युक्रेनका राष्ट्रपति र क्यानाडाका प्रधानमन्त्रीबीच रक्षा सहयोगबारे छलफल
काठमाडौँ । युक्रेनका राष्ट्रपति र क्यानाडाका प्रधानमन्त्रीबीचमा रसिया-युक्रेन युद्धका लागि आवश्यक रक्षा सहयोगका बारेमा छलफल भएको छ ।
युक्रेनी राष्ट्रपति म्लोदमिर जेलिन्स्किी र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउबीच सो वार्ता भएको हो । त्यस वार्ताका क्रममा उनीहरुका बीचमा हाल युक्रेनलाई आवश्यक पर्ने रक्षा सम्बन्धी सहयोगको आदान प्रदान गर्ने विषयमा छलफल भएको बताइएको छ ।
युक्रेनका राष्ट्रपति जेलिन्स्किीले ट्वीट गरेर दिएको जानकारीअनुसार उनी र क्यानाडाका प्रधानमन्त्रीका बीचमा फोनमा वार्ता भएको थियो र युक्रेनलाई आगामी दिनमा आवश्यक पर्ने रक्षासम्बन्धी सहयोगका बारेमा कुराकानी भएको थियो । रुसले अहिले पनि युक्रेनमा हमला गरिरहेकाले प्रतिरक्षाका लागि सहयोग आवश्यक रहेको बताइएको छ ।
यसअघि पनि क्यानाडाले युक्रेनलाई रक्षासम्बन्धी सहयोग गर्दै आएको थियो । गत हप्तामात्र क्यानाडाका रक्षामन्त्री युक्रेनको भ्रमणमा पुगेर आवश्यक सहयोग उपलब्ध गराउने बताएका थिए ।