स्थानीय तह चुनाव : झापामा स्वार्थले गाँजिएका गठबन्धन

पालिकैपिच्छेका राजनीतिक दुस्मन, कतै ओली–कतै लिङ्देन

विराटनगर । झापामा दुई खाले गठबन्धन देखिएको छ । केन्द्रीय गठबन्धन अनुसार एमाले बाहेकका दलहरूको गठबन्धन हुनु पर्ने थियो ।

झापाका धेरै पालिकामा फरक फरक गठबन्धन देखिएको छ । दमक नगरपालिकामा एकखाले गठबन्धन भएको छ भने राप्रपाले जितेको क्षेत्रमा अर्कै खालको गठबन्धन भएर चुनावी मैदानमा होमिएका छन्  ।

ओलीको गृहनगर दमकमा काँग्रेस, माओवादी र राप्रपाको तालमेल भएको छ । यहाँ एमालेलाई हराउनको लागि राप्रपालाई अघि सारेर अरू दलले सहयोग गरेका छन्  । ओलीको गृहनगरलाई कमजोर देखाउन सबै दलहरू एक ठाउँमा उभिएका छन् ।

झापाकै कचनकवल गाउँपालिकामा भने लिङ्देनलाई हराउन  काँग्रेस, एमाले र माओवादी एकै ठाउँ उभिएका छन्  ।

यो दुई पालिका बिचमा देखिएको गठबन्धनले नागरिकले आफूले मन परेको उम्मेदवार जिताउन भन्दापनि एक दलले अर्को दलको शक्तिलाई क्षीण पार्ने उद्देश्यबाट गठबन्धन भएको स्थानीयले बुझेका छन् । झापा जिल्लामा भने  केन्द्रीय गठबन्धनअनुसार नेकपा एकीकृत समाजवादी र जनता समाजवादी गठबन्धनमा समेटिएर जान सकेनन् ।

झापामा देखिएको थरिथरिको गठबन्धनले नागरिकलाई अन्योलमा त पारेको छ नै कुन दलको अवस्था के भनेर आँकलन गर्न सक्ने अवस्था अहिलेको निर्वाचनमा नदेखिने निश्चित भएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा झापामा राप्रपा तेस्रो शक्ति हो । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि झापामा कतै राप्रपा हराउन गठबन्धन भएको छ भने कतै एमाले हराउने अभियानमा गठबन्धन भएको छ । जहाँ ठूलाे शक्ति छ त्यहाँ त्यो शक्तिलार्य सक्नका लागि दलहरू एक ठाउँमा उभिएको देखिन्छ । विसं. २०४६ सालपछिका स्थानीय तह निर्वाचनमा दमकमा एमाले एक्लैले चुनाव जितेको थियो ।

यसपटक काँग्रेस र माओवादीले प्रमुख र उपप्रमुखसहित वडास्तरसम्मै तालमेल गरेका छन्  । प्रमुखमा राप्रपाबाट राम थापा र उपप्रमुखमा काङ्ग्रेसबाट रेगिना भट्टराई प्रसाईँलाई उम्मेदवार बनाइएको छ । माओवादीले चारवटा वडाको अध्यक्ष पाएको छ । राप्रपाले दुई र काँग्रेसले उपप्रमुखसहित चारवटा वडाध्यक्ष लिएपछि दमकमा चुनावी तालमेल बन्यो ।  सत्ता सहयात्री पाँचमध्ये अन्य दलको उपस्थिति नदेखिएपछि अन्य दल गठबन्धनबाट बाहिर छन्  ।

निरन्तर जित्दै आएको दमकमा यो पटक एमालेले महिला मेयर उम्मेदवार उठाएको छ । यसअघि उपप्रमुख रहेकी गीता पौडेल अधिकारीलाई प्रमुखमा एमालेले अघि बढाएको हो । यही ठाउँमा २०७४ को चुनावमा राप्रपा दोस्रो स्थानमा थियो त्यो बेला दोस्रो नम्बरमा रहेका थापालाई गठबन्धनको दरिलो उम्मेदवार भनेर गठबन्धनले अघि सारेको छ । एमालेका रोमनाथ ओलीले १०,८०६ मत ल्याउँदा राप्रपाका थापाले ७,६५५ मत पाएका थिए ।

