बिपीको ओपिडी समय थप, सरकारले दिने सुविधाको औषधी बाहिर खरिद गर्न प्रतिबन्ध

विराटनगर । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा सुधारको अभियान शुरु गरेको छ । काउन्टरको  समय हेरफेर गरेर सुधारका केही कामको शुरुवात भएको हा ।

यसभन्दा अघि ओपिडी काउन्टर बिहान ८ बजे देखी खुल्ने गरेकोमा बिरामीहरूको सुविधालाई ध्यानमा राखी ७:३० बजेदेखि नै काउन्टर खुल्ने प्रतिष्ठानले जनाएको छ। बिहानी काउन्टर  १२ बजेसम्म  खुल्ने र दिउसो भने पुरानै समय २  देखि ३  बजेसम्म खुल्ने जनाइएको छ ।

अस्पतालले बाहिरबाट हुने औषधीको खरिदलाई बन्देज गरेको छ । नेपाल सरकारको विपन्न नागरिक कार्यक्रम अन्तर्गत मुटु, क्यान्सर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, पार्किन्सन्स, अल्जाइमर, मिर्गौला रोगका बिरामीहरूलाई सेवा सुविधाहरू अन्तर्गत पाइने चिकित्सकको सल्लाह बमोजिमको औषधी तथा औषधीजन्य सामाग्रीहरू खरिद गरेबापतको बिल शोधभर्नाका लागि सोझै अस्पताल प्रशासनमा दाबी गर्ने गरिएकोमा सो प्रावधानलाई पनि केही फेरबदल गरिएको  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा चूडामणि पोखरेलले जानकारी दिए ।

उनकाअनुसार अब अनिवार्य रुपमा प्रतिष्ठानको फार्मेसीबाट नै खरिद गर्नुपर्नेछ । ‘हालसम्म विपन्न नागरिक कार्यक्रमको सहुलियत पाएका बिरामीहरूले चिकित्सकले लेखेको औषधीहरू प्रतिष्ठान बाहिरको औषधी पसलहरूबाट पनि खरिद गर्नसक्ने प्रावधान थियो,’ उनले भने, ‘आगामी असर १ गतेदेखि लागु हुनेगरी उक्त कार्यक्रम अन्तर्गतका बिरामीहरूले औषधि खरिद गर्दा अनिवार्य रुपमा प्रतिष्ठानको फार्मेसीबाट नै खरिद गर्नुपर्नेछ ।’

प्रतिष्ठानको फार्मेसीबाट औषधी खरिद गरेबापत प्राप्त बिल बिजक फार्मेसीको अधिकार प्राप्त कर्मचारीबाट प्रमाणित गराई शोधभर्नाका लागि दाबी गर्नुपर्ने पोखरेलले बताए । कारणवश प्रतिष्ठानको फार्मेसीबाट कुनै औषधी तथा औषधीजन्य सामाग्रीहरू उपलब्ध हुन नसकेको अवस्थामा फार्मेसीको अधिकार प्राप्त कर्मचारीबाट प्रमाणित गराई बाह्य फार्मेसीबाट खरिद गरिएका औषधी तथा औषधीजन्य सामाग्रीहरूको बिल बिजकहरुलाई मात्र शोधभर्नाका लागि दाबी गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिष्ठानको फार्मेसी पुर्ण रुपमा सञ्चालनमा आइसकेको र अन्यत्रभन्दा सहुलियत दरमा औषधी तथा औषधीजन्य सामाग्रीहरू पाइने भएकोले बिरामीका आफन्तले बाहिर धाउनु पर्ने झन्झटको अन्त्य गर्ने प्रयास भएको पोख्रेलको भनाई छ ।

कार्यदलको प्रतिवेदन
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुधार गर्न घोपा बचाउ आन्दोलन चर्किएपछि गठित कार्यदलको प्रतिवेदन बुझाएको छ । प्रतिवेदन मंगलबार प्रतिष्ठानका शिक्षाध्यक्ष तथा निमित्त उपकुलपति प्रा.डा. गुरुप्रसाद खनाललाई बुझाएको हो ।

घोपा बचाउ आन्दोलन चर्किएपछि जेठ १६ गते धरानका मेयर हर्कराज राईको रोहवरमा समस्या पहिचान गर्न तथा अस्पताल सेवा सुधारको लागि अध्ययन गर्न कार्यदल गठन गरिएको थियो । कार्यदलले ७ दिनसम्म सरोकारवालहरूसँग छलफल तथा परामर्श गरेको थियो ।

प्रतिवेदन बुझ्दै निमित्त उपकुलपति डा।खनालले प्रतिवेदनमा औँल्याइएको सुझावहरू अध्ययन गरी तत्काल गर्न सकिने कार्यहरू, मध्यकालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कामहरूको विस्तृत कार्य योजना ५ दिनभित्र उपकुलपति कार्यालयमा पेश गर्न सम्बन्धित विभाग, शाखा र महाशाखाहरूलाई निर्देशनसमेत दिएका छन् । सुधार गर्नुपर्ने विषयलाई तत्काल १५ दिनभित्र, मध्यकालीन र दीर्घकालीन गरी ३ भागमा विभाजन गरेर प्रतिवेदनले सिफारिस गरिएको घोपा बचाउ अभियानका प्रमुख अभियन्ता सुदन गुरुङको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *