२५ वर्षअघि विजयसँग गाविस अध्यक्ष हारेका थिए अमर, के छ अहिलेकाे समीकरण ?

दार्चुला । वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा शैल्य शिखरमा रोचक प्रतिस्पर्धा हुने भएको छ ।

स्थानीय निर्वाचनमा दार्चुला जिल्लाकै सबैभन्दा बढी मतदाता भएको शैल्यशिखर नगरपालिकामा एकै गाउँका दुई जना मेयर पदका लागि प्रतिस्पर्धी बनेपछि यसपटकको निर्वाचन रोचक बन्ने भएको हो ।

शैल्यशिखर नगरपालिकाको मेयरका लागि साबिकको ग्वानी गाविसको ग्वानी क्षेत्रबाटै दुई ठूला पार्टीका नेताहरूले उम्मेदवारी दिएका छन् ।

नगरपालिकाको मेयरका लागि नेकपा (एमाले)बाट एमाले नगर कमिटी अध्यक्ष तथा पार्टीका पुराना नेता विजयसिंह धामीले उम्मेदवारी दिएका छन् । त्यस्तै, गठबन्धनका तर्फबाट विजयकै समकालीन नेपाली कांग्रेसका नेता अमरसिंह धामीको उम्मेदवारी परेको छ । अमरसिंह धामी शैल्यशिखर नगरपालिकाका निवर्तमान मेयर समेत हुन् ।

मेयरका दुवै उम्मेदवारहरू शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ का स्थायी बासिन्दा हुन् ।

२०५४ मै विजयसँग अमरले हारेका थिए चुनाव

यसपटक उम्मेदवार बनेका धामीद्वयको राजनीतिक प्रतिस्पर्धा भने पुरानो छ । एउटै गाउँका उनीहरूबीच २०५४ सालमा पनि चुनावी प्रतिस्पर्धा भएको थियो । तत्कालीन स्थानीय निकायको निर्वाचनमा यी दुई नेताहरूले चुनाव लडेका थिए ।

ग्वानी गाविसको शीर्ष नेतृत्व अर्थात् गाविस अध्यक्षका लागि भएको उक्त निर्वाचनमा नेकपा (एमाले)का विजयले नेपाली कांग्रेसका अमरसिंह धामीलाई पराजित गरेका थिए ।

९ वटा वडा रहेको तत्कालीन ग्वानी गाविसको स्थानीय निर्वाचनमा विजयी बनेका विजयसिंह धामीले ९०५ मत ल्याएका थिए भने अमरसिंह धामीले ७७८ मत ल्याएका थिए ।

त्यस्तै, वडामा पनि एमालेले बहुमत हात पारेको थियो । ग्वानीका १, २, ३ र ४ नम्बर वडा कांग्रेसले आफ्नो पोल्टामा पारको थियो भने वडा नम्बर ५, ६, ७, ८ र ९ मा एमालेले जित दर्ज गरी बहुमत हासिल गरेको थियो ।

कस्तो रह्यो २०७४ को निर्वाचन

यसअघि २०७४ गणतन्त्रपछिको पहिलो स्थानीय तहको निर्वाचनमा शैल्यशिखरबाट मेयरमा अमरसिंह धामी विजयी भएका थिए । उनले नेकपा एमालेका गंगादत्त जोशीलाई पराजित गरेका हुन् ।

विजयी अमरसिंह धामीले ३९२९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी गंगादत्त जोशीले ३४०२ मत प्राप्त गरेका थिए । त्यस्तै, माओवादी केन्द्रका उम्मेदवार मोहनदेव विष्टले १३६६ मत पाएका थिए ।

कस्तो छ यसपटकको समीकरण

एउटै गाउँबाट दुई धामीहरू मेयरका प्रतिस्पर्धी बनेपछि यसपटक शैल्यशिखरको स्थानीय चुनावलाई जिल्लाभर निकै अर्थपूर्ण तरिकाले हेरिएको छ ।

एमालेका पुराना र अनुभवी नेता तथा कांग्रेसका निवर्तमान मेयरबीच मुख्य प्रतिस्पर्धा रहेको यो चुनावमा को हावी होला त भन्ने कुरा सबैको चासोको विषय बनेको छ । उम्मेदवारहरूले पनि यो चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् । सांगठनिक रूपमा शैल्यशिखरमा बलियो रहेको एमाले गत चुनावमा गुमेको साख फर्काउने कोसिसमा देखिएको छ भने कांग्रेस पुनः नगरमा फर्किने कोसिसमा रहेको छ ।

निवर्तमान मेयर अमरसिंह धामीले गत ०७४ को निर्वाचनमा पाएको मत र उनका प्रतिस्पर्धी गंगादत्त जोशीले पाएको मतको अन्तर धेरै छैन । तत्कालीन समयमा धामीले ग्वानी क्षेत्रको एकमुष्ट मत पाएको विश्लेषण स्थानीयस्तरमा गर्ने गरिन्छ । पार्टी जुनसुकै भएपनि आफ्नो क्षेत्रका उम्मेदवारलाई मत दिनुपर्छ भन्ने ग्वानी र त्यस वरपरका आम जनताको मनसायले अमरसिंह धामीलाई चुनाव जित्न सहज भएको बताइन्छ ।

राजनीतिमा जिल्लास्तरीय पहुँच राख्ने अमरले साबिकको ग्वानी, देथला र गोकुलेश्वर क्षेत्रबाट सन्तोषजनक रूपमा मत प्राप्त गरेका थिए । यसको विपरीत सार्वजनिक क्षेत्रबाट तत्कालीन समयमै राजनीतिमा आएका जोशीलाई साबिकको बोहरीगाउँ र त्यस वरपरका पार्टीका निबद्ध कार्यकर्ताले मात्रै भोट दिएको बताइन्छ ।

तर, यसपटक भने अमरसिंह धामीलाई यो सुविधा छैन । विजयसिंह धामी जिल्लाको राजनीतिमा राम्रो दक्खल राख्ने पुराना कम्युनिस्ट नेता हुन् । उनको जिल्ला कमिटी तथा दार्चुला जिल्लाबाट प्रत्यक्षतर्फका सांसद तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नासँग पनि सुमधुर सम्बन्ध रहेको बताइन्छ ।

पूर्वमन्त्री ठगुन्नाले पनि शैल्यशिखरलाई विशेष प्राथमिकता दिई सहज जित निकाल्नमा सहयोग गर्न जिल्ला कमिटी तथा नगर कमिटीलाई निर्देशन दिएको एमालेका एक नेताले बताए ।

त्यस्तै, विजयसिंह धामीले नगरकमिटी सम्हालेदेखि पार्टीबाट छुट्टिएका नेता तथा पार्टी फुट्दा गएका नेता कार्यकर्तालाई पनि एमालेमै जोड्न सफल भएका छन् । उनले नेकपा एमाले छोडी नेकपा एकीकृत समाजवादीमा गएका प्रभावशाली स्थानीय नेता जनकसिंह डाँगा लगायतलाई मूलधारमा फर्काएका छन् ।

उता मेयरको आफ्नो कार्यकाल पूरा गर्दा अमरसिंह धामी निकै विवादित देखिएका छन् । सरकारी प्रतिवेदनमा धामीले नगरपालिकामा सुशासन कायम गर्न नसकेको, नगरलाई आफन्तको भर्ती केन्द्र बनाएको लगायतका अनेकौँ आरोप लागेका छन् । शैल्यशिखर नगरपालिकामा जिल्लाका अन्य पालिका भन्दा बढी बेरुजु देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले जारी गरेको पालिकाको २०७८ को प्रतिवेदनमा शैल्यशिखर नगरपालिकामा झण्डै १० करोड बेरुजु देखिएको छ । त्यस्तै, प्रतिवेदनमा नगरपालिकाबाट निजी कुखुरा फर्मका लागि बजेट दिएको, तलबी प्रतिवेदन पारित नगरी तलब दिइएको, मेयरले आफ्नो साथसाथै श्रीमतीको पनि हवाई भाडा तथा लिन नमिल्ने खर्च नगरबाट लिएको, पालिकाका विभिन्न ठाउँमा सिसिटिभी जोड्न बजेट छुट्याइ नजोडेको, मेयरका लागि मोबाइल किन्न सरकारी कोषबाट १ लाख रुपैयाँ छुट्याएको जस्ता आर्थिक अनुशासनहीनताका विषय उल्लेख छन् ।

त्यस्तै, पदाधिकारीका लागि विभिन्न समयमा सरकारी कोषबाट सुट, कोट, साडी लगायत लुगा कपडाका लागि बजेट छुट्याइएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस्

महालेखा परीक्षकको कार्यालयले वर्ष २०७८ को प्रतिवेदन भने सार्वजनिक गरेको छैन । कार्यालयले कोरोनाको समय परेकाले दार्चुला जिल्लाभरिका स्थानीय तहको लेखा परीक्षण हुन नसकेको उल्लेख गरेको छ ।

अमरको कार्यकालमा भएका यिनै बेथिति अहिले एमालेको चुनावी हतियार बनेका छन् । एमालेले अमरसिंह धामीले आफ्नो कार्यकाल भ्रष्टाचार गरेर बिताएको आरोप लगाएको छ । उसले जनता कांग्रेसको भ्रष्टाचारमुखी शासनबाट आजित भएको बताएको छ । चुनावी प्रचारप्रसारका क्रममा बोल्दै एमालेबाट वडा नम्बर ६ का वडाध्यक्षका उम्मेदवार कल्यानसिंह धामीले जनता भ्रष्टाचार र कुशासनबाट आजित भइसकेकाले आसन्न चुनावबाट परिवर्तन हुने बताएका छन् । उनले इतिहासमा पनि आफूहरूसँग कांग्रेस हारेको बताउँदै यसपटक आफूहरूले बहुमतका साथ चुनाव जित्ने बताए ।

नेपाली कांग्रेस अहिले देशैभर गठबन्धनमा रहेको भएपनि शैल्यशिखरमा टिकट बाँँडफाँटमा भएको भेदभावले गठबन्धन दलहरूले अमरसिंह धामीलाई सहयोग नगर्ने स्थानीय नेताहरू अनौपचारिक रूपमा बताउँछन् ।

त्यस्तै, उनीहरूले अमरसिंह धामीको कार्यकाल सन्तोषजनक नरहेकोले यसपटक मेयरका रूपमा उनलाई दोहोर्‍याउन नहुने बताउँछन् । अमरसिंह धामीले पार्टीको आन्तरिक चुनाव पनि हारेको सन्दर्भ जोड्दै उनीहरूले अमरसिंहको हार्ने क्रम त्यही चुनावबाट भएको बताए ।

यता स्थानीय मिडियाले गरेको सर्वेक्षणमा पनि गठबन्धनबाट मेयरका उम्मेदवार अमरसिंह धामी पछि देखिएका छन् । स्थानीय चौलानी खबर डट कमले गरेको मत सर्वेक्षणमा अमर विजयभन्दा पछि देखिएका हुन् ।

यो समाचार तयार पार्दासम्म चौलानीको उक्त मत सर्वेक्षणमा २७० मत परेको छ । जसमध्ये नेकपा एमालेले १५८ (५९ प्रतिशत) मत प्राप्त गरेको छ भने नेपाली कांग्रेस (गठबन्धन)ले ९५ (३५ प्रतिशत)  मत मात्रै प्राप्त गरेको चौलानी खबरले जनाएको छ । त्यस्तै, अन्य पार्टीको विकल्पमा १७ (६ प्रतिशत) मत मात्रै प्राप्त भएको छ । चौलानीको उक्त सर्वेक्षण यहाँ हेर्न सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *