…अनि सवारी चालक नरेश बने नायब सुब्बा !
सपना देखेर मात्रै पूरा हुँदैन । सपना पूरा गर्न त देखेका सपनालाई मलजल पनि गर्नुपर्छ । नरेशको जीवनमा पनि त्यस्तै भयो । उनले सपना मात्रै देखेनन्, लक्ष्य मात्रै राखेनन्, लक्ष्य प्राप्तिको लागि कडा मेहनत पनि गरे । अहिले उनी सफल छन् र सन्तुष्ट पनि ।
बिबिएस पढेका नरेश थापा मगरलाई काम सानो अथवा ठूलो हुन्छ भन्ने कुरामा पटक्कै विश्वास लाग्दैनथ्यो । १० वर्षअघि उनले घर खर्च टार्ने उद्देश्य मात्रै लिएर एउटा सहकारी संस्थामा मार्केटिङको काम शुरू गरे । त्यही क्रममा उनले गाडी पनि चलाउन सिके ।
आफूसँग गाडी चलाउने सिप भएपछि मार्केटिङ गर्दाभन्दा बढी पैसा कमाउन सक्ने थाहा भएपछि विसं २०७१ सालमा नरेश डिएभी स्कुलको गाडी चलाउन थाले । स्कुलमा केही समय गाडी चलाएपछि नरेशलाई उनको एकजना चिनेकै दाइले सरकारी वकिलको कार्यालयमा करारमा सवारी चालक बनाइदिए ।
अब नरेश सरकारी कार्यालयको गाडी चलाउने भए तर उनको गाडी चलाउने करारको जागिर कतिबेला फुस्कने हो ठेगान थिएन । नरेश आफैँलाई पनि एकदम अस्थायी काम हो भनेर डर लागेको थियो । किनभने सरकार फेरिएपिच्छे, मन्त्री फेरिएपिच्छे नरेशका हाकिमहरू फेरिन्थे अनि उनीहरूका ड्राइभर पनि । कहिले खुस्किने हो पत्तो नभएको सवारी चालकको काम नरेशले गरी नै रहेका थिए ।
उनी सहसचिव, सचिवका गाडी चलाउँथे । कार्यालय आउने जाने गर्दा उनका हाकिम, सर-म्यामलाई देख्थे । सुकिलामुकिला भएर आएका कर्मचारीहरू कुर्सीमा बसेर काम गर्थे, उनीहरूको काम त्यति गाह्रो छ जस्तो नरेशलाई लाग्दैनथ्यो । त्यो देख्दा उनलाई कुर्सीमा बसेर टेबुलवर्क गर्ने खुब रहर पलाएर आयो । उनी भन्छन्, ‘शारीरिक श्रम गर्दागर्दै वाक्क भइसकेको थिए । कुर्सीमा बसेर आनन्दले काम गर्ने सपना देख्न थालेको थिएँ ।’
नरेशले मोटरसाइकल वर्कसपमा पनि ४ वर्ष काम गरी सकेका थिए । फेरी उही कार्यालयका कर्मचारीले नरेशलाई पढाइबारे सोध्ने गर्थे । आफूले बिबिएस पास गरेको बताएपछि यत्रो पढेको मान्छे यसरी गाडी चलाएर बस्ने हो भन्दै लोकसेवा आयोग तयारी गर्न हौसला दिन्थे ।
त्यसपछि स्कुलमा सँगै पढेको साथीसँग नरेश लोकसेवाको कक्षाबारे बुझ्न गए । बुझ्न जाँदा सँगै जाने साथीले कक्षा लिएनन् तर नरेशले कक्षा लिन शुरू गरे । उनी आफ्नो घर टिकाथलीबाट बिहान ६ बजे लोक सेवाको क्लास लिन जान्थे । त्यहाँबाट नरेश ८ बजे कार्यालय जान्थे ।
हाकिमलाई कार्यालय ल्याएपछि बेलुका घर पुर्याउने बेलासम्मको खाली समयमा नरेशले वकिल कार्यालयमा नै बसेर पढ्न थाले । कार्यालयका कर्मचारी आएर उनलाई कसरी पढ्ने आइडिया सेयर गर्थे । तर उनका सवारी चालक साथीहरू भने फुर्सदको समयमा पनि लुडो खेल्ने, कार्ड खेल्ने, फिल्म हेर्ने काममा आफूलाई व्यस्त राख्थे । त्यस्तो वातावरणमा पनि नरेश पढिरहन्थे । त्यसरी पढेपछि उनले २०७३ सालमा नायव सुब्बाको लागि पहिलो पटक परीक्षा दिए । पहिलोपटक सफल भएनन् ।
