छापिएका किताब तत्काल विद्यालयमा पुर्‍याउन संसदीय समितिकाे निर्देशन

काठमाडाैँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले हालसम्म छापिएका पाठ्यपुस्तक तत्काल विद्यालयहरूमा पुर्याउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले अहिलेसम्म छापिएका पाठ्यपुस्तक तत्काल विद्यालयहरूमा पुर्याउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले छाप्न बाँकी कामलाई तुरुन्त अघि बढाइ एक महिनाभित्र छापेर सबै विद्यालयमा पुर्याउन पनि निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तिले जानकारी दिइन् । उनले पाठ्यपुस्तक नपाउने समस्याको दीर्घकालीन समाधान खोज्न सुझाव दिनुभयो भने पाठ्यपुस्तक बितरणको जिम्मा स्थानीय तहलाई दिनुपर्ने सुझाव दिइन् ।

बैठकमा जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झाले कागज अभावका कारण समयमा नै पाठ्यपुस्तक छपाई कार्यमा समस्या भएको जानकारी दिए । असारको पहिलो हप्तासम्म देशभरका विद्यालयमा पुर्याउने दावी गरे । स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्नुपर्ने भएकाले र रुस–युक्रेन युद्धका कारण किताब छाप्ने कागज आइनपुगेको उनको भनाई छ ।

बैठकमा समिति सदस्य योगेश भट्टराईले शैक्षिक सत्र सुरु हुने भन्दा निकै अगाडी देखि नै पाठ्यपुस्तक छपाईको काम सुरु गर्नुपर्ने सुझाव दिए । हरेक वर्ष पाठ्यपुस्तक अभावको समस्या समाधानको दिर्घकालिन समाधान खोज्नुपर्ने उनको भनाई छ ।

त्यस्तै समिति सदस्य चित्रलेखा यादवले पाठ्यपुस्तक अभावका कारण सार्वजनिक विद्यालयको शिक्षाको गुणस्तरमा समेत असर पर्ने धारणा राखे ।

छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमीला देवी बज्राचार्यले कागजको समस्या कारण नै समयमा पाठ्यपुस्तक छपाई गर्न नसकेका भन्दै यसको समाधानमा मन्त्रालय लागिरहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *