प्रदेश १ को कुन जिल्लामा कति मतदाता ? सबैभन्दा थोरै तेह्रथुममा
विराटनगर । प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ जनाले मतदान गर्ने छन् । १ हजार ८ सय ७७ मतदान स्थलमा ४ हजार ५१ मतदान केन्द्र मार्फत मतदान गनेृ तयारी भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन कार्यलय प्रदेश १ का अनुसार १६ लाख ९९ हजार ८०० पुरुष र १६ लाख ४७ हजार ५६१ जना महिलाले मतदान गर्नेछन् ।
यी मतदातामध्ये सबैभन्दा धेरै मोरङ जिल्लामा रहेको निर्वाचन कार्यालयका प्रमुख लेवनकश्यप अधिकारीले जानकारी दिए ।
मोरङ जिल्लामा ७ लाख १५ हजार २२३ जना मतदाताले ३०० मतदान स्थलको ८२० मतदान केन्द्रबाट मतदान गर्नेछन् । मोरङ पछि सबैभन्दा धेरै मतदाता झापामा रहेका छन् ।
झापामा ६ लाख ४६ हजार २३४ जना र सुनसरीमा ५ लाख ३४ हजार ७६५ जनाले मतदान गर्ने प्रदेश निर्वाचन कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए ।
झापामा २८६ मतदान स्थलमा ७५५ मतदान केन्द्र र सुनसरीको १६६ मतदान स्थलका ५८१ मतदान केन्द्रबाट मतदाताले मतदान गर्ने ब्यवस्था मिलाईएको उनले बताए । आयोगको तथ्यांक अनुसार सबैभन्दा कम मतदाता ७२ हजार ८ सय ९५ जना तेह्रथुम जिल्लामा छन् भने दोश्रो कम मतदाता हुने प्रदेश १ को जिल्लामा सोलुखुम्बु परेको छ । सोलुखुम्बुमा ८० हजार १९ जना मतदाता रहेका छन् ।
त्यस्तै, ताप्लेजुङमा ८९ हजार ६ सय ८० जना मतदाता हुँदा पाँचथरमा १ लाख ८० हजार २२४ जना, ईलाममा २ लाख २४ हजार ७४८ जना मतदाता रहेका छन् ।
भोजपुरमा १ लाख २५ हजार ९२६ जना, धनकुटमा १ लाख १५ हजार ९६४ जना, खोटाङमा १ लाख ४३ हजार ७५२ जना मतदाताले चुनावमा भाग लिने आयोगको अपेक्षा छ । ओखलढुङ्गामा १ लाख १७ हजार ८५ जना र उदयपुरमा २ लाख २३ हजार १३८ जना मतदाता रहेका छन् ।
प्रदेश १ का मोरङ बाहेकका सबै जिल्लामा मतपत्र पुर्याउने काम भइसकेको आयोगले जनाएको छ ।