रूख काटेर निजगढ विमानस्थल बनाउन लागिएकाे प्रति आपत्ति
काठमाडाैँ । नेपाल पर्यावरण संरक्षण तथा प्रवर्द्धन संघले विकल्पहरू हुँदाहुँदै बाराको निजगढमा रूखहरू मासेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको भन्दै आपत्ति जनाएको छ ।
संघले जंगल मासेर विमानस्थल बनाउन नपाइने आफ्नो अडान अघि सारेको छ। पानीको मुहान सुक्ने, हात्तीको वासस्थान र अरू प्रकृति विनाश गर्न नहुने पनि जनाएको छ ।
संघले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निजगढको ८ हजार हेक्टर जंगल फाँडेर विमानस्थल बनाउँदा त्यहाँको जमुनी, अडुवा, तिथरी, काँटघाट नदीहरू,थलनी, बडकी पैनी र जोकाहा खोलाहरूको मुहान भएकोले पानीका स्रोतहरू पूर्ण रुपले सुक्ने जनाएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुदर्शन प्रधानले अध्ययन–अनुसन्धानबिना निजगढको जंगल फाँड्न आदेश दिनेजस्तो आत्मघाती कदम चालिरहेको बताए ।
राज्यले आफूहरूले अघि सारेका मागप्रति गम्भीरता नदेखाए र जबरजस्ती रुपमा जंगल मासेर विमानस्थल बनाउन खोजे त्यसको विरुद्धमा सशक्त रुपमा आन्दोलनमा उत्रिने उनले बताए ।
कार्यक्रममा पूर्व प्रमुख संरक्षण अधिकृत तथा पर्यावरणविद् बाबुराम यादवले निजगढ विमानस्थलको विकल्प रहेको बताए । निजगढमा विमानस्थल बनाउने नाममा अहिले पनि झण्डै ७ हजार हेक्टर जमिनमा चारै दिशाको (४२ किलोमिटर) मा तारबार लगाएको र घेरिएको ठाउँमा पनि (झण्डै ५ किलोमिटर) मा तारबार लगाएर वन्यजन्तुमाथि अमानवीय व्यवहार गरिएको उल्लेख गरे ।