जिब्रो छेड्ने जात्रा : इतिहास र महत्त्व

काठमाडौँ । मानव जाति अन्य प्राणीभन्दा प्रगतिशील, चेतनशील र सर्वश्रेष्ठ प्राणी । यो मानेमा हामीलाई सबै र सधैँ चाहिन्छ । हामीलाई समाज चाहिन्छ, समाजभित्रका विभिन्न तप्काहरूको आवश्यकता पर्छ । हामीलाई धर्म चाहिन्छ, संस्कृति–रीतिरिवाज अनि संस्कार चाहिन्छ, त्योसँगै इतिहासदेखि पुरानतवादी चालचलनसम्म हामी अवलम्बन गर्दै आएका छौँ । यस अर्थमा मानिस यी नै कुराहरूको समिश्रण हो भन्दा अतिशयोक्ति नहोला ।

यहाँ चर्चा गर्न खोजिएको हो— बोडेको जिब्रो छेड्ने जात्राको । यो काठमाडौँको बोडेमा धुमधामका साथ मनाइन्छ । यसले मानव सभ्यतालाई बचाइरहेको जनविश्वास रहँदै आएको छ । बोडेको त्यो मौलिक जात्रा विश्वप्रसिद्ध भइकन पनि नेपालीहरूमाझ भने अझै ओझेलमै परेको त्यहाँका स्थानीयहरूको दुखेसो छ । जात्राको महत्त्व यहीँ ठाउँको आफ्नो मौलिक परिचयबाट उठेको बताउँछन् उनीहरू । ‘बोडेको यो जात्रा विस्तारै नियाल्दै जाँदा पौराणिक कालसम्म जान सकिन्छ,’ यहाँका शिक्षक सूर्यराम श्रेष्ठ भन्छन्, ‘यसैगरी अहिलेको बोडे शंखकोट, तहनुपुर, बोटे हुँदै बोडे हुन गएको हो ।’

फाइल फाेटाे

शंखकोट अर्थात् कोटपर्व गरिने ठाउँ हो । अझ सरल भाषामा भन्नुपर्दा कोट अर्थात् मृत्युदण्ड दिने ठाउँ हो भन्ने प्रचलनमा छ । यस विषयलाई अझ प्रष्ट्याउँदै प्राडा पुरुषोत्तम लोचन श्रेष्ठ भन्छन्, ‘यस ठाउँका बासिन्दाहरूलाई निलबाराहीको ख्याक (भूत) ले निकै नै दुःख दिइरहेको र स्थानीय बासिन्दाहरू आफ्नो तान्त्रिक गुरुका छोरा भीमदत्तलाई दुखेसो पोखाउन गएपछि सोही कुरा सुनेर बोडेवासीहरू सबै मिलेर त्यस ख्याकलाई सवक सिकाउने निचोडमा पुग्छन् । भीमदक्त पनि आफ्नो पिता बन्दुदत्तझैँ नामुद रहेको विश्वास छ । फलस्वरुप उसले एक तान्त्रिक तोरण (पासो) बनाइ बोडेवासीहरूलाई दुःख दिने ख्याकलाई नियन्त्रणमा लिएर बोडेवासीहरूलाई नै जिम्मा लागउँछ । यसरी जिम्मा लगाइएको ख्याकलाई बोडेवासीहरूले चरम् दुःख दिइ आत्मसमर्पन गर्न लगाउँछन् । ख्याकले पनि आफू आत्मसमर्पन गर्दै ‘अबदेखि बोडेवासीहरूलाई कहिल्यै दुःख नदिने, सहकाल फर्काउने, प्राकृतिक प्रकोपबाट टाढै राख्ने भन्दै आफू सात वर्षसम्म आफ्नो जिब्रो छेड्न आउने’ बिन्ती बिसाउँछन् । सो बिन्तीसँगै सो भूत फर्कि बोडेवासीहरूमा वर्षभरी नै राम्रो भएको सहकाल फर्किएको विश्वास रहेको छ । सात वर्षपछि सो ख्याक आएन । बोडेवासीहरूलाई दुःख लाग्यो । चलेको चलनलाई निरन्तरता दिन सक्नुपर्छ भन्ने बोडेवासीहरूलाई लाग्यो । यसरी बोडेवासीहरूमा सात वर्षसम्म यस्तो परम्परा रहिआएको र एक्कासी छोड्नुपर्दा सबैलाई दुखी देखेका कारण भीमदत्तले नै यो जात्रा अब बोडेवासीहरूले नै मनाइ खुसी हुन आग्रह गरेको हुनाले यो प्रचलनमा आएको विश्वास रहेको पाइन्छ ।’
०००
यसरी विसंको नयाँ वर्ष शुरू हुनुअघि शुरू भएको यो जात्रा तान्त्रिक र दैविक शक्तिमा आधारित रहेको संस्कृतिविद्हरू बताउँछन् । निलबाराहीको जंगलबाट ल्याइएको बत्तीस हात (४८ फिट) लामो लिङ्गो ठठाइ शुरू हुने यो जात्रा चैतमसान्तका दिन जिब्रो छेड्ने ‘कर्मी नाइके’को उपस्थिति र निर्देशनमा लिङ्गो ठडाउने कार्य समापन हुन्छ । यस कार्यलाई स्थानीयहरू आफ्नो भाषामा ‘हलि पथाकेगु’ समेत भन्ने गर्छन ।

यो लिङ्गो ठडाउनुलाई विश्वध्वजा फहराउने प्रथासमेत भन्ने गरिन्छ । यो प्रथा विसं शुरू हुनुपूर्व नै शुरू भएको पाइन्छ । यसरी ठडाइएको लिङ्गोमाथि रुखको प्रतीकको रूपमा पातहरू राखिने गरिन्छ भने फेदमा गुवाजुद्धारा तान्तित्र विधिमा पूजा गरिन्छ ।

सो पूजामा १५५ वस्तुहरू मिश्रित पूजा सामाग्रीहरुबाट होमसमेत लगाइन्छ । सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने बेला गरिने पूजामा पष्ठा गुठीबाट ल्याइएको कपडाको लामो पत्तासमेत चढाउने गरिन्छ । यसरी पूजा गरिने कार्यलाई पष्ठा भनिन्छ भने पष्ठा कार्यको अन्त्यमा लिङ्गो ठडाइएको महालक्ष्मी मन्दिरको अगाडिको गजुरबाट धातुको पत्ता फ्याँकिन्छ । सो पत्ता तीनमुखे बाजा बनाउने भिन्दुवा जातिको मानिसले समाउने प्रचलन रहिआएको छ ।

यसरी लिङ्गोको पूजा गर्दा सम्पूर्ण दुःख नाश भइ राज्यमा शान्ति, सु–व्यवस्था र अमनचयन कायम हुने जनविश्वास रहेको छ । सोही दिन अर्थात् चैत्र मसान्तकै दिन स्थानीय बासिन्दाहरूले कुखुराको बली दिइ पूजा गर्ने गर्छन् । चढाइएको कुखुराको टाउको, खुट्टा र पखेटा, घरमुली र अन्य व्यक्तिहरूले खाने चलन रहेको छ । साथै भेडाको बली चढाइ त्यहीँ भेडाको आन्द्रा फुलाई महालक्ष्मीलाई माला बनाएर चढाइन्छ । भेडाको रगत भने लिङ्गोमा दल्ने चलन छ । चढाइएको भेडाको आन्द्रा र गर्धन पालेर समयबजी (चिउरा) सँग प्रसादको रूपमा खाने चलन छ ।

यता चैत्र मसान्तकै दिन जिब्रो छेडाउने व्यक्तिले शुद्धीकरणका लागि जुगादाह्री खौरेर हात–खुट्टाको नङ काटी अल (खुट्टामा लगाइने अबिरबाट बनेको टीकाजस्तो वस्तु) लगाउँछन् । सोही दिन बोडेवासीहरूको आ–आफ्नो घरमा चाडको रूपमा पूजा गरिन्छ । बेलुका फेरि धिमे बजाउँदै गणेश देवताको गुठीवालको घरमा गणेश देवता लिन जान्छन् । त्यसपछि उनीहरू कुमारीको रथ भएको ठाउँमा पुगी कुमारी रथ यात्रा शुरू गर्छन् । कुमारी मन्दिर रहेको लक्ष्मी टोलमा सो रथ राखी यी मानिसहरू (धिमे गुठीका मानिसहरू) घर फर्किन्छन् । अर्कोतिर सोही गुठीका केही मानिसहरू निलबाराही जंगलबाट ल्याइएको दाउरा बाल्छन् । यसरी दाउरा ल्याइ आगो बाली रमाइलो गर्ने प्रक्रियालाई ‘गुशी छयगु’ भन्ने गरिन्छ ।

‘कर्मी नाइके’ ले जिब्रो छेडाउने व्यक्तिलाई धुनिको टीका, फूल र प्रसाद दिँदै ‘सास र धैर्यधारण गरे केही हुँदैन’ भनी आशिष दिन्छन् । सो टीका प्रसाद ग्रहण गरिसकेपछि जिब्रो छेडाउने व्यक्तिले आईमाई (महिला) लाई छुन नहुने, सुतक र जुठो बार्नुका साथै कुकुर पनि छुन नहुने विश्वास रलिआएको पाइन्छ । यो विश्वास तोडे जिब्रो छेड्ने बेलामा विघ्नबाधा आउनसक्ने भन्दै आएका छन् । धुनि (आगो) जिब्रो छेड्ने व्यक्ति जुन ठाउँको हो त्यही ठाउँमा बाल्ने गरिन्छ ।

बैशाख १ गते भने पष्ठा थायगु अर्थात् पश्चातापको कार्य गर्ने गरिन्छ । पष्ठा थायगुका दिन महालक्ष्मी मन्दिर अगाडी निलबाराही नाच नाचिन्छ । भिन्दुवाले (तीनमुखे बाजा बजाउने एक जाति) बाजा बजाउँछन् भने अरु ८/९ जनाले प्वांगा (तामाको लामो फुक्ने बाजा) बजाउँछन् । उक्त नाचमा, (दलि–१) लोकोन खोपय (श्रेष्ठ–२) जनागरी चार जना गीत गाउने मान्छेहरू हुन्छन्् । यसरी पष्टा थायगु भइरहेकै बेला महालक्ष्मी र भैरवको मूर्ति नगरपरिक्रमा गराइ बाजा बजाउँदै महालक्ष्मी मन्दिर ल्याइन्छ ।

त्यसपश्चात् महालक्ष्मीको बहालवालाहरूले महालक्ष्मीको पूजाअर्चना गरी बली दिने गर्छन् । बली दिएको कुखुरासँग समयबजी दान गर्दछन् । सोही दिन नै अर्थात् बैशाख १ गतेका दिन नै जिब्रो छेडेपछि बोकेर नगरपरिक्रमा गर्ने अर्धचन्द्र आकारको महादीप बनाइन्छ । उक्त दीपमा ११ वटा स–साना दीप हुने गर्दछन् । त्यसका साथै रथ पूजाको लागि भक्तजनहरू रथ भएको ठाउँमा आउने गर्दछन् । भक्तजनहरू बोकेका विभिन्न मन्दिरका साथै महालक्ष्मीका मन्दिरहरूमा समेत परिक्रमा गर्दछन् । यसो गर्नाले मानिसको मनोकामना पूरा हुने जनविश्वास रहिआएको स्थानीयहरू बताउँछन् । यसरी विभिन्न मन्दिर परिक्रमा गरिने कार्यलाई भने ‘घ्यो मलेगु’ भन्ने गरेको पाइन्छ ।

