मौन अवधिको भोट माग्दै रतुवामाईका मेयर राई, विरोध गर्दा स्थानीयलाई धम्की !
विराटनगर । मोरङको रतुवामाई नगरपालिकाका मेयर रवीन राई मध्यरातमा चुनाव प्रचार गर्दै मौन अवधिको उल्लंघन गर्दै हिँडेको भिडियो सार्वजनिक भएको छ। मङ्गलवार मध्यरातदेखि स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि शुरु भएको छ ।
यो अवधिमा कुनै पनि उम्मेदवारको पक्षमा प्रचारप्रसार वा लबिङ गर्न पाइँदैन भनिएपनि उनले भेला गर्ने र चुनाव प्रचार गर्दै हिँडेको पाइएको हो । उनले यस अघि पनि निर्वाचन आचारसंहिताको उल्लंघन गरी शक्तिको दुरुपयोग गर्दै चुनाव प्रचार गर्दै आएका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट मेयर भएका राई पदबाट राजीनामा नदिँदै चुनाव प्रचारमा हिँडेको आरोप स्थानीयको थियो । गएराती मध्यरातमा स्थानीयका घरहरूमा पुगेर भेला गर्ने र भोट माग्ने काम गरेपछि स्थानीयसँग भनाभन भएको छ ।
मेयर राई गएराती रतुवामाई वडा नम्बर ५ परेवाखोपीमा भोट माग्दै हिँडेका थिए । त्यही बेला स्थानीय सहित एमालेका कार्यकर्ताले मेयर राईलाई भोट माग्न नहिँड्न भनेका थिए । राती मेयर ज्यूहरू आउनु भएको थियो, उहाँहरूको बिचमा कुराकानी भएको थियो, केही भनाभन भएको स्थानीय बताउँछन् । मेयरजस्तो पदमा बसेका व्यक्ति रातीको समयमा हिँड्नु नहुने स्थानीय श्यामनारायण ताजपुरियाको भनाई छ ।
त्यस क्रममा स्थानीयसँग मेयर राईको वादविवाद समेत भएको थियो । विवाद चर्कँदै गएपछि मेयर रवीन राईले स्थानीयलाई ’के गर्न सक्छौँ गर….’ भन्दै धम्की दिएका छन् । राईले आफ्नो पदीय जिम्मेवारीको ख्याल समेत नगरी आफूलाई गुन्डागर्दी शैलीमा प्रस्तुत भएको स्थानीयको आरोप छ ।
राईले आफ्नै पार्टीका क्रियाशील सदस्यको घरमा भेला भएर भोट माग्दा आचारसंहिता विपरीत नभएको प्रस्ट्याए । अरूहरूले पनि आचारसंहिता विपरीत कार्य गरिरहेकाले आफूहरूले गर्दा केही नहुने उनको तर्क छ ।
तपाईँले नै नियमविपरीत यस्तो काम गर्न मिल्छ भन्ने स्थानीयको प्रश्नमा धम्क्याउँदै राईले भनेका छन्, ‘तिमिलाई सबै कुरा भन्नू पर्छ भन्ने छैन, के सोध्नु छ नगरपालिका आऊ…..।’ सोही क्रममा स्थानीय र कांग्रेस कार्यकर्ता बिच हात हालाहाल भएको छ ।
मौन अवधिमा के गर्न हुँदैन
निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा मौन अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा,सम्मेलन, कार्यशाला, गोष्ठी गर्न नहुन भनिएको छ। निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, मौन अवधि शुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने उल्लेख छ ।
एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भनेर मौन अवधिमा सबै क्षेत्रलाई आयोगले अंकुश लगाएको भएपनि दलका नेताहरूले कार्यान्वयन गरेका छैनन् ।
आयोगले आचार संहिता उल्लंघन गरेको भएपनि अहिलेसम्म कसैलाई कारबाही गरेको छैन । आयोगले १ लाखसम्म जरिवाना वा उम्मेदवारी रद्द गर्न सक्ने भनिएपनि निर्वाचन अधिकृतका कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय तथा प्रशासनले समेत कुनै कारबाही गर्न सकेका छैनन् ।