रिहान उपचारमा ग्राण्डीको लापरबाही; ३५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न अदालतको आदेश

काठमाडौँ । दुई वर्षअगाडि बालक रिहान न्यौपानेको उपचारमा ग्राण्डी इन्टरनेशनल हस्पिटलले लापरबाही गरेको र नेपाल मेडिकल काउन्सिलले अस्पताल र उपचारमा संलग्न चिकित्सकहरूलाई कारबाही नगरेको भन्दै दायर भएको मुद्दामा उच्च अदालत पाटनले हिजो सोमबार फैसला गरेको छ।

उच्च अदालत पाटनले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताललाई क्षतिपूर्ति स्वरूप ३५ लाख रुपैयाँ भराउने फैसला गरेको छ। अभिवावकद्वय सन्जीव न्यौपाने र एकता घिमिरेले आफ्नो बच्चाको उपचारका क्रममा लापरबाही गरेको भन्दै ग्राण्डी अस्पतालविरूद्ध दिएको मुद्दामा उच्च अदालतका न्यायाधीशद्वय सुवास पौडेल र हरिप्रसाद पौडेलको इजलासले हिजो सोमबार यस्तो फैसला गरेको हो।

दुई वर्षअघि उपचारमा संलग्न डाक्टरमाथि कारबाही गर्न माग गर्दै उनीहरू नेपाल मेडिकल काउन्सिलसमेत पुगेका हुन्। तर, काउन्सिलले दोषीलाई कारबाही नगरेर खाली स्पष्टीकरण मात्र सोध्ने निर्णय गरेपछि काउन्सिलको उक्त निर्णयविरूद्ध नै उनीहरूले पाटन उच्च अदालतमा पुनरावेदन दिएका थिए। सोही पुनरावेदनको सुनुवाई भई हिजो अदालतले दोषीउपर कारबाहीको फैसला सुनाएको हो। अस्पतालले बच्चाको उपचारमा लापरबाही गरेकाले पीडितलाई क्षतिपूर्ति दिलाई दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने उनीहरूको माग थियो।

निवेदक न्यौपाने र घिमिरेकी वकिल दीक्षा कँडेलका अनुसार सजायसम्बन्धी काउन्सिलको निर्णयलाई सदर गर्दै अदालतले पीडितलाई क्षतिपूर्ति दिलाउने फैसला गरेको हो। कँडेलले भनिन्, ‘प्रतिवादीहरूले लापरबाही भएको प्रमाणित भइसकेपछि पनि पीडितलाई क्षतिपूर्ति नभराउने गरी काउन्सिलबाट भएको निर्णय मिलेको नदेखिएको भन्दै पीडितलाई क्षतिपूर्तिबापत् ३५ लाख रुपैयाँ भराउने फैसला भएको छ।’

२०७५ असार १२ गते एकताको ग्राण्डी अस्पतालमा शल्यक्रिया गरी बच्चा जन्मियो। तर, जन्मिएको आधा घण्टामै नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआइसियू) मा राखियो। एनआइसियूबाट निकालेर पछि भेन्टिलेटरमा राख्दा बच्चामा संक्रमण देखियो। संक्रमणका कारण बच्चाको अवस्था बिग्रँदै गएपछि पाँच पटकसम्म टाउकाको शल्यक्रिया गरियो।

झण्डै १० महिनासम्म शिशुसहित सञ्जीव र एकताको अस्पतालमै बास भयो। तर, १० महिनापछि अर्को वर्ष वैशाखमा मात्र अस्पतालमा हुने ‘क्लेबसियला’ ब्याक्टेरियाको संक्रमणका कारण रिहानको स्वास्थ्यस्थिति निरन्तर बिग्रिएको र अस्पतालबाट बाहिरिएपछि मात्र आफ्नो बच्चाको उपचार हुनसक्ने उनीहरूले थाहा पाए। अस्पतालभित्र रहँदारहँदै अस्पतालकै ब्याक्टेरियाको संक्रमणका कारण बच्चामा देखिएको खराबीमा कमी नआउने कुरा अस्पतालले जान्दाजान्दै पनि उनीहरूलाई १० महिनासम्म अस्पतालमै राखी शिशुको ५ पटकसम्म शल्यक्रिया गरिएको थियो।

