मतपत्रमा झल्कियो कांग्रेसी आक्रोश, उम्मेदवार नै नभएको रुखमा खस्यो ११५९ मत

विराटनगर । प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरमा बदर मत र प्रयोगबिहीन मतको संख्या बढ्ने अनुमान गरिएको छ।

उम्मेदवार नै नभएको चुनाव चिन्हमा मतदान गरिएको तथ्यांक बढेसँगै बदर र प्रयोगगबिहीन मतको संख्या उल्लेख्य हुने अनुमान गरिएको हो ।

पछिल्लो मत परिणाम अनुसार उम्मेदवार नै नभएको पदमा २ हजार ४३३ मत परेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले यसलाई प्रयोग बिहीन र बदर मतको रुपमा गण्ना गरेको छ ।

विराटनगर महानगरपालिकाको मेयरमा १३ र उपमेयरमा १४ जना उम्मेदवार छन् । यी उम्मेदवार बाहेकका मेयर र उपमेयरमा पनि मतदान भएको पाइएको हो । ७ हजार ९५३ मत गणना हुँदा उम्मेदवार नै नभएको चुनाव चिन्हमा २४३३ मत खसालेका छन् । त्यो संख्या मेयरमा सबैभन्दा धेरै मत ल्याउने कांग्रेसको मतको हाराहारी हो ।

यस्तो छ अंकगणित
पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका नागेश कोइराला अग्रस्थानमा छन् । उनले २५६५ मत ल्याएका छन् । नेकपा एमालेका सागर थापाले १८५० मतसँगै पछ्याउँदैछन् । स्वतन्त्र उम्मेदवार उमेश यादव ८७१ र राप्रपाबाट प्रह्लाद साहले ४८० मत ल्याएका छन् । यस बाहेक उम्मेदवार नै नभएको जसपाको छाता, नेकपा (एकीकृत समाजवादी) को कलम र नेकपा (माओवादी केन्द्र) को हसियाँ हथौडामा पनि मतदान भएको छ । उम्मेदवार नै नभएको छातामा १६८, कलममा ७७ र हसियाँ हथौडाले ४३७ मत आएको छ ।

उपमेयरमा नेकपा (एमाले)की शिल्पा निराला कार्कीले अग्रता लिइरहेकी छिन् । उनले २१०० मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले १३९२ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि उम्मेदवार नै नभएको चुनाव चिन्हमा १७५१ मत खसेको छ। यो मत प्रयोग बिहीन बनेको छ ।

उपमेयरमा नेपाली कांग्रेसको रुख चिन्हमा ११५९ मत खसेको छ।

गठबन्धनको नाममा महिलालाई उम्मेदवार नबनाउँदाको आक्रोश मत पेटिकामा देखिएको छ। गठबन्धनका उम्मेदवार यादवकै हाराहारीमा रुख चिन्हमा भोट हालेर उम्मेदवार नै नभएको चिन्हमा ठुलो संख्यामा मत परेको छ हो । यो कांग्रेसमा मात्र हैन नेकपा एकीकृत समाजवादीमा पनि देखिएको छ। कलम चिन्हमा ६६ मत आउँदा नेकपा (माओवादी केन्द्र) को हसियाँ हथौडामा ५२६ मत परेको छ ।

उपमेयरमा यी सबै दलको साझा उम्मेदवार यादव थिए । गठबन्धनभित्रको असन्तुष्टिले प्रमुख र उपप्रमुख पदमा मात्रै २४३३ मत प्रयोगविहीन बनेको छ ।

मतदान गर्न नजानेर भन्दा पढेलेखेका, जानेका, बुझेका र गठबन्धनको विरोधमा रहेकाहरुले उम्मेदवार नै नभएको ठाउँमा मतदान गरेको विज्ञहरु बताउँछन् ।

शिक्षाको कमी
समाजशास्त्री डा. चन्द्र उपाध्यायले मतदाता शिक्षाको अभावमा उम्मेदवार नै नभएको चुनाव चिन्हमा मतदान गरेको बताउँछन् ।

‘राजनीतिक दलहरुले मतदाता शिक्षासम्बन्धी प्रशिक्षण नै गर्नुपर्छ,’ उनले भने, ‘यस पटक गठबन्धनले गर्दा मतपत्र झण्झटिलो भएको र कतिपय ब्यक्तिले आफूले चाहेको चुनाव चिन्हमाबाहेक मत गठबन्धनको अर्को दलको चुनाव चिन्हमा हाल्न नचाहनुको असर पनि हो ।’

उम्मेदवार नभएको ठाउँमा मत हाल्नुले पनि चेतनाको कमी भएको देखाएको उनको बिश्लेषण छ ।

असन्तुष्टि र मनोवैज्ञानिक असरको कारण अर्को पार्टीको चुनाव चिन्हमा भोट हाल्न मन नलाग्दा पनि वैकल्पिक नेतृत्वलाई सघाएर जान सकिने खालको विकल्प हुँदाहुँदै उम्मेदवार नभएको ठाउँमा भोट हाल्नुलाई पनि डा. उपाध्यायले शिक्षाको कमीकै रुपमा बुझ्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *