प्रशिक्षक अल्मुताइरीलाई कारबाही गर्नुपर्ने खेलाडीकाे माग

काठमाडाैँ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण अचानक प्रशिक्षण क्याम्प छोडेका खेलाडीले प्रशिक्षकमाथि छानबिन गरेर कारबाही हुनुपर्ने माग राखेका छन ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनीहरूले यस्तो माग राखेका हुन् । अल्मुताइरीले बारम्बार क्याम्प छाडेर जान भनेपछि आफूहरू बाध्य भएर बाहिरीएको उनीहरूले बताए ।

प्रशिक्षकका रूपमा अल्मुताइरीसँग कुनै दोषारोपण नभएपनि व्यक्तिगत रूपमा भने चित्त नबुझेको उनीहरूको भनाई छ । आफूहरूले उमेर समूहबाट नै नेपालका प्रतिनिधित्व गर्दै आएको र यस क्रममा देश र विदेशमा पुगेर विभिन्न प्रशिक्षकको नेतृत्वमा खेलको अनुभव भएको उनीहरूले बताएका छन् ।

पत्रकार सम्मेलनमा गोलकिपर विशाल श्रेष्ठले विवाद आन्तरिक रूपमा समाधान होस् भनेर चाहेको भएपनि प्रशिक्षकले कुनै छलफल नै गर्न नचाहेको बताए । खेलाडीले राष्ट्रका लागि खेल्नु आफ्नो दायित्व रहेको र त्यसमा नपन्छिने उनले बताए ।

प्रशिक्षणमा नेतृत्व गरिरहेका रोहित चन्दले प्रशिक्षणका क्रममा खेलाडीको व्यवस्थापन राम्रो नभएको, राम्रो बस्ने, खाने व्यवस्था नभएको भन्दै प्रशिक्षकसँग गुनासो गरेका थिए । आफ्नो सुविधाका विषयमा खेलाडीले आवाज उठाएपछि प्रशिक्षकसँग सिनियर खेलाडीको दुरी बढेको हो । प्रशिक्षकसँग असन्तुष्ट देखिएका रोहितलाई प्रशिक्षकले विदा दिएका थिए । रोहितलाई गरेको व्यवहार गैरजिम्मेवारपूर्ण रहेको भन्दै अन्य खेलाडीले समेत प्रशिक्षण बहिस्कार गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *