सुदूरपश्चिममा अझै ४० प्रतिशत विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न बाँकी

धनगढी । नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता बढी बितिसकेको भएपनि सुदूरपश्चिम प्रदेशमा विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको छ । भर्ना अभियान सकिएर विद्यालय नियमित सञ्चालन भइसक्दा पनि अझै ४० प्रतिशत विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न नसकेको हो ।

जनक शिक्षा सामग्री केन्द्रले सुदूरपश्चिम प्रदेशमा यो वर्ष मात्रै २४ लाख थान पाठ्यपुस्तक आवविश्यक पर्ने बताएको छ । विार्थीको हातमा किताब नहुँदा पठनपाठन गर्न नसकिएको धनगढीको फूलबारीस्थत जनजागृति माध्यमिक विद्यालयका प्राचार्य टेकबहादुर क्षेत्रीले बताए । ‘पाठ्यपुस्तक नहुँदा नेटबाट डाउनलोड गरेर अलि–अलि काम चलाएका छौँ,’ उनले भने, ‘स्कुल लागेको पनि आधा महिनाभन्दा बढी भइसक्यो किताब आउँदैन ।’

अहिलेसम्म ३ कक्षासम्मको मात्रै किताब पाइएको उनले बताए । कक्षा ४, ७ र ९ मा यो वर्ष पूरै पाठ्यक्रम परिवर्तन भएकोले ती कक्षामा के पढाउने भन्ने अन्योल भएको उनले बताए । पाठ्य सामग्री डाउनलोड गरेर पढाउने प्रयास गरे पनि विद्यार्थीमा किताब नहुँदा अभिरुचि जगाउन नसकिएको धनगढीको सरस्वती आधारभूत विद्यालयका प्राचार्य पदमराज जोशीले बताए ।

‘किताब नहुँदा पठनपाठनमा समस्या भएको छ,’ उनले भने, ‘विद्यार्थीमा पनि कक्षाकोठा बसेर पढ्ने उत्साह आएको छैन । पाठ्यक्रम डाउनलोड गरेर पढाउने प्रयास गरिएको भएपनि सहज छैन । सरकारी विद्यालयको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले भने सुदूरपश्चिम प्रदेशका सबै सरकारी विद्यालयमा जेठ मसान्तसम्म पाठ्यपुस्तक पुग्ने दाबी गरेको छ । प्रदेशका सात पहाडी जिल्लाका लागि आवश्यक पर्ने पाठ्यपुस्तक पठाइ सकिएको जनक शिक्षाले जनाएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक ध्रुवराज पन्तले प्रदेशका पहाडी जिल्लामा पुस्तक वितरण सकिएको र कैलाली र कञ्चनपुरका विद्यालयमा पुस्तक वितरण कार्य सुरु भएको बताए । कक्षा ७ को १० हजार र ९ को १५ हजार पाठ्यपुस्तक आउन बाँकी रहेको उनले बताए । आउन बाँकी रहेको पाठ्यपुस्तक दुई-तीन दिनमा आइपुग्ने उनको दाबी छ । ‘जेठ मसान्तसम्म प्रदेशका सबै विद्यालयमा पुस्तक पुगाउने लक्ष्य छ,’ उनले भने ।

प्रदेशभर हालसम्म ६० प्रतिशत पाठ्यपुस्तक वितरण गरिसकेको र ४० प्रतिशत पुस्तक वितरण बाँकी रहेको निर्देशक पन्तले उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *