कुनैबेला ४ भोट ल्याएका दमै भन्छन्, ‘मेयर जितेर, नेपालबाटै दलित शब्द हटाउँछु’
पोखरा । पोखरा महानगरको मेयर पदका उम्मेदवार हुन् रनबहादुर दमै। २०७६ को उपचुनावमा उनले कास्की २ बाट संसदीय चुनाव लडी जम्मामा ४ भोट ल्याएका थिए। त्यसअघि, २०७४ कै स्थानीय चुनावमा पनि पोखरा १७ मा सदस्य लडेर ८९ मत पाएका थिए उनले।
सांसदको चुनावमा कसले भोट हाल्यो भन्ने उनलाई थाहा छ। उनी भन्छन्, ‘मेरी श्रीमति, छोरी र एकजना दाइले हाल्नुभएको हो। मलाई हेक्का छ।’ त्यो बेला स्वतन्त्र चुनाव लडेका उनी वडा सदस्यचाहिँ राप्रपाबाट उठेका हुन्। ३६ सालदेखि नै आफू राजनीतिमा लागेको बताउँदै उनले भने, ‘देशको परिस्थिति साह्रै नाजुक भयो। ३६ सालदेखि नै पार्टी राजनीतिमा लागेको हुँ। राजसंस्था काम छैन भनेर नेताहरूको पछि लागेँ। राजा फालेर केही हुन्छ कि भनेर लागेँ तर केही भएन।’
उनले अगाडि भने, ‘पछि म एमालेमा लागेँ। मदन भण्डारीको जनताको बहुदलीय जनवाद मनपर्यो।’ तर, जबज पथमा लागेर कम्युनिष्ट आन्दोलनले देशको मुहार फेर्ने उनको सपनमा पनि सपनै मात्र रह्यो। आफ्नो राजनीतिक यात्राको तितो अनुभव उनी मीठोगरी सुनाउँछन्, ‘चीन र दक्षिण कोरियाको जस्तो कम्युनिष्ट होला भनेको तर, होइन रहेछ।’
२०७४ को चुनावमा एमालेबाट पोखरा १७ को वडाध्यक्षका लागि टिकट माग्दा पार्टीले दिएन त्यसपछि दमैले एमालेबाट पनि राजीनामा दिए। उनले भने, ‘त्यसपछि एमाले छोडेर राप्रपामा लागेँ। मैले छोडेपछि एमाले बिग्रियो।’ थप्छन्, ‘भत्किएको छ।’ दलहरू मिलेर अघि बढ्नमा भन्दा एकअर्काको खुट्टा तान्नमै व्यस्त भइरहेको देख्दा उनलाई पुनः चुनाव लड्ने इच्छा भयो। उनले भने, ‘अहिले पनि पाँच दलले प्रतिगमन भन्ने एमालेलाई, एमालेले चाहिँ प्रतिगमन भन्ने पाँच दललाई। उनीहरूले पार्टी मिलाउन नसकेकाले फेरि चुनाव लड्न मन लाग्यो।’
देशलाई सम्हाल्न सक्ने नेता कोही नदेखेकाले पनि दमै आफै अघि सरेको बताउँछन्। भन्छन्, ‘देशलाई ह्याण्डिल गर्ने नेता कोही छैन, कोही जन्मेको पनि छैन। मै मात्रै हो जस्तो लाग्छ। तर, आर्थिक अवस्थाले गर्दा म पछि परेँ।’ दमै आशावादी छन्, आफूप्रतिको आत्मविश्वासको परिचय उनी यसरी दिन्छन्, भन्छन्, ‘चुनाव जितेँ भने इन्जिनियरदेखि डाक्टरसम्मलाई सिकाउने आइडिया मसँग छ। प्रहरी र नेपाली सेनालाई परिचालन गर्न मैले जानेको छु।’
यसअघि निर्वाचित जनप्रतिनिधिले जनताका लागि केही पनि काम गर्न नसकेको उनको टिप्पणी छ। चुनावअघि जनतालाई आश्वासन मात्र बाँडेर चुनावपछि जनताले दिएको मतले विजयी भएर ठाउँमा पुगेपछि केही काम नगर्ने जनप्रतिनिधि देखेर दिक्दारिएका छन् दमै। त्यसैले, ठाउँमा पुगेर जनताको सेवा आफै किन नगर्ने? भन्ने उनलाई लाग्यो। ‘२०७४ मा चुनाव भयो, ५ वर्षमा केही काम भएन। मेयरले केही गरेनन्। म मेयर भएँ भने केही काम होला भन्ने लागेर उठेको हुँ।’ उनले भने।
चुनावकै कुरा गरिरहँदा उनी जनताप्रति पनि गुनासो चुहाउँछन्। भन्छन्, ‘जनताले पनि जता पैसा खान पायो उतै भोट दिन थाले।’ तर उनलाई अझै आशा मरेको छैन। भन्छन्, ‘पहिले स्वतन्त्रबाट उठेर थोरै भोट आएको होला अहिले पार्टीबाट उठेको छु। घोषणापत्र राम्रो छ। धरौटी छुट्याउने भोट ल्याउँछु होला।’
तपाईंको घोषणापत्रमा के विशेष एजेण्डा पाउन सकिन्छ? भनी सोध्दा दमै नेपालबाट दलित शब्द हटाउने र निम्न वर्गलाई ६० वर्ष पुगेपछि पेन्सन दिने एजेण्डालाई आफूले आफ्नो घोषणापत्रमा समावेश गरेको बताउँछन्। भन्छन्, ‘यो एजेण्डाले मलाई भोट राम्रै आउला भन्ने सोचेको छु। कांग्रेसले हाम्रो पार्टी उठेको छैन, तपाईंलाई भोट हाल्छु भनेका छन्। १० हजार भोट कट्छ होला।’
मेयरका उम्मेदवार दमै आशावादी सुनिन्छन्, ‘मलाई त चुनाव जित्छु नै भन्ने आस छ।’ तर, उग्र आशावादी पनि हुनुहुँदैन भन्ने हेक्का उनलाई छ। भन्छन्, ‘तर, चुनाव हो केही भन्न सकिँदैन क्यारे।’
चुनाव लड्नका लागि दमैले २० हजार उठाएका छन्। देशभक्त समाज पार्टीका जिल्ला अध्यक्ष रहेका उनी उक्त पार्टीमा अघिल्लो वर्ष मात्रै प्रवेश गरेका हुन्। सो पार्टीको जिल्लामा ६३ सदस्यको कार्यसमिति छ। भन्छन्, ‘सबैसँग २ हजार उठाएपनि डेढ लाख पुग्थ्यो। तर, उठाएनौँ। २० हजारले चुनाव लड्ने। जति भोट आउँछ आउँछ भनेर निर्णय गरेका छौँ।’ चुनावको प्रचारप्रसार पनि तडकभडककासाथ नभएर सामान्य तरिकाले गरेको उनी बताउँछन्। भन्छन्, ‘हामी गाडी चलाउँदैनौँ। गाउँमा कार्यक्रम भ्याइसकेँ। घोषणापत्र दिन मात्रै बाँकी छ।’
‘घोषणापत्र रुटमा चल्ने गाडीबाट पठाइदिने विचार गरेका छन् दमैले। छ।’ जनप्रतिनिधिबाट पटकपटक ठगिएका धोका खाएका जनताहरूले उम्मेदवारलाई पहिलाजस्तो स्वागत गर्न छोडिसकेको उनको बुझाइ छ। भन्छन्, ‘अहिले गाउँतिर जान उम्मेदवारलाई डर छ। जनताले लखेट्छन्। दिनदिनै नेतालाई लखेटेको समाचार हेरिरहेको छु। म त अहिलेसम्म लखेटिएको छैन।’ गाडीबाट घोषणापत्र पठाउने सोचेका उनीसँग तर उनको घोषणापत्रको जिम्मा लिएर गाउँगाउँ बाँडिदिने मान्छे पनि छैनन्।
यी तमाम अभाव र समस्याका बीच पनि उनमा आशा बाँकी नै छ। भन्छन्, ‘अब २२ नं मा जान्छु, त्यहाँ पार्टी प्रवेश कार्यक्रम छ। घोषणापत्र मागेका छन्।’ मेयर जितेपछि नगरभरिका पुल २ वर्षभित्र बनाइसक्ने र ५ वर्षभित्र सबैतिर कालोपत्रे बाटो पुर्याउने दाबी गर्दै दमै यतिबेला भने चुनावी प्रचार र घोषणापत्र प्रसारणका प्रक्रियाहरू मीतव्ययी ढंगले कसरी गर्न सकिन्छ? योजना बनाउँदैछन्।