सिञ्जालाई ‘खै’ गर्ने होइन त ?
हिटीको आलेख छपाउँदै गर्दा अर्को डेस्कमा बस्ने म्यामले उर्दी लगाउनु भयो, ‘सर, कति (मंगोलीयन) हजुरहरूको मात्र लेख्नुहुन्छ? हाम्रो (खस/आर्य) बारेमा पनि लेख्नुस् न ।’ सो सुझावको मनन गर्दै लेखियो ।
हाम्रो समाजमा आफूले आफ्नै बारेमा बोलिएको त्यति निको मानिँदैन । तथापि, आज हामी अरूको कूरा नगरी आफैलाई ऐनामा हेरौँ न त ! के के जानेका छौँ, खोतलौँ न त ! देश नेपाल अनि भाषा नेपालीः खोजी गरौँ न त ! कहाँ ? कताबाट यो हाम्रो भाषा हुन गयो ?
सिञ्जा खोलो हिँडी हिँडी, गम खोलो उकालो !
निको छ क्या आलो बालो गाठँ छ क्या सुकालो !
‘हामीले बोलेको भाषाको बारेमा केही बोल्नु न’ भन्दा माथिका देउडाका दुई लाईन गाउँदै ८औं शताब्दीको सिञ्जा सभ्यताको कथा शुरू गर्छन्, संस्कृति अभियन्ता तथा टेलिभीजन कार्यकम प्रस्तोता पूर्णप्रसाद अचार्य ।
यसै दुई हरफको सर्जक योगी नरहरी नाथ सम्झँदै सिञ्जाले सबैलाई खोजी गरे पनि सबैले सिञ्जालाई र्बिसिँदै गएको र सोही अर्थ नै यी दुई हरफमा समेटिएको अर्थ्याउँदै उनी भन्छन्, “सिञ्जा सभ्यता नै हाम्रो ‘नेपाली भाषा’को उद्गम हो ।” नेपाली भाषाको मूल थलो भन्ने बित्तिकै एकैछिनलाई आफू र आफ्नो छोडेर लागौँ न त सबैले सुनेको तर थोरैले बुझेको सिञ्जातिर ।
सिञ्जा सभ्यता सिञ्जा उपत्यका (हालको कर्णाली क्षेत्र)मा उत्पत्ति भएको सभ्यता हो । सन् १४५५ मा राजा जालन्धरले सिञ्जा राज्य स्थापना गरेको विश्वास रहेको पाइन्छ । राजा जालन्धर शिवभक्त भएकाले उनले शिवको पहिलो अक्षर ‘शि’ र आफ्नो नामको पहिलो अक्षर ‘ज’ जोडेर सिञ्जा राखेको जनविश्वास छ । सिञ्जामा आजपनि पूजा गरिने देवीमा ‘जालन्धरकी रानी वृन्दा’ ले बास गरेको बताइन्छ । पुराणहरूमा वृन्दालाई विधवा र तपस्वी महिलाको रूपमा चित्रण गरिएको छ । खस भाषामा वृन्दाको नामलाई ‘बिनैनी’ भनिन्छ ।
खसका राजा नागराज र उनका उत्तराधिकारीहरूले सिञ्जा सहरमा करिब ३०० वर्ष शासन गरे । त्यो अवधिमा सिञ्जा क्षेत्रले राजधानी मात्र होइन, लोकप्रिय सभ्यताको पनि विकास गरेको इतिहास छ । यी खस राजाहरूले नै नेपाल उपत्यका (हालको काठमाडौँ उपत्यका)मा दुईपटकभन्दा बढी आक्रमण गरी सिञ्जामा गाभे। यसरी फैलिएको सिञ्जाले पुनः पूर्वमा आक्रमण गरी करात राज्यको स्थापना गरेको थियो भने पश्चिममा कुमाउ-गढवालसम्मका सबै राज्यहरूलाई आफ्नो साम्राज्यभित्र विलय गरेको थियो ।
यस विषयमा उस्तै धाराणा राख्दै आचार्य भन्छन्, ‘पूर्वको कोशीदेखि पश्चिमको कुमाउसम्म, दक्षिणको गुहाटी-आसामदेखि उत्तरको तिब्बतको स्वशासित क्षेत्रसम्म सिञ्जा उपत्यका फैलिएको थियो।’ उनी थप्छन्, ‘जुम्ली-मार्सी चामलसमेत कस्मीरबाट ल्याइएको किंवदन्तीसमेत पाइन्छ।’
सिञ्जा उपत्यका नेपालको यस्तो अचम्मको ठाउँ हो जसले ‘खस (नेपाली)’ भाषाको उत्पत्तिसँग सम्बन्धित समृद्ध पुरातात्विक प्रमाण र तथ्यहरू प्रदान गर्दछ । यस उपत्यकामा सुव्यवस्थित र प्रभावशाली पश्चिमी मल्ल का १२ औं र १४ औं शताब्दीको खस राज्यको राजधानी सहरको पुरातात्विक प्रमाणहरू छन् । तत्कालीन समयमा सो राजधानीले सिञ्जा साम्राज्यको नामले पनि प्रसिद्धी कमाएको थियो र त्यसको प्रसिद्धी अहिले पनि जीवितै छ। नेपाल एकीकरण हुनुभन्दा शताब्दीऔं अगाडि तत्कालीन खस राजाहरूले सिञ्जा उपत्यकालाई राजधानी बनाएर नेपालमाथि शासन गरेको प्रमाणसँगै त्यहाँबाट शुरू भएको खस भाषा नै अहिले नेपाली भाषाका रूपमा बोलिन थालिएको विज्ञहरू बताउँछन् । अझै पनि जुम्लालगायत कर्णाली क्षेत्रमा बुढापाकाले खस भाषा बोल्ने गर्दछन् ।
जुम्लाका विभिन्न ठाउँमा खस भाषापनि फरक–फरक शैलीमा बोलिन्छ । आजसम्म पनि चार दरा भएको जुम्लाको सिञ्जा (उपत्यका) दराले खस साम्राज्यको समयमा बोलिने खस भाषा बोल्छ । यो ब्राह्मण, क्षेत्री र अन्य जातिको बाहुल्यता भएका बहुसंख्यक स्थानहरूमा भने अलि फरक शैलीमा बोलिन्छ ।
यस उपत्यकाका दुल्लु र वरपरका पहाडतिर १३औं शताब्दीऔं पुराना शिलालेखहरूमा नेपाली भाषाको देवनगरी लिपी फेला परेसँगै नेपाली भाषाको उत्पत्ति थलो मानिएको हो । यसरी हेर्ने हो भने सिञ्जा सभ्यता हालको कर्णाली क्षेत्रकै सिञ्जा गाउँपालिका आसपास पर्दछ भन्ने पुष्टि हुन्छ । उक्त सिञ्जा गाउँपालिकालाई सिञ्जा सभ्यता विकास गरेको सिञ्जा साम्राज्यकै एक अंश वा प्रमाणका रूपमा हेर्न सकिन्छ ।
पुरातत्व विभाग र क्याम्ब्रिज विश्वद्यिालयको उत्खननबाट निस्किएको निष्कर्षले पनि सोही कुरामा जोड दिन्छ । उक्त उत्खननका क्रममा पुराना दरबार, मन्दिर (त्रिपुरा सुन्दरी, कनक सुन्दरी) र बस्तीका अवशेष फेला परेकाले उपत्यकालाई युनेस्को विश्व सम्पदास्थलहरूको सूचीमा सन् २००८ जनवरी ३० का दिन सुचिकृत समेत गरिएको थियो ।
उता १३औं शताब्दीऔं शिलालेखहरू पाइए तापनि यता अभियन्ता आचार्य भने सिञ्जा सभ्यतालाई ८औं शताब्दीतिर लाँदै भन्छन्, ‘सिञ्जा ८औं शताब्दीतिरै एकदम धनधनाड्य, सबै रूपमा भरिपूर्ण तथा समृद्ध अनि मस्त-उदयमा रहेको एक साम्रज्य हो ।’ कर्णाली प्रदेशको राजधानी सिञ्जा आफैमा महत्त्वपूर्ण स्थान रहेकोले यस क्षेत्रका खस ब्राह्मण, क्षेत्री, ठकुरी, कामी, दमाई, सुनार, सार्की र सन्यासीले मान्ने मस्तो, तराईका ब्राह्मण तथा क्षेत्रीले मान्ने देवताभन्दा पनि प्राचीन र प्रकृतिका पूजा गर्ने गरेको विद्वानहरूले लेखेका छन् । यस क्षेत्रका ब्राह्मणहरूले राज्यमा सल्लाहकार, राजदूत, धार्मिक अधिकारी, न्यायाधीश र प्रशासनिक कर्मचारीको रूपमा काम गरेको इतिहास छ ।
८औं शताब्दीपछि राजा नागराजको उदयपछि त झन्, यस सभ्यताको भाषा, साहित्य र संस्कृतिमा निखारता आएको आचार्यको भनाइ छ । अहिले हामी जति पनि पश्चिमी परिचय बोकेको साहित्य र संस्कृति खोज्छौँ, यसैको उपजका रूपमा लिन्छन्, देउडा, चाचरी, छलिया, पुत्ला, भर्सो आदीलाई। ‘उः बेला काँ अहिल्या जस्तो डानस बारमा गएर रमाउन्ये चलनथ्यो र हैन?, अहिले त डानसबार जान्छन् नि हैन?’ उनी आफैलाई प्रश्न गर्दै आफै प्रष्ट्याउँछन् ‘त्यो त देवत्यभूमि थियो । यिनै (देउडा, छलिया, न्याउला आदि) मा रमाउँथे सिञ्जावासीहरू । अझै, पनि विवाह, व्रर्तबन्ध तथा अन्य शुभकार्यहरूमा उहीबेला विकसित भएको माघल गाइने प्रचलनमा रहेको बताउँछन् ।