त्यसपछि उनले लगातार ३ पटकसम्म लोकसेवा दिए । तर पास भएनन् । २०७६ सालमा फेरि लोक सेवाले विज्ञापन खुलायो । त्यसमा नरेश पास भए । अब उनको खुसीको सीमा नै रहेन । नरेश भन्छन्, ‘सधैँ दिइरहेको परीक्षा । अरूबेला फेल हुँदाखेरि दिएको जस्तै भएको थियो । पास हुन्छु भन्ने त्यस्तो आस नै थिएन । तर पास भएछु । अचम्मै लाग्यो आफैँलाई । सायद त्यो मेरो अन्तिम मौका पनि हुन्थ्यो होला । किनभने अहिले म ३४ वर्षको भइसके । याे परीक्षा ३५ वर्षसम्म मात्रै दिन पाइन्छ । विज्ञापन सधैँ खुलिरहँदैन ।’
पास भएपछिको अनुभव सेयर गर्दै नरेशले भने, ‘वकिल कार्यालयमा ५ वर्ष काम गर्दा मैले गाडी चलाउने ४ जना हाकिम फेरिएका थिए । उनीहरू सबै जनाले मलाई फोन गरेर बधाई दिए । एक जना मुरारीप्रसाद पौडेल भन्ने सहसचिव हुनुहुन्थ्यो । उहाँले बाहिरबाट गाली गरेजस्तो गर्नुहुन्थ्यो तर भित्रभित्रै मैले पास गर्दिए हुन्थ्यो भन्ने थियो उहाँलाई । एकछिन् अलमलिएको देख्यो भने लोक सेवा आयोग पढ्ने मान्छे यसरी हुन्छ भनेर थर्काउनु हुन्थ्यो । म पास भएको थाहा पाएर आफैँ फोन गरेर बधाई दिनुभयो । उहाँ त रिटायर्ड भएको नै ३ वर्ष भइसक्यो । उनले नरेशलाई करारमा गाडी चलाउनेले लोक सेवामा नाम निकालेको पहिला कहिल्यै नसुनेको भन्दै बधाई दिएका थिए । यद्यपि कार्यालय सहायकहरू चाहिँ लोक सेवामा नाम निकाल्ने धेरै छन् ।’ वकिल कार्यालयको नासु नरेन्द्र चैसिरले नरेशलाई सबैभन्दा पहिले बधाई दिएको उनी सम्झिन्छन् ।
नरेशले कम्प्युटरको परीक्षा पनि पास गरिसकेका थिए तर उनलाई कम्प्युटर चलाउन आउँदैनथ्यो । उनी भन्छन्, ‘वकिलको कार्यालयमा नासुको पद रिक्त थियो । फुर्सदको समयमा दिउँसोभरि त्यही गएर कम्प्युटर चलाएर बस्थेँ ।’
यही सालको वैशाख ५ गतेदेखि नरेशको महालेखा परीक्षकको कार्यालयमा नियुक्ति भएको छ । उनी खुसी छन् । भन्छन्, ‘यहाँ त मलाई जति नै काम भए पनि काम गरे जस्तै लाग्दैन । जति पनि काम गर्न सक्छु ।’ नरेशले जनजाति आरक्षण कोटामा नाम निकालेका हुन् । ५ जना मागेकोमा उनको पनि नाम निस्कियो । अहिले उनलाई ढुक्क छ । सरकारी जागिर छ, आफ्नी ६ वर्षीय छोरीको पढाई समेतको खर्च मज्जाले धानेका छन् । त्योभन्दा ठूलो कुरा त सन्तुष्ट छन् ।
उनको कुर्सीमा बसेर काम गर्ने भोक अझै सेलाएको छैन । उनी आफू अझै माथिल्लो पोस्टमा पुग्न निरन्तर लागिरहने बताउँछन् । यो बिचमा उनले सिकेको सबैभन्दा ठूलो पाठ भनेको हरेस नखाई लागिरह्यो भने एकदिन पक्का सफल भइने रहेछ भन्ने रहेको बताउँछन् । नरेशको अबकाे सपना भने शाखा अधिकृत बन्ने रहेकाे उनले हाँस्दै बताए ।
निरन्तरताको मेहनत र परिश्रमी व्याक्तले लक्षको गन्तव्यमा पुग्न सफल भएकोमा निरन्तर सफलताको अनगिन्ती शुभेच्छा सहित हार्दिक बधाई छ #नरेश_थापा_मगर भाई तपाईंलाई ।