ऊर्जामन्त्री भुुसाललाई जापानका राजदूत किकुताद्वारा ‘जापानको नेपाल नीति’ हस्तान्तरण
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि जापानकी राजदूत किकुता याताकाले शिष्टाचार भेट गरेकी छन्। ऊर्जामन्त्री भुसाललाई राजदूत किकुताले मन्त्रालयमै पुगेर भेट गरेकी हुन्।
आज भएको भेटमा उनीहरूबीच नेपाल–जापान सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ। सो अवसरमा मन्त्री भुसालले जापान सरकारको समेत सहयोगमा निर्माण भएको कुलेखानी जलाशययुक्त जलविद्युत् आयोजना नेपालको सुक्खायाममा हुने ऊर्जा सङ्कट समाधानका लागि महत्वपूर्ण रहेको बताइन्।
उनले भनिन्, “कुलेखानी जस्तै अन्य जलाशययुक्त आयोजनामा जापानको सहयोग रहने विश्वास लिएको छु।” ऊर्जा सुरक्षाका लागि नेपालले जलाशययुक्त आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री भुसालले महत्त्वपूर्ण पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको जापान सरकारले आगामी दिनमा ऊर्जा सुरक्षामा पनि थप सहयोग गर्ने विश्वास व्यक्त गरेकी छन्।
भौगोलिक विविधता र अव्यवस्थित मानव बसोबासका कारण देशका सबै नागरिकलाई स्वच्छ पानी पुर्याउन समस्या भएको बताउँदै मन्त्री भुसालले भूकम्प र जलवायु परिवर्तनको असरका कारण मानव बस्ती नजिकको पानीको मुहान सुक्दै गएको बताइन्। हरेक नेपालीलाई स्वच्छ खानेपानी र गुणस्तरीय ऊर्जा पुर्याउन सरकार लागिपरेको उल्लेख गर्दै उनले त्यस्ता कार्यक्रम सफल तुल्याउन जापान सरकारको सहयोग रहने विश्वास व्यक्त गरेकी छन्।
सो अवसरमा राजदूत किकुताले परिमार्जित ‘जापानको नेपाल नीति’ हस्तान्तरण गरेकी छन्। सन् २०१५ मा भूकम्प गएपछि पुनः निर्माणमा केन्द्रित गरेको जापानको नीति आगामी दिनमा ऊर्जा विकासमा लक्षित रहने उनले जानकारी गराइन्। राजदूत किकुताले कुलेखानी जलविद्युत् आयोजना निर्माणमा जापानले सहयोग गरेको र तनहुँ हाइड्रोमा पनि सहयोग गरिरहेको जानकारी गराएकी छन्।
उनले गत अप्रिलमा जापानको कुमामोतो सहरमा सम्पन्न चौथो एसिया–प्रशान्त क्षेत्रीय पानी सम्मेलनलाई ‘भर्चुअयल’ विधिमार्फत सम्बोधन गरेकोमासमेत मन्त्री भुसाललाई धन्यवाद व्यक्त गरेकी छन्।