कैलालीमा एमाले उम्मेदवारको घरमा पसेर खुकुरी प्रहार, चार जना घाइते
कैलाली । कैलालीको गोदावरी नगरपालिका एक वडाध्यक्षका उम्मेदवारको घरमा पसेर एक समूहले खुकुरी प्रहार गरेको छ ।
नगरपालिकाको वडा नं. ६ का वडाध्यक्षका उम्मेदवार जग्गुराम चौधरीको घरमा बुधबार राति एक समूहले खुकुरी प्रहार गर्दा उनका भाइसहित परिवारका ४ जना घाइते भएका छन् ।
उनीहरूले नेपाली कांग्रेसका युवाले खुकुरी प्रहार गरेको बताएका छन् । राति साढे ११ बजे खाना खाएर आँगनमा बसिरहेका बेला १५, २० जनाको समूहमा आएको समूहले खुकुरी प्रहार गर्दा वडा अध्यक्षका उम्मेदवारका भाइ बिन्तिराम चौधरी गम्भीर घाइते भएका छन् ।
उनको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भैरहेको छ । उनकी पत्नी वसन्ती चौधरी पनि घाइते भएकी छन् । यसैगरी वडाध्यक्ष उम्मेदवारको छोरी लक्ष्मी चौधरी, भतिजा रबिन चौधरी खुकुरी प्रहारबाट घाइते भएका छन् । उनीहरूको अवस्था समान्य छ।
गम्भीर घाइते भएका बिन्तिरामले सुरुमा लठ्ठीले हिर्काएको र लठ्ठी खोस्ने क्रममा भुँइमा लडेको बेला खुकुरी प्रहार भएको उनले बताए । उनको बायाँ हातमा खुकुरी प्रहारले गहिरो चोट लागेको छ । वडा अध्यक्षका उम्मेदवार जग्गुरामले घरभित्र अध्याँरोमा लुकेर ज्यान जोगाएको बताए ।
प्रहरीलाई खबर गर्दा १ घण्टापछि मात्र प्रहरी पुगेको उनले बताए । नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, पोलिटब्युरो सदस्य नारदमुनी रानासहितका नेताहरू घरमा र अस्पतालमा पुगेर घाइतेलाई भेटेका थिए । उनले सचिव भट्टले योजनबद्ध तरिकाले आक्रमण गरिएको बताए । आक्रमण भएको एक घण्टापछि मात्र प्रहरी पुग्नुले पनि प्रहरीले खुकुरी प्रहार गर्ने समूहको पक्ष लिएको उनको आरोप छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेयले दुई पक्षीय झडप हुँदा खुकुरी प्रहार भएर ४,५ जना समान्य घाइते भएको बताए । खुकुरी प्रहार गर्नेको खोजी भैरहेको उनले बताए ।
उता नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार जयराज फुलाराले पनि दुई पक्षबीच झडप भएको त्यसक्रममा आफू पनि घाइते भएको बताएका छन् । ‘भोज भतेर भएको सूचना पाएपछि प्रहरीलाई खबर गरेका थियौँ’, उनले भने, प्रहरी पनि नगएपछि कांग्रेसका युवाहरू पुग्दा झडप भएको हो ।’