नागरिकता नबन्दा ७८ वर्षीया तुलसा र ७१ वर्षीया फनिसराले भोगेको पीडा

पाल्पा । “जवानीमा त मेलापात गरेरै जीवन धानियो, बूढेसकालमा काम गर्न सक्ने तागत छैन, कसरी बाँच्ने हो ?” यस्तो गुनासो पोख्नुहुन्छ ७८ वर्षीया तुलसा पाण्डेय । बुढ्यौली उमेरमा उनलाई आफन्तको स्याहारसुसार, रेखदेख त परै जाओस् बिहान साँझको छाक जोहो गरिदिने कोही छैन ।

रामपुर नगरपालिका–८ बस्ने पाण्डेयलाई न दिनको भोक न रातको निद्राजस्तै भएको छ । बिहान साँझको छाक कसरी टार्ने भन्ने चिन्ताले उनलाई पिरोलेको छ । आफन्तको साहाराविहीन पाण्डेयलाई दैनिक गुजारा चलाउन सकस छ । नेपाली नागरिकता नबन्दा सामाजिक सुरक्षा कार्यक्रमबाट वञ्चित हुनुपरेको उनि बताउछिन् ।

नागरिकता बनाउन उनले यहाँका जनप्रतिनिधि, राजनीतिक दल, गाउँवासी सबैलाई पटकपटक आग्रह गरिहेकी छिन् तर अहिलेसम्म नागरिकता पाउन सकेकी छैनन् । नागरिकतामा परिवारको तर्फबाट प्रमाणित गर्ने व्यक्ति नहुदा नेपाली नागरिकता पाउनबाट उनि वञ्चित हुनुपरेको छ ।

७८ वर्षीया तुलसा पाण्डेय भन्छिन् “नेपाली नागरिकता पाएमा सरकारले दिएको ज्येष्ठ नागरिक भत्ता त पाउँथे, त्यसबाट गुजारा चलाउँथे, सबैसँग बिन्ति गरे अहिलेसम्म नागरिकता बन्न सकेको छैन, हामीजस्ता बूढाबूढीलाई सरकारले दिएको सुविधा उपभोग गर्ने व्यवस्था मिलाइदिनुप¥यो”।

सोही ठाउँकै ७१ वर्षीया फनिसरा ढुङ्गानाको पनि समस्या उस्तै छ । उनि पनि नागरिकता पाउने आशामा छिन् तर अहिलेसम्म बन्न सकेको छैन । परिवारको अवस्था नाजुक हुँदा हाल बहिनी बुद्धिमाया भुसालसँग बसोबास गर्दै आउएकि छिन् । नागरिकता आफूसँग नहुदा ज्येष्ठ नागरिकका लागि सरकारले दिएको सुविधाबाट वञ्चित हुनुपरेको फनिसरा बताउछिन् ।

रामपुर नगरपालिका–२ तिलिङ्डाँडा बस्ने जितमाया थापा नेपाली नागरिक भएर पनि आफू नेपाली हुँ भन्ने प्रमाण साथमा नभएको बताउछिन् । श्रीमानले अर्की श्रीमती ल्याएपछि उनि घरबाट निकाला भइन् । श्रीमानले नागरिकता नबनाइदिएको हुँदा जति सक्दो चाँडो नागरिकता दिलाइदिन सबैसँग अनुरोध गर्छिन् ।

जितमाया भन्छिन्, “श्रीमान्ले अर्की बिहे गरेपछि मलाई घरबाट निकालिदिए, बहिनीको घरमा बसिरहेको छु, नागरिकता मात्रै बनेमा सरकारले दिने भत्ता पाइन्थ्यो, त्यसैबाट थोरै भए पनि जीविका चलाइन्थ्यो ।” परिवारको तर्फबाट प्रमाणित गर्ने सदस्य कोही नभएको र नागरिकता बनाउने प्रक्रियामा नीति नियम, कानुनले गर्दा अप्ठ्यारो परेको रामपुर नगरपालिकाका कार्यवाहक प्रमुख विष्णुदेवी घिमिरे आचार्य बताउछन् ।

घिमिरे भन्छन् “हामीले उनिहरुको अवस्थाका बारेमा छर्लङ्ग बुझेका छौँ, नागरिकता बनाई दिन प्रमुख जिल्ला अधिकारीसमक्ष पनि कुरा पुगेकै छ, तर कानुन र नीति नियमलाई पनि अनुशरण गर्नैप¥यो, हामीले चाहेर मात्रै भएन, प्रक्रिया नपुग्दा अप्ठ्यारो भइरहेको छ”।

जितमाया थापालाई हालै नगरपालिकाले खाद्यान्न व्यवस्थापन, बालबालिकाको शिक्षा सहजता, कानुनी सहायताका लागि रु ११ हजार रकम, तुलसा पाण्डेय र फनिसरा ढुङ्गानालाई खाद्यान्न व्यवस्थापन तथा औषधि उपचारार्थ रु सात/सात हजार लैङ्गिक हिंसा निवारण कोषअन्तर्गत रकम सहयोग गरिएको महिला बालबालिका तथा सामाजिक विकास शाखाका महिला सहायक विकास निरिक्षक पूजा परियारले बताए ।

वडाले उपलब्ध गराएको सिफारिसको आधारमा समस्यामा परेका अति विपन्न, साहाराविहीन नागरिकलाई नगरपालिकाले सहयोग गरेको छ । सानो भए पनि सहयोग रकम पाउँदा उनीहरु उत्साहित छन् । नगरपालिकाले समस्यामा परेका नागरिकलाई यसभन्दा अगाडि पनि आर्थिक रकम सहयोग गरेको छ ।

आर्थिकरुपले विपन्न, अशक्त, असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँले गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकले सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गर्न नेपाल सरकारले सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ ।
रासस/सुशीला रेग्मी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *