उपचार गर्न लगिएको शिशुलाई जन्मिँदै मरेको भनिएपछि कोशी अस्पतालमा तनाव
विराटनगर । कोशी अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ ।
मोरङको बेलबारी ७ बाहुनी घर भएकी २४ वर्षीय स्वितमा प्रधानको नवजात शिशुको गएराति मृत्यु भएपछि अस्पतालको माहोल तनावग्रस्त बनेको हो ।
प्रधानलाई शुक्रबार राति ८ बजे नर्मल डेलिभरी भई पुत्रीलाभ भएको भयो । डेलिभरीपछि नवजाजत शिशुको मुखमा दिशा परेको भन्दै उपचार गर्न लगियो । तर, राति ११ बजे भने शिशुको मृत्यु भएको खबर आयो ।
प्रधानका श्रीमान दिपेन्द्र श्रेष्ठका अनुसार भोलि बिहान घर जाने बेलामा डिस्चार्ज पेपरमा मरेको बच्चा जन्मिएको भनी ‘स्टील बर्थ’ भनेर लेखिएको थियो । ‘डिस्चार्ज पेपरमा कसरी यस्तो लेखियो भनेर बुझ्दा अस्पताल प्रशासनले कसैलाई भेट्न दिएन’, उनले भने, ‘अस्पतालको स्वास्थ्यकर्मीहरूको लापरबाही रहेको छ ।’ डिस्चार्ज पेपरमा कसरी मरेको बच्चा जन्मिएको लेखियो भन्ने विषयमा अस्पतालका चिकित्सक र प्रशासनसँग बुझ्न खोज्दा अहिलेसम्म भेट्न नदिइएको उनीहरूको भनाइ छ ।
कोशी अस्पतलाका मेसु डा. यज्ञराज खरेलसँग घटनाका विषयमा बुझ्न सम्पर्क गर्दा उनको फोन अफ रहेको छ ।