नयाँ वर्षकै पहिलो दिन चोहँेसिया जात्रा (एक प्रकारको जात्रा) पनि गरिन्छ । बाडेकै लाछीरोलको कुमारी मन्दिरबाट शुरू हुने यो जात्रा राति पनि धिमे गीतमा बादकहरूले धिमे बजाउँछन् । सो जात्राकै ठेला जात्रामा सम्पूर्ण बोडेवासीहरू मौलिक प्रकारको चिराग बत्ती लिइ उपस्थित हुन्छन् । यसरी उपस्थिति भएको जात्रामा गणेशको ३, निलबाहारीको– २, कुमारीको– १ र महालक्ष्मीको– १ गरी सात देवताको रथ यात्रासमेत पाँचौ गणेश रोलसम्म गरिन्छ ।

यसरी नयाँ वर्षको दिन अर्थात् बैशाख १ गतेको दिन बिहानै हिजो बेलुका रथ राखिएको ठाउँमा सर्वसाधारणहरुको पूजा गर्न घुँइचो लाग्ने गर्छन् । दिउँसोतिर भने पाँचौ गणेशको पूर्वपट्टी जिब्रो छेड्ने काम गरिन्छ । जिब्रो छेड्ने व्यक्ति परम्परागत कपडा लगाइ विभिन्न देवीदेवताहरूको मन्दिरमा पूजा गर्दै जिब्रो छेड्ने ठाउँमा पुग्छन् । जिब्रो छेड्ने ठाउँमा जिब्रो छेड्ने नाइके र प्रधान नाइने उपस्थित भएर नायखी बाजा बनाएर सुइरो बनाउने नकर्मी लिइ लिन जान्छन् । यसरी सबै नाइकेहरू उपस्थित भइ प्रधान नाइकेले फूल, अक्षेता पैसासहित दिएको सुइरोले कर्मी नाइकेद्वारा सम्पूर्ण देवीदेवताहरूको पुजा अर्चना गर्दै जिब्रो छेड्छन् ।

जिब्रो छेडिने उक्त सुइरोको लम्बाई १० इन्चको हुन्छ भने एक महिनासम्म तेलमा डुबाएर राखिएको हुन्छ । यसरी जिब्रो छेडिसकेपछि अघिल्लो दिन बनाइएको अर्ध आकारको महादीप बोकी सम्पूर्ण नगर घुमेर महालक्ष्मी स्थानमा रहेको पाँचौ गणेशको रोहबरमा कर्मी नाइकेले जिब्रोबाट सुइरो झिकी महालक्ष्मी मन्दिरको माटो लगाइ दिने चलन रहेको छ । उक्त माटो लगाएपश्चात् जिब्रो छेड्ने व्यक्तिको जिब्रोमा कुनै पनि समस्या नहुने जनविश्वास छ । यसरी जिब्रोबाट झिकिएको सुइरो भने गणेश मन्दिरमा कर्मी नाइकेद्वारा ठाकेर राख्ने गरिन्छ । अझैपछि उक्त मन्दिरमा यस्ता सुइरोहरू देख्न सकिन्छ ।

यसरी चार/पाँच दिनसम्म यो जात्रा मनाइन्छ । जसको अर्थ हामीले जस्तै पीडाहरू सहन पनि सक्नुपर्दछ भन्ने हन्छ । अथवा पीडालाई पनि आफूअनुकूल प्रयोग गर्न सकिन्छ भन्ने हुन्छ ।

प्राडा श्रेष्ठ यी जात्रा र पर्वहरूले मानवहरूलाई चिनारी दिने बताउँछन् । ‘यी यस्ता जात्राहरू हाम्रो संस्कृति सम्पदाहरू हुुने यसले हाम्रो चिनारी दिन्छ त्यसैले यसलाई जोगाउन अति नै आवश्यक छ । नत्र हाम्रो परिचय नै सिदि्धने अवस्था हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *