गर्भपात : यो तपाईंको गल्ती होइन
प्रसूती तथा स्त्रीरोग विशेषज्ञको हैसियतले मैले गर्भधारण गर्न कठिन भएका कयौँ दम्पतीहरू देखेकी छु । जसले नजन्मिँदै आफ्नो बच्चा गुमाउँछ, त्यो दम्पतीले साँच्चै नै निराशाजनक र पीडादायी अवस्था भोग्न बाध्य हुन्छ । गर्भपातको दोष कसैलाई पनि दिन मिल्दैन । विशेषगरी आफैँलाई झन् दिनै मिल्दैन । गर्भपातलाई सामान्य रुपमा हेर्नसक्ने गरी बलियो हुनुपर्छ ।
गर्भ जाँच गराएर गर्भवती भएको यकिन गरेका मध्ये औषतमा १० प्रतिशतको गर्भपात हुने गरेको तथ्य छ । धेरैजसो गर्भपातको कारण भनेको भ्रूणमा क्रोमोसोमलको असामान्य हुनु हो । यसको अर्थ न त यसमा आमाको गल्ती हुन्छ, न बुबाको । महिलाहरू सामान्यतया एक पटक गर्भपात भयो भने अर्कोपटक पनि हुन्छ भनेर सोच्छन् । तर त्यस्तो हुन्छ भन्ने ठोस आधार भने छैन । एकपटक गर्भपात भएको महिलाले पनि स्वस्थ रुपमा गर्भधारण गरेर बच्चा जन्माउन सक्छिन् ।
अर्को कुरा एकपटक गर्भपात भएका महिलामा फेरि गर्भपात हुँदैन भन्ने पनि होइन । यदि लगातार दुईपटक गर्भपात भयो भने चिकित्सकको परामर्शको लागि सिफारिस गर्नुपर्ने हुन्छ । कोही महिलालाई गर्भपात हुन सक्छ वा सक्दैन भनेर सुनिश्चित गर्ने कुनै तरिका छैन । तर पनि गर्भावस्थाको पहिलो त्रैमासिक अवधिमा केही सुरक्षा अपनाए गर्भपात हुने सम्भावना घट्न सक्छ । यदी बच्चा जन्माउने योजना बनाएको छ भने मदिरा, धुम्रपान, लागूपदार्थबाट टाढा बस्नुपर्ने हुन्छ । यी चिजको प्रयोगले गर्भपात हुने सम्भावना बढी हुन्छ । गर्भावस्थाको पहिलो त्रैमासमा भिटामिन र फोलिक एसिड लिनुपर्छ ।
गर्भपातका सङ्केतहरू
यदि तपाईंको गर्भपात हुँदैछ भने योनीबाट रगत बगेको महसुस हुन थाल्छ । यो रगतले ढाकिएको मास जस्तै देखिन्छ । त्यसपछि पेट अति धेरै दुख्न थाल्छ । गर्भावस्थामा योनीबाट रगत बग्नु र पेट दुख्नुले गर्भपात नै भएको निश्चय भने गर्न सकिँदैन । सामान्य गर्भावस्थामा पनि रक्तश्राव र दुखाई भने महसुस हुनेगर्छ । यदि लगातार र धेरै नै रक्तश्राव भए चिकित्सकको परामर्शमा लागि हाल्नुपर्छ । रक्तश्रावसहित चक्कर लाग्ने, टाउको दुख्ने पनि महसुस हुन थाले तुरुन्तै अस्पताल जानुपर्छ ।
तपाई एकमात्र महिला होइन, जसले गर्भपात भोगिरहेको छ
गर्भपात भएको अवस्थाबाट बाहिर आउन कठिन हुन्छ । तर हार नमान्नु महत्वपूर्ण हुन्छ । गर्भपात भएका धेरैजसो महिला भविष्यमा बच्चा जन्माउन सक्षम छन् । गर्भपातलाई सामना गर्न गाह्रो अवश्य छ । तर त्यसबाट बाहिर आउन विभिन्न व्यक्ति र स्वास्थ्य परामर्शदाताको सहयोग लिन सकिन्छ । अरु गर्भपातबाट बाहिर आएर बच्चा जन्माएका महिलासँग पनि प्रेरित हुन सकिन्छ । उनिहरुसँग सल्लाह लिन सकिन्छ । त्यसैले बलियो हुन यो बुझ्न आवश्यक छ की तपाईं एक जना मात्रै होइन, जो गर्भपात जस्तो अवस्थासँग जुधिरहनु भएको छ । मायो क्लिनिकबाट