त्यस देवत्यभूमिमा न कुनै कानून नै आवश्यकता पर्थ्यो, न कुनै नियमको ! अड्डाका नियमहरूभन्दा पनि त्यस ठाउँको देवीदेवताले नै समाज चल्या क्या ! अड्डाका नियमहरू भए तापनि लागु हुन्याथिएन । देवत्य विश्वासले समाज चलाएका थियो ।’
सिञ्जा वा सीजा साम्राज्य नै खस (आर्य) साम्राज्य रहेको विश्वास रहिआएको पाइन्छ । ‘खस राज्यभन्दा खसेको भनेको जस्तोलाग्ने हुनाले पनि खस साम्राज्यलाई सिजा साम्राज्य भन्न थालिएको’ विद्वानहरू बताउँछन् । ‘खसहरू नै ठकुरी रहेको र उनीहरूले नै राज्य सञ्चालनमा रहेको जिकीर गर्दै ठकुरीहरू पनि चार थरीका पाइने’ बताउँछन् ।
‘यस्तो वैभव बोकेको सभ्यताको ऐतिहासिक दस्तावेजहरूमा किन ह्रास आयो त’ भन्ने प्रश्नको जवाफमा उनी भन्छन्, ‘नभएका होइनन्, टन्नै छन् र थिए पनि । तर, जति हुनुपर्ने हो त्यति भने छैनन् । ताम्रपत्र, शिलालेख, स्तम्भहरू छन् । उदाहरणको लागि दैलेखमा कृतिस्तम्भ छ । डोटीमा पनि स्तम्भहरू छन् । भग्नावशेस दरबारहरू छन् ।’
उनी थप्छन्, ‘तर, जब शाहवशंका राजा बहादुर शाहसँग बाइसे-चौबिसे राज्यको लडाइँ भएर सिञ्जावासीहरू हारे, सोलगत्तै त्यतिबेलाका हतियारहरू, त्यहाँका रोडा, तालेवा, मिल्लमल, लाटकम्पनी पैसा, रुपैयाँहरू आदि प्रमाणहरू हाल रहेको सिंहदरबारभित्रको रक्षामन्त्रालयको पुतली बगैँचामा सात दिनसम्म आगो लगाएर नष्ट पारिए । अतः सिञ्जा सभ्यता पछि पर्दै गयो । तर, अहिले अझै पनि त्यहाँ रहेका अधिकांश दस्तावेजहरूको खोज अनुसन्धानका बारेमा अनेकौं कामहरू भइरहेको र विभन्न साहित्यकार, इतिहासकारहरूले धेरै किसिमका कामहरूबाट छायाँमा परेका सिञ्जा इतिहासलाई बाहिर निकाल्ने काम गरिरहेका छन् ।’
यसरी हेर्दा, जनजीवनमा जे जति नै आर्यहरूमाथि मंगोलको ऐतिहासिक रूपले दमन भएको चर्चा रहेता पनि कुनै कहीँकतै व्यक्तिगत रूपमा दमन भएको हुनसके पनि मंगोल सम्प्रदाय वा समुदायले खस वा आर्य सम्प्रदायलाई दमन गरेको इतिहास भने कतै पाइँदैन । खस वा आर्यको इतिहास अर्थात् सिञ्जा सभ्यताको इतिहास खस वा आर्य समुदायभित्रैबाट उदाएको शाहवंश स्वयंले नष्ट गरेको इतिहासमा छर्लङ्ग पाइन्छ । साथै, एकको विकासका लागि अनेकौं विनाश हुँदै हुँदै नै सभ्यताहरू एकपछि अर्को गर्दै उदाउने र अस्ताउने क्रम चली नै रहने पंक्तिकारको निचोड छ। सिञ्जा सभ्यता पनि शाहवंशको उदयपछि विलाउँदै गएको इतिहासले बताएको छ।
तर, सिञ्जा सभ्यताकै एक हिस्सा हामीले बोल्दै आएको नेपाली भाषा हो । हामीले नखोजे पनि हामी आफैले बोल्ने हाम्रो राष्ट्रिय भाषामार्फत् सिञ्जाले भने अहिले पनि हामीलाई ‘खै?’ गर्दैछ । त्यसैले, मैले पनि यो लेखमार्फत् सिञ्जालाई उसैको भाषा र लिपीमार्फत् ‘खै?’ फर्काएको छु ।