‘ग्लोबल फ्रेन्डशीप आर्ट फेष्टिवल’ सुरु
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![‘ग्लोबल फ्रेन्डशीप आर्ट फेष्टिवल’ सुरु](https://www.makalukhabar.com/wp-content/uploads/2022/05/art-exhibition-makalukhabar.png)
काठमाडौँ । काठमाडौँमा आजदेखि ‘ग्लोबल फ्रेन्डशीप आर्ट फेष्टिवल नेपाल २०२२’ सुरु भएको छ।
बङ्गलादेश कलाकार समूहको आयोजनामा भएको उत्सवको यो तेस्रो संस्करण हो। उक्त फेष्टिवलको नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले उद्घाटन गर्दै सांस्कृतिक आदानप्रदान तथा दुई देशको ऐतिहासिक तथा मानवीय सभ्यतालाई जोड्न उत्सव महत्त्वपूर्ण हुने बताएका छन्।
राजदूत चौधरीले उक्त कार्यक्रम बङ्गलादेशको सांस्कृतिक विविधतालाई कलाका माध्यमबाट नेपालका कला पारखीलाई देखाउने अवसर भएको पनि बताए। आपसी विश्वासमा बाँधिएको दुई देशको सम्बन्धलाई यस उत्सवले थप बलियो बनाउने र एकअर्काको मूल्य मान्यतालाई स्वीकार गर्न सघाउने उनको भनाइ छ।
प्रदर्शनीमा नेपाल र बङ्गलादेशसहित भारत, अमेरिका, ग्रिस, क्यानडा र जापानका कलाकारका ३४ सिर्जना समावेश गरिएको छ। उत्सवमा विदेशी कलाकारहरूसमेत सहभागी छन्। सो प्रदर्शनी पाँच दिनसम्म चल्नेछ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)