अस्पतालको लापरबाहीबारे थाहा पाएपछि सञ्जीवले आफूहरूमाथि अस्पताल र चिकित्सकहरूबाट अन्याय भएको भन्दै मेडिकल काउन्सिलमा ग्राण्डी अस्पताल, प्रशासन र संलग्न चिकित्सकविरूद्ध उजुरी हाले। तर, काउन्सिलले अस्पताललाई दोषी माने पनि कारबाही भने नगरेको र स्पष्टीकरण सोधेर मात्रै टारिदिएपछि उनीहरू उच्च अदालत पाटन पुगेका हुन्। अदालतमा निवेदन दिँदा उनीहरूले उपचारमा संलग्न चिकित्सकहरू थापा, अधिकारी, बिजुक्छे लगायतको नाम काउन्सिलको रजिष्ट्ररबाट हटाउनसमेत माग गरेका थिए।

निवेदनमा भनिएको छ, ‘विपक्षी अस्पताल तथा विपक्षी डाक्टरहरूको चरम लापरबाहीलाई नै बेवास्ता गर्दै उनीहरूले गरेको गलत कार्यको कुनै भान नै नहुने खालको नाम मात्रको सजाय तोक्ने नेपाल मेडिकल काउन्सिलको निर्णयलाई बदर गरी, अस्पताल तथा चिकित्सकहरूको नेपाल मेडिकल काउन्सिल ऐन २०२० को दफा ७ क.(१)(ङ) तथा नियमावलीको नियम २३ बमोजिम रजिष्टरबाट नाम हटाउने लगायत हदै सम्मको कडा कारबाही गरी पाऊँ।’

त्यस्तै, आफूहरूलाई अस्पतालले २ करोडसम्मको क्षतिपूर्ति दिनुपर्ने पनि उनीहरूले निवेदनमा उल्लेख गरेका थिए। निवेदनमा लेखिएको थियो, ‘मेरो परिवारलाई पर्न गएको मानसिक तनाव, रकम नै तोक्न नसक्ने बच्चाको जीवनमा पर्न गएको असर समेतको उचित मूल्याङकन गरी दुई करोड पचास लाख तथा अन्य मनासिब माफिकको क्षतिपूर्ति भराई पाऊँ। लापरबाहीपूर्वक कार्य गरेकाले उसलाई आजको अवस्थामा पुर्‍याउने विपक्षी अस्पताल तथा चिकित्सकहरूले निजको हेरचाहमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने गरी आदेश गरी पाऊँ।’

अदालतले क्षतिपूर्तिस्वरूप अस्पताललाई ३५ लाख रुपैयाँ भराउने भनी गरेको फैसलामाथि रिहानका बुवा सञ्जीवले सन्तुष्टी व्यक्त गर्दै फैसला सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्।

आउँदो असारमा ४ वर्ष पुग्ने रिहानको अवस्था भने अझै पनि सुधारोन्मुख नभएको र आफ्नो र श्रीमतीको दैनिक दुई-तीन घण्टा रिहानको स्याहारसुसारमै बित्ने गरेको बुवा सञ्जिवले बताए। उनले भने, ‘हामीलाई मेडिकल रिपोर्ट हेर्न आउँछ। डाक्टरले बोलेका मेडिकल शब्द पनि बुझ्छौँ। यति हुँदाहुँदै पनि हाम्रो बच्चाको उपचारमा त्यति लापरबाही भयो भने गाउँका सामान्य मान्छेको उपचार कसरी हुन्छ होला? सबै कुरा प्रष्टै देखिँदा पनि अस्पतालका मानिसहरू अहिले पनि आफ्नो गल्ती स्वीकार्दैनन्। उहाँहरूले सुरूमै गल्ती स्वीकारेको भए हामीले यति लामो समय लड्नै पर्थेन।’

उनी भन्छन्, ‘हामीले जे भोग्यौँ र भोगिरहेका छौँ त्यसलाई त बदल्न सकिन्न तर डाक्टरको लापरबाहीले अरू बच्चाहरूको अवस्था रिहानको जस्तो नहोस् भनेर हामी लडेका हौँ।’

अदालतले सुनाएको फैसलाका सन्दर्भमा ग्राण्डी इन्टरनेशनल हस्पिटल मेडिकल डाइरेक्टर विनोद बिजुक्छेले भने आफूहरू अझैसम्म सो फैसलाबारे अनविज्ञ रहेको बताएका छन्। उनले भने, ‘हामीले अहिलेसम्म अदालतबाट कुनैपनि पत्र नपाएकोले यो विषयमा पत्र पाइसकेपछि मात्र जानकारी गराउँछौँ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *