै किसिमका क्रियाकलाप स्थगित गरी आगामी केही दिनका लागि विश्राम लिने गायक खरेलले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *