बजेटमाथि युवा उद्यमीः नीति सकारात्मक छ, कार्यान्वयन पनि हुनुपर्यो

काठमाडौँ । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटमा युवा उद्यमलाई प्रोत्साहन गर्ने खालको भए पनि कार्यान्वयनमा चुनौती भएको युवा उद्यमीले बताएका छन्।

सरकारले प्रत्येक आर्थिक वर्ष युवा उद्यमी, स्टार्टअप व्यवसायका लागि भनेर विविध कार्यक्रम घोषणा हुने भए पनि कार्यान्वयन भने हुन नसकेकोमा युवा उद्यमीहरूले गुनासो व्यक्त गरेका छन् । कार्यक्रमलाई कार्यक्रममै सिमित नराख्न उनीहरूले सरकारलाई सुझाव पनि दिएका छन्।

नेपाल युवा उद्यम संघ ललितपुरका अध्यक्ष राजकरण श्रेष्ठले सरकारले आगामी आर्थिक वर्षको बजेट युवा उद्यममैत्री रहेको बताए । अध्यक्ष श्रेष्ठले स्नातक पास भएका युवालाई प्रमाणपत्र धितो राखेर ऋण दिने, नयाँ उद्यमीलाई उद्यमशील तालिम दिने कार्यक्रम ल्याउनु सकारत्मक बताएको बताए । कार्यान्वयनका लागि प्रभावकारी नीति बनाउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘युवा उद्यमीका लागि सरकारले केही नीतिगत विषयहरू ल्याएको छ। डिग्री गरेको प्रमाणपत्र राखेर ऋण लिनसक्ने, नयाँ उद्यमीलाई तालिम दिइनेलगायतका छन् । तर, उद्यमशीलता एकजनाले गर्ने भन्दा पनि भएका उद्योगलाई सुधार गरेर क्षमता बढाउने र धेरैलाई रोजगारी दिने बाटोमा सरकार लाग्नुपर्छ।’

सरकारले आफैले ल्याएका कार्यक्रम किनारा लगाउने गर्दा उत्साहित युवाहरू पुनः हतोत्साही हुनसक्ने हुँदा सरकारले क्षमताले भ्याउने कार्यक्रम मात्र ल्याउनुपर्ने र ल्याएका कार्यक्रमहरू कार्यान्वयन समेत गर्नुपर्ने युवा उद्यमीहरूको भनाइ छ । उनीहरूको बुझाइमा सरकारसँग कार्यक्रम कार्यान्वयनको स्पष्ट नीति नहुँदा पनि प्रभावकारी काम हुन नसकेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *