मनाङमा ५० प्रतिशत पुस्तक पुग्यो, ५० प्रतिशत पुग्न बाँकी
काठमाडौँ । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन हप्ता बढी भएको छ । तर, सामुदायिक विद्यालयका विद्यार्थीको हातहातमा पाठ्यक्रमअनुसारका सबै पुस्तक पुग्न सकेको छैन ।
विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पुस्तक अभाव भएको हो । हिमाली जिल्ला मनाङमा शैक्षिक सत्र सुरु भएको तीन साता बढी हुँदा ५० प्रतिशत मात्रै पुस्तक आइपुगेको शिक्षा विकास तथा समन्वय एकाई मनाङका प्रमुख मतिलाल चपाईंले जानकारी दिए ।
“जिल्लामा आवश्यक पुस्तक समयमा आउनै मुस्किल छ, विगतमा जस्तो जिल्लाका माथिल्लो मनाङ र तल्लो मनाङमा फरक–फरक गरी शैक्षिक सत्र सुरु हुने भए पनि यसवर्ष एक साथ सञ्चालन गरिएको छ । पुस्तक अभावले भने पठनपाठनमा समस्या सिर्जना भएको छ” चपाईंले भने । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमा नै सबै पुस्तक छपाइ भ्याएर प्रत्येक जिल्लामा आउनुपर्ने भए पनि समयमा पूरा नगर्दा त्यसको असर प्रत्यक्ष रूपमा बालबालिकाको भविष्यमाथि परेको उनी बताउँछिन् ।
“सबै विद्यार्थी एउटै श्रेणीका हुँदैनन् । केहीलाई पुस्तकबिना बुझाउनै मुस्किल छ । तर, पुस्तक अभावले बालबालिकाको शिक्षण सिकाइमा असर परेको छ,” उनले भने, “तेस्रो हप्ता बढी भइसक्दा बल्ल ५० प्रतिशत पुस्तक जिल्लामा आइपुगेको छ । पूरै आउन अझै समय लाग्ने अवस्था देखिएको छ ।” सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ ।
जनक शिक्षाले अझै ३३ लाख थान पुस्तक छाप्नै बाँकी रहेको जनाएको छ । चालू शैक्षिक सत्रका लागि आवश्यक एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्नेमा अहिलेसम्म एक करोड ६५ लाख थान मात्रै पुस्तक छापिएको केन्द्रले जनाएको छ । जनक शिक्षाले विद्यालय तहको ८५ प्रतिशत पुस्तक छपाइ सम्पन्न गरेको र १५ प्रतिशत छपाइ भइरहेको जनाएको छ ।
यस वर्षको शैक्षिक सत्रलाई जनक शिक्षाले एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्ने हो । अहिलेसम्म एक करोड ६५ लाख थान पुस्तक छपाइ सम्पन्न भएर वितरण गरेको जनाउँदै आएको छ । बाँकी पुस्तक असार पहिलो हप्तासम्म छपाइ सक्ने र अबको एक महिनाभित्र नै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउने जनक शिक्षाले जनाएको छ ।
केन्द्र बिक्रेतामार्फत् ७७ वटै जिल्लामा पुस्तक वितरण सुरु गरिसकेको जनाएको छ । काठमाडौँ उपत्यकाभन्दा बाहिर हिमाली तथा पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक वितरण गरेको बताउँदै आएको छ । बाहिरी जिल्लामा अपुग भएको पुस्तक दैनिक एक-दुई ट्रक पठाइरहेको पनि जनाएको छ । सबै पुस्तक जिल्लामा आइनपुगेको र केही थान आएकाले पठनपाठनलाई विभिन्न माध्यमबाट विद्यार्थीलाई पठनपाठनमा सहज बनाउने प्रयासमा लागिरहेको लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले बताए । विद्यालय आए पनि पुस्तक सबै विषयका पुस्तक आइनपुग्दा पठनपाठनमा सकस भएको कोइरालाले बताए ।
उनका अनुसार पुस्तकका पाठ डाउनलोड गरी सम्भव भएसम्म विद्यार्थीलाई ‘हेन्सआउट’ दिएर पठनपाठन हुँदै आएको छ । “टपिक्स डाउनलोड गर्ने र फोटोकपि गरेर पठनपाठनलाई अगाडि बढाएका छौँ, महाविपत्तिले त्रास नै त्रासमा पठनपाठन गराइरहेको अवस्थामा पाठपुस्तकको अभावले समस्या थपिएको छ,” कोइरालाले भने । लोकप्रिय माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा सरिता गुरुङ पाठ्यपुस्तक नपाउँदा पुस्तक हेरेर होमवर्क गर्न समस्या भएको बताउँछन् । शिक्षकले सिकाएका सबै दिमागमा लिन नसकेको अवस्थामा किताब हेर्न नपाएर सिके पनि सहज भने नभएको उनले बताए ।
“हाम्रो त किताब हेरेर पढ्ने बानी छ नि । किताब हेर्ने बानीले किताबबिना त पढेको र बुझेको जस्तो नै लाग्दैन । केही किताब आएको छ । अब विस्तारै सजिलो बन्छ होला” उनले भने । उनका अनुसार शिक्षकले दिएका गृहकार्य गर्ने क्रममा पुस्तक हेर्न नपाउँदा समस्या हुन्छ ।