बढ्यो कर्मचारीको तलब, कसको कति ?
काठमाडौँ । आगामी आर्थिक वर्षका लागि राष्ट्रसेवक कर्मचारीहरूकाे तलब बढेकाे छ ।
सरकारले कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले बृद्धि गरेको हाे ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९/८०को बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको बताए । वृद्धि भएको तलब भत्ता साउन १ गतेबाट लागू हुनेछ । अघिल्लो वर्ष सरकारले २ हजार रुपैयाँमात्रै वृद्धि गरेको थियाे ।
१५ प्रतिशत बढोत्तरी हुँदा कसको तलब कति ?
यसअघिको तलब स्केलमा १५ प्रतिशत तलब वृद्धि हुँदा अब नेपाल सरकारका मुख्यसचिवको तलब १० हजार ७१ रुपैयाँ बढेकाे छ । योसँगै मुख्यसचिवको तलब ग्रेडदरबाहेक ७७ हजार २११ रुपैयाँ पुगेको छ ।
त्यस्तै, सरकारका सचिवहरूको तलबमा ९ हजार ३९० रुपैयाँ वृद्धि भएको छ । यसअघि ६२ हजार ६ सय रुपैयाँ पाउने गरेकोमा अब सचिवहरूले ग्रेडदरबाहेक ७१ हजार ९९० रुपैयाँ प्राप्त गर्नेछन् ।
सहसचिवहरूको तलबमा ७ हजार ४०७ रुपैयाँ वृद्धि भएको छ भने उपसचिवको ६ हजार ३५७ र शाखा अधिकृतको तलबमा ५ हजार ६९८ रुपैयाँ वृद्धि भएको छ ।
वृद्धि भएपछि अब ग्रेडदरबाहेक सहसचिवले ५६ हजार ७८७, उपसचिवले ४८ हजार ७३७ र शाखा अधिकृतले ४३ हजार ६८८ रुपैयाँ पाउनेछन् ।