मनाङको ङिस्याङ गाउँपालिका अध्यक्षमा एमालेका कान्छा विजयी
मनाङ । हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का कान्छा घले निर्वाचित भएका छन् । उनले ८६१ मत प्राप्त गरी विजयी भएका छुन् ।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ओङ्मा गुरुङले ७१९ मत प्राप्त गरेका छन् । यस्तै गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ धावा गुरुङ निर्वाचित भएका छन् । उनले ७४४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रिन्जेन ध्वर्जे गुरुङले ७१९ मत प्राप्त गरेका छन् । मनाङ ङिस्याङ गाउँपालिकामा कूल तीन हजार ५३५ मतदातामध्ये एक हजार ६५७ मत मात्रै खसेको थियो ।
साथै नासों गाउँपालिकाको मतगणना जारी रहेकोले आज साँझसम्ममा गणना सकिने अपेक्षा गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालले बताए । उक्त गाउँपालिकाको अध्यक्षमा गठबन्धनअन्तर्गत नेपाली कांग्रेसको अग्रता कायम रहेको उनले बताउए । उपाध्यक्षमा सत्ता गठबन्धनकै नेकपा (माओवादी केन्द्र)को अग्रता कायम रहेको छ ।
मनाङमा ६२ दशमलव ६० प्रतिशत मत खसेको छ । कूल ६ हजार ४९६ मतदाता रहेकोमा चार हजार ७७ मत खसेको मुख्य निर्वाचन अधिकृत खनालले बताउनुभयो । सबैभन्दा धेरै तीन हजार ५३५ मतदाता रहेको मनाङ ङिस्याङमा एक हजार ६५७ मत अर्थात ४६ दशमलव ८७ प्रतिशत मात्रै मत खसेको हो ।
नासों गाउँपालिकामा एक हजार ८०२ मतदाता रहेकोमा एक हजार ४९६ मत अर्थात ८३ दशमलव ०१ प्रतिशत मत खसेको छ । चामे गाउँपालिकामा ७११ मतदाता रहेकोमा ६१० मत अर्थात् ८५ दशमलव ७९ प्रतिशत मत खसेको छ । नार्पाभूमि गाउँपालिकामा ४४८ मतदाता रहेकोमा ३०४ मत अर्थात ६७ दशमलव ८५ प्रतिशत मत खसेको थियो ।