आमा !
आमा !
निकाल्नुहुन्छ आफ्नै शरीरबाट
पोखरीको माछाझैँ दौडिरहेको रगत
तारेभीरको चट्टानजस्तो मिलेको करङबाट हड्डी
थपिदिनुहुन्छ कसैलाई नसोधिकन
लामो झरनाझैँ कपाल
र भरिदिनुहुन्छ देउरालीमा खेलिरहेको हावा
अर्थात् आफैँले फेरिरहेको सास।
राख्नुहुन्छ बडो प्रेमपूर्वक मुटुमा
बोक्नुहुन्छ नौ-नौ महिना नझिज्याइकन
त्यो बीचमा पानी नपिइ बिताउनुहुन्छ कयौं रातहरू
भोकभोकै कटाउनुहुन्छ दर्जनौं दिनहरू
सहेर प्रसव पीडा, जन्माउनुहुन्छ आफ्नै स्वरूपमा
एउटा रहरलाग्दो बिहान ।
भन्नुहुन्न आफूलाई सुत्केरी
जानुहुन्छ साहुको खेतला
ल्याउनुहुन्छ दुईचार पैसा
किन्नुहुन्छ मजाले खिपेर बुनेको कोक्रो
र त्यही कोक्रोमा हल्लाउँदा,हल्लाउँदै
बनाउनुहुन्छ एउटा बिहानलाई उज्यालो दिन ।
जहाँ वर्षात हुन्छ छाता बनिदिनुहुन्छ
घाम चर्किन्छ शीतल छहारी बनिदिनुहुन्छ
थकान लाग्छ चौतारी बनिदिनुहुन्छ ।
भेलबाढी चल्छ आत्तिनु हुन्न
पहिरो खस्छ डराउनु हुन्न
अभावले गाँज्छ भाग्नुहुन्न जीवनदेखि ।
जसले सिकाउनुभयो भाषा
र मैले सजिलै बुझेँ चराहरूको गीत
जसले दिनुभयो मलाई संस्कार
र मैले केलाउन जानेँ सभ्यताको कनिकाहरू
उहानै मेरो पहिलो गुरु
जसले पढाउनुभयो जिन्दगीको साँवा अक्षरहरू ।
आज डुब्दै हुनुहुन्छ उहाँ विस्तारै-विस्तारै क्षितिजमा
तर पनि मैले पाइरहेछु गोधुलि संसार
थाहा छ त्यसपछि रात हुन्छ
जहाँ निधाउनको लागि आमाको काख हुदैन मसँग ।
यत्ति बुझेपछि मैले चिन्नुपर्ने हो- ईश्वरको चेहरा
नजानुपर्ने हो तिर्थधाम,नपुज्नुपर्ने हो पत्थर
र थाहा पाउनुपर्ने हो महान् ईश्वरकाे ठेगाना ।