झापाको कचनकवलमा राप्रपाविरुद्ध काँग्रेस–एमाले गठबन्धन भएको छ । जुन सत्ता गठबन्धनको केन्द्रीय निर्देशन विपरीत छ । कचनकवल राप्रपाको आधार राम्रो भएको गाउँपालिका हो । विगतको स्थानीय तह निर्वाचनमा राप्रपाबाट अध्यक्ष र उपाध्यक्ष नै निर्वाचित भएका थिए । यो पालिकामा अध्यक्षमा काँग्रेसका उम्मेदवार कालेन्द्रप्रसाद सिंह राजवंशी र उपप्रमुखमा एमालेका तर्फबाट उपाध्यक्षमा नवराज भट्टराईलाई उम्मेदवार बनाएका छन् । चुनावी तालमेल अनुसार काँग्रेसले एमालेलाई र एमालेले काँग्रेसलाई सहयोग गर्ने सहमति भएको छ । अवस्था र परिस्थिति अनुसार चुनावी तालमेल भएको नेपाली काँग्रेस कचनकवलका सभापति तुलसीराम अधिकारीले बताए ।

तरल राजनीतिको असर

यो तालमेल झट्ट हेर्दा चुनाव  जित र हारको जस्तो देखिए पनि यसको असर पछिसम्म पर्ने अड्कन बुद्धिजीवी क्षेत्रको छ ।  झापाको मेची क्याम्पसका पूर्व क्याम्पस प्रमुख कमल गुरागाईंले  चुनाव जित्ने नाममा भएका गठबन्धनहरू अस्वस्थ प्रतिस्पर्धाको एउटा नमुना भएको टिप्पणी गरे ।  ‘केन्द्रको गठबन्धन धेरै ठाउँमा नटिकेको अवस्थामा ठाउँ अनुसार राजनीतिक दाउपेच सबैको आ–आफ्नो हुन्छ, उनले भने, कुनै ठाउँमा एउटाको शत्रु एउटा हुन्छ, अर्को ठाउँमा अर्को शत्रु हुने गरेको छ, स्थान विशेषको आ–आफ्नो प्रतिस्पर्धा भएको हुन्छ ।’

राजनीति सबैतिर तरल भएको कारणले गर्दा कहाँ को सँग र कहाँ को सँग तालमेल गरेर अघि बढेको देखिएको उनको भनाई छ । ‘परिस्थिति अनुसार एलाएन्स भएको देखिन्छ’, उनले भने,  ‘बलियोलाई सबैले लखेट्न दबिएकाहरू संगठित भएको देखियो ।’ ठाउँअनुसार भएको गठबन्धनलाई उनले  राजनीतिक धर्म पालना नभएको टिप्पणी गरेका छन् । ‘एकले अर्कोलाई सक्नका लागि अपवित्र खालका गठबन्धन भएका छन्’, पूर्व क्याम्पस प्रमुख गुरागाईं भन्छन्, ‘यो सकारात्मक हैन, एकले अर्कोलाई निषेध गर्ने राजनीतिक संस्कारको विकास हुनु भनेको राम्रो हैन, यो टोल टोल र घर घरमा पुगिसकेको छ ।’ दलीय राजनीतिलाई आक्षेप लगाएर अघि बढ्ने कुरा अस्वस्थ खालको देखिएकोले बहुदललाई सकेर निर्दल हाबी हुन खेलेको जस्तो देखिने विश्लेषण गुरागाईंको छ ।

नेकपा माओवादी केन्द्रमा  आस्था राख्ने बुद्धिजीवी भानु भण्डारी झापाका केही पालिकामा भएको तालमेल र गठबन्धनलाई राजनीतिक प्रतिस्पर्धा भन्दापनि स्वार्थको खेलको रूपमा विश्लेषण गर्छन् । ‘अहिले सबै दलहरूमा स्वार्थको खेल भएको छ, भण्डारीले भने, लिंदेनको प्रभाव भएको ठाउँमा लिङ्देन हराउने र ओली बलियो भएको ठाउँमा ओलीलाई हराउनु पर्छ भन्ने देखियो ।’ अहिले दलहरूबाट भइरहेको अपवित्र खेलले राजनीतिक दलहरूमा अस्थिरता पैदा गर्ने र दलहरू भित्रै चरम गुटबन्दीको असर देखिने उनको विश्लेषण छ ।

एउटा समूहलाई लडाउँदा लडाउने अर्को समूह अस्थिर नै हुन्छ भन्ने बुझाई दलहरूमा नदेखिएको उनले तर्क गरे । सिद्धान्त निष्ठासँग जोडिए भन्दापनि आफ्नो तत्कालको राजनीति स्वार्थ पुरा गर्नको लागि झापाको गठबन्धन केन्द्रित भएको बुझाई भण्डारीको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *