बागलुङमा मर्मतसम्भारको अभावमा पुराना सिसी क्यामरा विस्थापित, नयाँ जोड्ने तयारी
काठमाडौँ । बागलुङ बजारभित्र सिसी क्यामरा व्यवस्थापन गर्ने काम पुनः सुरुआत हुने भएको छ । बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घ तथा सुरक्षा निकायका संयुक्त सहकार्यमा बजार क्षेत्रमा क्यामरा जडान गर्ने प्रक्रिया अघि बढेको हो ।
बजारको शान्ति सुरक्षालाई मध्यनजर गरी बजारका विभिन्न चोकमा पुनः सिसी क्यामरा जडान गर्ने प्रक्रियाअघि बढेको सङ्घका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिए । यसअघि बजारमा जडान भएका २९ सिसी क्यामरा प्रयोगविहीन अवस्थामा छन् ।
आवश्यक मर्मतसम्भारको अभावमा तीन वर्षयता प्रयोगविहीन भएका क्यामरा विस्थापन गरेर नयाँ क्यामरा जडानका लागि नगरपालिकाले रु. १५ लाख विनियोजन गरेको छ । सङ्घको रु. ८ लाख र बाँकी अपुग रकम व्यवसायीसँगबाट सहयोग सङ्कलन गरेर भए पनि बजार क्षेत्रमा सिसी क्यामरा जडान गर्ने काम सुरु गरिने अध्यक्ष राजभण्डारीले जानकारी दिए। सिसी क्यामरा जडान र यसका लागि आवश्यक पूर्वाधार तयार गर्नका लागि रु. ३० लाख लाग्ने अनुमान छ ।
“नवनिर्वाचित मेयरले नपुगेको रकम दिने भन्नुभएको छ, हामीले २०० क्यामरासम्म धान्न सक्ने लागत राख्दैछौँ, उनले भने, “नाइट भिजनसमेत दिने क्यामरा जडान गर्नुपर्नेछ, तब मात्रै अपराध र चोरी नियन्त्रणका लागि सहयोगी बन्छ ।” बजारमा नगरप्रमुख बसन्तकुमार श्रेष्ठ सङ्घको अध्यक्ष रहेका बेला सिसी क्यामरा जडान गरिएको थियो ।
बढ्दो सहरीकरणसँगै समाजमा अपराध तथा चोरीका घटना बढ्दै गएको समयमा नगरलाई सुरक्षित बनाउन बजारका विभिन्न चोकमा ८५ क्यामरा जडान गर्ने योजना रहेको उनले बताए । जिल्ला प्रहरी कार्यालयमा कन्ट्रोल रुम राखेर निगरानी गरिनेछ ।
नेपाल विद्युत् प्राधिकरणले विद्युतका पोल स्थानान्तरण गर्ने क्रममा बिग्रिएका र निकालिएका क्यामरा पुनः जडान हुन नसक्दा बजारमा हुने आपराधिक घटनाको अनुसन्धानमा समस्या हुँदै आएको थियो । सिसी क्यामराले बजार क्षेत्रमा हुने चोरी र अपराधका घटना अनुसन्धानमा सहयोगी बन्ने प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले बताए । बजार क्षेत्र विस्तार भइरहेको बागलुङ –४ को उपल्लाचौर र पाखाथरमा समेत मुख्य चोकमा क्यामरा जडान गर्ने योजना छ ।
यसका लागि काम सुरु गर्न सङ्घले यहाँका केबल टिभी व्यवसायीसँग संवाद भइरहेको जनाएको छ । सबै पक्षको सहयोग र समन्वयमा सिसी क्यामरा जडानको काम हुने नगरप्रमुख श्रेष्ठ बताउँछन् । बजारलाई सुरक्षित बजार बनाउनका लागि सिसी क्यामरा तत्काल आवश्यक रहेको यहाँका सुनचाँदी व्यवसायी अनिश खातीले बताए ।