विराटनगरका उम्मेदवारको एकै एजेण्डा ‘विराटनगरको गुमेको शाख फर्काउने, कर घटाउने’
विराटनगर । विराटनगर महानगरपालिकालाई कस्तो बनाउने भन्नेमा विराटनगर नागरिकका बिचमा रस्साकस्सी छ ।
उम्मेदवारहरू आफ्ना एजेन्डा राख्छन्, जनता को कस्तो भन्नेमा अहिले यसै भन्नसक्ने अवस्थामा छैनन् । देशकै दोस्रो ठूलाे विराटनगर महानगरपालिका अहिले देशको छैटौँ नम्बरमा पुर्याउने काम भएको भन्दै आलोचना हुँदै आएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नागरिक उम्मेदवारहरूबाट प्रतिबद्धता लिनका लागि सक्रिय देखिएका छन् ।
स्थानीयका आवश्यकतालाई उम्मेदवारले ध्यान दिनु पर्ने स्थानीयको माग छ । विराटनगरको मुख्य समस्या सरसफाइ, कर वृद्धि, निःशुल्क शौचालय, सुरक्षित निःशुल्क पार्किङ, मौलिक सहरको रूपमा विराटनगरलाई विकास गर्नुपर्ने विराटनगरवासीको बुझाइ छ ।
राजश्व चुहावट नियन्त्रण गर्नुपर्ने, भनसुनका आधारमा मात्र नागरिकले सेवा पाउने अवस्थाको अन्त्य गरी नागरिकले सहज रूपमा महानगरबाट सेवामा पहुँच पुग्नुपर्ने देखिन्छ । विराटनगर महानगरपालिकामा कुनै पनि दलको कार्यकर्ता नहुने हो भने काम गराउनै समस्या हुने गरेको तथ्यहरू यस अघि पनि आएको थियो । विराटनगर महानगरपालिकालाई बाढी र डुबानमुक्त, स्वच्छ खानेपानी र भ्रष्टाचार मुक्त सहरको रूपमा विकास गर्नु अहिलेको चुनावी दौडमा लागेका उम्मेदवारको चुनौतीको विषय हो ।
आगामी वैशाख ३० गतेको निर्वाचनमा विराटनगर महानगरपालिकामा चिनिएका अनुहारहरू ५ जनाको छ । त्यो मध्ये पनि प्रतिस्पर्धामा एमाले र काँग्रेसको बिचमा नै हुने बताइन्छ । आफ्ना एजेन्डाहरू सार्वजनिक गर्दै गर्दा नागरिक प्रति उम्मेदवारहरू के भन्छन् त ? विराटनगर महानगरपालिकामा एमालेबाट सागर थापा, नेपाली काँग्रेसबाट नागेश कोइराला, राप्रपाबाट प्रह्लाद साह, विवेकशील साझा पार्टीका अमलेश कर्ण र स्वतन्त्रबाट उमेश यादव विराटनगरमा चिनिएका अनुहार हुन् ।
सागर थापा, उम्मेदवार, नेकपा एमाले
विराटनगरलाई सुशासन सहितको समृद्ध बनाउने हो । विराटनगरलाई स्थायी राजधानी भनिए पनि अस्थायीकै रूपमा रहेको छ, नयाँ संरचना सहित, स्थायी हुने खालको बनाउन भौतिक पूर्वाधारमा जोड दिनेछु ।
शिक्षा क्षेत्रमा नमुनाको रूपमा काम गर्ने छु, स्वास्थ्यमा स्वास्थ्य बिमा कार्यान्वयन, विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गरिने छ । विराटराजाको दरबार क्षेत्रको संरक्षण, धार्मिक पर्यटनको प्रवर्द्धन गर्ने, विराटनगर सफा र सुन्दर बनाउने, विराटनगरमा हराउँदै गएको खेल क्षेत्रलाई संरक्षण गर्न स्पोट्स भिलेजको रूपमा विकास गर्ने योजना हो ।
औद्योगिक र राजनीतिक नगरीको रूपमा चिनिएको विराटनगरको यस अघिको पहिचानलाई जोगाउने काम हुन्छ । मेरो प्राथमिकता डुबान नियन्त्रण गर्ने योजना छ । रुग्ण उद्योग सञ्चालन गर्नको लागि भूमिका रहनेछ । उद्यमशीलताको विकास गरी युवालाई रोजगारीसँग जोड्ने काम हुनेछ । त्यसको लागि कोष स्थापना गरी रोजगारीको अवसर सिर्जना गरिने छ ।
कोषबाट दिइएको रकम युवाले रोजगारीमा खर्च गरी फिर्ता गर्नु पर्ने खालको नीति मेरो पालोमा लिइने छ । क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको खेल सञ्चालन गर्ने खालको स्तरोन्नति गरी सञ्चालन गरिने, विराटनगरलाई मेडिकल हब सिटीको रूपमा विकास भएकोले त्यसलाई हामीले नागरिकको रोजगारीसँग जोडेर हेरिएको छ ।
विराटनगरका आँखा अस्पतालहरूमा अन्तर्राष्ट्रिय व्यक्तिहरू उपचारको लागि आउने गरेका छन्, विराटनगरलाई स्वास्थ्य पर्यटन क्षेत्रको रूपमा स्थापित गराउँछु । विराटनगरलाई आफ्नै मौलिकता बोकेको सहरको रूपमा अघि बढाउन सकिन्छ । पुरातात्त्विक र धार्मिक सहरको रूपमा विकास गरेर लग्न सकिन्छ ।
नागेश कोइराला, उम्मेदवार, नेपाली काँग्रेस
विराटनगरले १०० वर्ष हैन हजारौँ वर्ष पुरानो हो । विराटनगर यस्तो सहर हो जसले ७ जना प्रधानमन्त्री पाएको थियो । विराटनगरबाट प्रधानमन्त्री भएका व्यक्तिहरू सबै देशको विकासमा लागेकोले विराटनगरको विकास हुन सकेन अब मेरो कार्यकालमा विराटनगरको विकासले गति लिन्छ । देश विदेशलाई विराटनगर चिलाउनको लागि मेरो उम्मेदवारी हो ।
राजनीतिक र औद्योगिक क्षेत्रको रूपमा रहेको विराटनगर बिलाउँदै गएको छ त्यसलाई गति दिनु छ । मेरो पहिलो एजेन्डा भनेको कर हो । हिजो १० रुपैयाँ लिने कर आज ३ सय रुपैयाँ भएको छ ।
सर्वसाधारणको स्वास्थ्यमा पहुँच पुगेको छैन । विराटनगर महानगरपालिकाले महानगर अस्पताल सञ्चालन गरेर नागरिकलाई स्वास्थ्य सेवा दिनु पर्छ भन्ने मेरो मुद्दा हो । सरकारी शिक्षालाई निजी सरह बनाएर नमुनाको रूपमा शिक्षाको विकास गर्नु छ । विद्यालय, खानेपानी, सरसफाइका विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।
चीनदेखि भारतसम्म जोडेर मुख्य प्वाइन्टको रूपमा विराटनगरलाई बनाएर विकास गर्न सकिन्छ यस्तो अवस्थामा विराटनगरमा रोजगारी बढ्ने हुन्छ । रोजगारी बढ्दा आम्दानी महानगरपालिकाको बढ्छ ।
औद्योगिक नगरीलाई पुन पहिलाको अवस्थामा फर्काउन उद्योगी व्यवसायीलाई सहुलियतपूर्ण व्यवहार गरिनु पर्छ । भ्रष्टाचारलाई न्यूनीकरण गर्नको लागि शून्य सहनशीलताको अवधारणा अघि बढाएको छु । सुरक्षित र सभ्य, हरियाली र हराभरा सहरको रूपमा विराटनगरको विकास हुनेछ ।
पालिका भित्र देखिएको बेतिथिको अन्त्य गर्नको लागि ईमान्दार व्यक्ति नेतृत्वमा पुग्नु पर्छ । मुहान नै स्वच्छ र सफा भएर जाने हो भने भ्रष्टाचार हट्छ ।
प्रह्लाद साह, मेयरका उम्मेदवार, राष्ट्रिय प्रजातन्त्र पार्टी
विराटनगर महानगरपालिकाले स्वरूप लिन सकेको छैन । स्वच्छ , सफा, हराभरा बनाउने योजना छ । भ्रष्टाचार मुक्त र न्यून कर युक्त महानगरपालिका बनाउन म उम्मेदवार बनेको हुँ । भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु बराबर भएकोले काली माताबाट कसम खाएर चुनावी मैदानमा होमिएको छु ।
विगतमा आठ महिना मात्र मेयर भएको अवस्थामा पनि मैले धेरै राम्रो काम गरेर देखाएको छु । मेयरको कार्यकालमा भ्रष्टाचारमुक्त उपमहानगरपालिका बनाएको स्मरण गर्छु । कि रामकृष्ण भट्टराईको पालामा विराटनगर बनेको थियो, कि प्रह्लाद साहको पालामा विराटनगर बन्यो भनेर भन्ने तपाईँहरू नै हो । त्यसैले काम गर्ने मान्छेलाई ल्याउनु पर्छ । मैले १ वर्ष मात्र पनि महानगपालिका चलाएँ भने ओहो कति राम्रो महानगर भन्ने बनाउँछु ।
विराटनगर महानगरपालिका काठमाडौँ पछिको दोस्रो ठूलाे सहर थियो , अहिले छैटौँ नम्बरमा पुगेको छ । भिजन नभएको व्यक्ति प्रमुख भएर बसेपछि यस्तो अवस्था आएको हो । अहिलेको नेतृत्वबाट कर लगाउने र कर उठाउने वातावरण बनाएको देखिएन ।
औद्योगिक नगरी विस्थापित भइसकेको छ । विराटनगरको पुराना उद्योगहरू बन्द हुँदा मजदुर भएको आफ्नो थाल, बोटुका, लोहोटा, कचौरा बेचेर जीविका चलाउने अवस्था आएपछि विस्थापित भएका छन् । बिजुली सस्तोमा दिएर उद्योगलाई प्रोत्साहन गरी रोजगारीको अवसर सिर्जना गराउनु पर्छ ।
विराटनगर महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने हो । विराटनगर थप बनाउन मैले बैजनाथपुर क्षेत्रमा नयाँ सहर बनाउने योजना ल्याएको थिएँ । निर्वाचनको बेलामा राम्रो उम्मेदवारलाई जिताउन लाग्नु पर्छ । विराटनगर बनाउने हो भने पहिलो काम सुशासन कायम राख्न सक्नु पर्छ ।
उमेश यादव, स्वतन्त्र उम्मेदवार
नागरिकलाई धेरै सपना देखाउने सोचेको छैन । अहिले शिक्षा क्षेत्रमा दुई खालका नीति छ । बोर्डिङ र सरकार बिच देखिएको दुई खालको शिक्षा नीतिको अन्त्य गर्ने, घरघरमा स्वास्थ्य सुविधा पुर्याउने मेरो योजना हो ।
विराटनगरमा रहेको स्वास्थ्य र सरफाइको विषय प्राथमिकतामा पर्छ । सार्वजनिक स्थलमा शौचालयको निर्माण, भत्किएका गुद्रीको व्यवस्थापन, प्रत्येक वर्ष नागरिकले भोग्दै आएको डुबान समस्यालाई सदाकोलागि अन्त्य गर्छु । विराटनगरको दुवै तर्फ रहेको खोलाहरू केशलिया र सिँगिया खोलालाई दुवै साइडमा तटबन्ध निर्माण गरी सडक बनाएर व्यवस्थापन गर्छु ।
व्यवस्थित शुद्ध खानेपानी घरघरसम्म पुर्याउने योजना छ । विराटनगर महानगरपालिकालाई ५ वर्ष भित्र सुकुम्वासी मुक्त बनाउँछु । सुकुम्वासीको लागि सार्वजनिक जग्गामा घर निर्माण गरिनेछ । बैंकिङ लोन दिलाएर उद्यमशीलताको विकास गर्ने, नयाँ उद्योग सञ्चालनमा ल्याउने बारेमा नगरपालिकाले पहल गर्नु पर्छ । पर्यटकीय रूपमा स्थापित गर्नको लागि विराट दरबार क्षेत्रको विकास गरिनुपर्छ ।
अमलेश कर्ण, उम्मेदवार, विवेकशील साझा पार्टी
विराटनगर महानगरलाई सुशासन कायम गराउन भ्रष्टाचार रोक्ने विधि बनाएर जानु पर्छ । हरेक क्रियाकलापलाई पारदर्शी बनाइनु पर्छ । म खेलसँग जोडिएको व्यक्ति हुँ । विराटनगरको विकासकालागि पहिलो काम आर्थिक रूपमा विराटनगरलाई समृद्ध बनाउनु पर्छ । त्यसो गर्न कृषि, उद्योग र सेवा क्षेत्रलाई जोडेर जानु पर्छ । कृषिलाई उद्यमशीलता, बजारीकरण, आम्दानीलाई उत्पादनको क्षेत्रमा लगाउने नीति लिइनु पर्छ ।
२० हजार भन्दा कम आम्दानी भएका व्यक्तिलाई सुपथ मूल्यका पसल, विद्यार्थीलाई सञ्चय कोषको अवधारणा हाम्रो हो । उद्योग व्यवसायको संरक्षण र संवर्द्धन गर्दै आयात निर्यातमा सहजीकरण, सडक सञ्जालको विस्तार गर्ने हो भने रोजगारीको अवसर प्रशस्तै बढ्ने छ । वान डोर सिस्टमबाट सूचना व्यवस्थापन गर्ने र करको दायरा बढाउने दर घटाउने तर्फ लाग्नेछु ।