मोरङमा ६२ प्रतिशत मत खस्यो, इटहरी र धरान ६५ मा प्रतिशत
विराटनगर । मोरङ जिल्लामा करिब ६२ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक सार्बजनिक भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार देशकै सबैभन्दा धेरै मतदाता रहेको विराटनगरमा ६२ प्रतिशत मत खसेको हो । मुख्य निर्वाचन अधिकृत भरत लम्सालले अहिलेसम्मको जानकारी अनुसार ६३ प्रतिशत मत खसेको आकलन सहितको विवरण प्राप्त भएको बताए ।
‘प्ररम्भिक चरणमा करिब ६२ प्रतिशत मत मोरङमा खसेको आँकलन गरेका छौँ, उनले भने, यो प्रारम्भिक तथ्यांक हो, विराटनगरको दुई ठाउँमा र ग्रामथानको एउटा मतदान केन्द्रमा अहिलेपनि मतदान भइरहेको भन्ने जानकारी आएको छ ।’ मोरङ जिल्लामा ७ लाख १५ हजार २२३ जना मतदाता रहेका थिए । कूल मतदाताको करिब ६२ प्रतिशतले मात्र मतदान गरेको आँकलन गरिएको छ । मोरङमा ३०० मतदान स्थलको ८२० मतदान केन्द्रबाट मतदान भएको थियो ।
धरानमा ६५ प्रतिशत
सुनसरीको धरान उपमहानगरपालिकामा ६५ प्रतिशत मत खसेको छ । धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार ६५ प्रतिशत मत खसेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
मतदानको पूर्णविवरण नआईसकेकोले यसै भन्ने अवस्था छैन, उनले भने, अहिलेको प्रारम्भिक जानकारी अनुसार करिब ६५ प्रतिशत मत खसेको हुनसक्ने अनुमान छ ।’ सुनसरीमा मतदान प्रक्रिया अन्तिम अवस्थामा पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । केहि मतदान केन्द्रमा भने सात बजेसम्म मतदान हुने अवस्था रहेको यादवले बताए । यसका लागि आवश्यक बत्तिको व्यवस्था मिलाइएको छ ।
इटहरी उपमहानगरपालिकामा करिब ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ । निर्वाचन अधिकृत नारायण रिमालका अनुसार अहिले बाक्साहरू आउने क्रम शुरु भएकोले एकिन भन्न सक्ने अवस्था छैन, करिब ६५ प्रतिशत माथि हुनसक्छ ।