‘निर्यात प्रर्वद्धनका लागि दिर्घकालिन नीतिमा जोड’
काठमाडौँ । निर्यात प्रर्वद्धनका लागि दिर्घकालिन नीति बनाउन सरोकारवालाले जोड दिएका छन् । नेपाल चेम्बर अफ कमर्सको भ्रातृसंस्था युथ चेम्बरले काठमाडौँमा आज आयोजना गरेको नेपालको विद्यमान आर्थिक अवस्था तथा यसका चुनौती र समाधान विषयक कार्यक्रमका सहभागीले निर्यात प्रवर्द्धन र आयातलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्र ट्रयाकमा आउन नसक्नुको मुख्य कारण नीतिगत अस्थिरता भएको बताए । आयात निरुत्साहन तथा निर्यात प्रवर्द्धन गर्ने सवालमा अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा राष्ट्रवैंकबीच प्रभावकारी समन्वय हुनुपर्ने खतिवडाले बताए ।
उनले भने, ‘अर्थतन्त्रमा संरचनागत समस्या छ । कृषि सडक देखि जलविद्युत सवै क्षेत्रमा आयात गर्नुपरेको छ । व्यापार व्यवस्थापन प्रभावकारी हुन सकेको छैन ।’
आयात घटाउँदै जाने र निर्यात प्रवर्द्धन गर्ने गरी अल्पकालिन र दिर्घकालिन नीति बनाएर अघि बढ्न उनले सुझाव दिए । मुलुकको अर्थतन्त्रमा जोखिमको अवस्था कायमै रहेको भन्दै उनले सरकार संयम हुनुपर्ने बेला आएको बताए । उपभोग्य वस्तुहरुको अभावसँगै मुल्यवृद्धि हुने हल्लामा बजारमा अनावश्यक त्रास सिर्जना हुने गरेको डा. खतिवडाको भनाइ छ ।
मुलुकको अर्थतन्त्रको महत्वपुर्ण हिस्सा ओगट्ने नीजि क्षेत्र पनि जिम्मेवार हुनुपर्ने खतिवडाले बताए । घर जग्गा व्यवसायलाई करको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए । शिक्षामा अनावश्यक रुपमा विदेशिएको रकम, हुण्डी कारोबार तथा नेपालीको वैदेशिक भ्रमणलाई केही हदसम्म रोक्ने हो भने पनि त्यसले विदेशी बिनिमय संचितिमा सकारात्मक प्रभाव पार्ने खतिवडाले बताए ।
अर्थतन्त्रमा पछिल्लो समय सकारात्मक संकेतहरु देखिन थालको भन्दै उनले व्यवहारिक रुपमै ५ दशमलव ८ प्रतिशतको आर्थिक वृद्धि हेर्न चाहेको बताए ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठले सरकारले हचुवाका भरमा वस्तुहरुको आयात रोकेको र्तक गरे । आफूले आयतलाई नियन्त्रण नभई व्यवस्थित गर्न आग्रह गर्दै आएको उनको भनाई छ ।
कुन वस्तु आयात गर्ने, कुन नगर्ने भन्ने विषयमा पहिला नीजि क्षेत्रसँग छलफल तथा अध्ययन पछि मात्रै सरकारले निर्णय गर्नुपर्ने उपाध्यक्ष श्रेष्ठको भनाई छ । आन्तरिक उत्पादन बढाएर निर्यात प्रवर्द्धन गर्न राज्यको नीति प्रभावकारी हुनुपर्ने उपाध्यक्ष श्रेष्ठले बताए ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले वैदेशिक विनिमय सञ्चितिमा असर गर्न थालेपछि विलासिताका वस्तुको आयात नियन्त्रण गरिएको बताए । यद्यपी, यो अल्पकालिन भएको कार्कीले बताए ।
आफूहरु निजी क्षेत्र विरोधी नभएको भन्दै उनले आयातलाई दिर्घकालसम्म असर नगर्ने गरी सरकारले निर्णय गरेको बताए । व्यापार घाटा कम गर्न तथा आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नका लागि सरकारले केही वस्तुको आयात रोकेको कार्कीको भनाई छ ।
कार्यक्रममा अर्थविद् विश्वास गौचन, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार केसी लगायतले मुलुकको अर्थतन्त्रमा केही चाप परे पनि अल्पकालिन भएको बताएका थिए ।
युथ चेम्बरका अध्यक्ष दिपेश रत्न तुलाधरले अर्थतन्त्रका सबै क्षेत्रमा एकैचोटी चाप परेकाले सरकार र सरोकारवालाको ध्यानकर्षण गराउन खोजिएकोे बताए । युथ चेम्बरले नेपालको विद्यमान आर्थिक अवस्था तथा यसका चुनौती एवं समाधान विषयमा गरेको गोष्ठिलाई किसान पाइपले प्रायोजन गरेको हो ।