आजदेखि १२-१७ वर्ष उमेर समूहलाई ‘बुस्टर डोज’
काठमाडाैँ । कोरोना भाइरसविरुद्धको दुई मात्रा (डोज) खोप लगाईसकेका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आजदेखि बुस्टर डोज लगाउन थालिएकाे छ । पूर्ण मात्रा खोप लिएर ३ महिना नाघेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई आजदेखि बुस्टर डोज लगाउन थालिएकाे हाे ।
उक्त उमेर समूहका बालबालिकालाई सरकारले पहिलो तथा दोस्रो डोजमा मोडर्ना तथा फाइजर खोप दिएको थियो । बुस्टर डोजमा पनि यही दुई प्रकारको खोप उपलब्ध छ । बुस्टरमा फाइजर खोप लगाउँदा ०.३ एमएल र मोर्डना खोप बुस्टरको रुपमा दिँदा ०.२५ एमएल दिनुपर्ने जनाइएको छ ।
बुस्टर डोज लगाउन दोस्रो मात्रा लगाएको तीन महिना पुग्नुपर्ने परिवार कल्याण महाशाखा अन्तगर्तको बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ । मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि फाइजर खोप दिने तयारी गरिरहेको छ ।
देशभरका विद्यालयहरुमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागिएको छ । सुरुमा २७ वटा जिल्लामा खोप अभियान सञ्चालन गरिने छ । त्यसपछि बाँकी रहेका ५० जिल्लामा खोप अभियान सञ्चालन गरिने बताइएको छ ।