देशकै धेरै मतदाता भएको जिल्लामा अझै पुगेन मतपत्र

विराटनगर । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन अधिकृतका कार्यालयहरू आन्तरिक व्यवस्थापनमा तालमेल नमिल्दा तनावमा देखिन्छन् । आउन पर्ने मतपत्र मोरङ जिल्लामा अझै आइपुगेको छैन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वैशाखको २०–२१ गतेसम्म नै आइपुग्नु पर्ने मत पत्र कहिले आउने भन्नेमा अन्योल रहेको छ । समयमै मत पत्र नआउँदा अन्तिम समयमा व्यवस्थापन समस्या हुने जनाइएको छ । मत पत्रको ढाँचा आउन समय लागेको कारण आयोगले छपाइमा ढिला गरेको हुनसक्ने निर्वाचन अधिकृतको कार्यालयहरूले बताएका छन् ।

‘मोरङ जिल्लाकालागि भनेर आजसम्म पनि मतपत्र हिँडेको छैन, मोरङका मुख्य निर्वाचन अधिकृत भरत लम्सालले भने, आयोगले आज साँझ मात्र पठायो भने पनि आउने २४ गतेसम्म लाग्छ भन्ने जानकारीमा आएको छ ।’ निर्वाचन अधिकृतका कार्यालयहरूले मतपत्रको बारेमा निर्वाचन आयोगमा पटक पटक सम्पर्क गर्दा पनि रेस्पोन्स गरेको छैन ।

विराटनगर महानगरपालिकाको चुनाव चिह्न पठाएको ५ दिन भइसक्दा पनि आयोगबाट मतपत्र छपाई भएर आएको छैन । महानगरपालिकामा धेरै उम्मेदवार हुने भएपछि आयोगले महानगरपालिकाको मत पत्र छाप्न ढिलाइ गरेको थियो । आयोगले मतपत्र पठाएपछि पनि निर्वाचन अधिकृतका कार्यालयहरूलाई त्यो मतपत्र मिलाउन र रुजु गर्न समय लाग्ने भएको कारण मतपत्र ढिला आउँदा धेरै कामहरू रोकिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

‘मत पत्रमा हुने छाप, चिह्न, नम्बर लगायत सबै रुजु गर्नु पर्ने हुन्छ’, मुख्य निर्वाचन अधिकृत लम्सालले भने, ‘२७ गतेसम्म मतदान स्थलमा कर्मचारी खटाइसक्नु पर्ने भएकोले, २६ गतेसम्म मत पेटिका र मतपत्र दिइसक्नु पर्छ ।’

मतपत्र ढिला आउने संकेत पाएर निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम यही वैशाख २५ र २६ गते राखेको छ । मतदान अधिकृतहरूलाई तालिम सकेर फर्किने क्रममा मतपत्र र मतपेटिका सँगै दिने भन्ने तयारी गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले मत पत्र आउन समय लाग्ने भएपछि अब कसरी व्यवस्थापन गर्ने भन्ने समस्या आएको मुख्य निर्वाचन अधिकृत लम्सालले बताए ।

‘हामीले हाम्रो तर्फबाट गर्नु पर्ने सबै तयारी गरेको छौँ, उनले भने, मतदानमा खटिने कर्मचारीको विवरण तयार भइसकेको छ, २४ गतेसम्ममा मत पत्र आएमा ४८ घण्टा नै खटिएर भए पनि मत पत्र रुजू गर्नु पर्ने अवस्था आएको छ ।’ सम्बन्धित मतदान केन्द्रमा पठाउनु पर्ने सामाग्रीहरू २६ गते साँझसम्म उपलब्ध गराइसक्ने तयारी निर्वाचन अधिकृतको कार्यालयको छ ।

थोरै जनशक्तिका बिच काम गर्नु पर्ने भएकोले समयमै मत पत्र आएको अवस्थामा काम गर्न सहज हुने भए पनि ढिला भएको अवस्थामा अप्ठेरो अवस्था आउन सक्ने कार्यालयले जनाएको छ ।

मोरङ जिल्लामा ७ लाख १५ हजार २ सय २३ जना मतदाता रहेका छन् । १७ स्थानीय तहमा ३ सय मतदान स्थल र ८२० मतदान केन्द्र रहने छन् । ८२० मतदान केन्द्रका लागि आवश्यक पर्ने मतदान सामाग्री तयारीको लागि ३ दिन लाग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ‘मत पत्र आउन समय लाग्ने भएपछि कसरी सहज गर्न सकिन्छ भन्ने बारेमा पूर्व तयारीहरू भइरहेको छ, लम्सालले भने, हामीले हाम्रो तर्फबाट गर्नु पर्ने सबै कामहरू तयारी अवस्थामा छौँ, मत पत्र आएपछि अरू काम अघि बढ्छ ।’

सुनसरीमा भने वैशाख १७ गते नै मत पत्र पुगेको छ । मत पत्र पुगेपछि अहिले मिलाउने र सुरु गर्ने काम सकिएको छ । बुधवार, बिहीबार र शुक्रवार तीन दिनसम्म चल्ने तालिम पछि मतदान अधिकृतहरूलाई ती सामाग्री दिएर पठाइने धरान उपमहानगरपालिकाका निर्वाचन अधिकृत पुष्करराज नेपालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *