यो घाँडो पन्छाउनु पर्छः मोहन बानियाँ
काठमाडौँ । यतिबेला एसपीपीका विषयमा चौतर्फी टीकाटिप्पणी हुँदै गर्दा विगतमा भने सहमति भएको भन्ने कुरा आइरहेको र कुन सरकारको पालामा सो सहमति भएको भन्ने देशव्यापी चासोको विषय बनिरहेको छ ।
संसदीय समितिअन्तर्गत अन्तराष्टरिय सम्बन्ध समितिकी सदस्य लिलादेवी सिटौलाले सैन्य गठबन्धनमा नेपाल सामेल भएको आशंका सत्य हुनसक्ने बताएकी छन् । उनले भनिन्, ‘२०१५ मा एउटा पत्र गयो । २०१७ मा गएको भनिएको छ । २०१९ मा एप्रुभ भएको भनिएको छ । भन्नलाई त विपदमा सहयोग मागेको भनिएको छ तर सैन्य गठबन्धनमा सामेल हुने कुरा आयो भन्ने छ ।’ उनले अगाडि भनिन्, ‘हामी आफू बुझेर काम किन गर्दैनौँ ? एसपीपीमा पत्र किन लेखेको ? अहिले एप्रुभ भएकोले नेपालले पत्र लेखेर रद्द नगर्दासम्म स्वतः कार्यान्वयनमा रहेको भनिएको छ । विगतमा गलत भयो होला अब पत्र लेखौँ र रद्द गरौँ ।’
त्यस्तै, संसदीय समितिकी सदस्य सरला कुमारी यादवले पनि एसपीपी प्रकरण शंकास्पद रहेको बताउँदै कुन सरकारको पालामा पत्र पठाइएको भन्नेबारे खोजबिन हुनुपर्ने माग गरेकी छन् ।
उनले भनिन्, ‘नेपाली सेनाको ब्यारेक नै अमेरिकन सेनाले प्रयोग गर्ने ? उच्च भुभागमा सैन्य अभ्यास गर्ने रे ! यसले आशंका उब्जाएको छ ।’ उनले प्रधानमन्त्री र प्रधान सेनापतिको विदेश भ्रमणको कार्यक्रम स्मरण गराउँदै भनिन्, ‘भोलि प्रधान सेनापती विदेश भ्रमणमा जाने । पछि प्रधानमन्त्री जाने, दुवै अमेरिका ठोकिने !’ उनले प्रश्न गरिन्, ‘अमेरिकालाई एसपीपीमा पत्र पठाउँदा प्रधानमन्त्री को हुनुहुन्थ्यो ?’
साथै, संसदीय समितिको सदस्य मोहन बानियाँले सरकारको परराष्ट्र नितिमा खुकुलोपन आएको आरोप लगाएका छन्।
उनले भने, ‘एसपीपीका विषयमा सरकारले ( एस अर नो ) प्रष्ट भन्नुपर्छ । साम्राज्यवादीहरू सियो भएर छिर्छन् र निस्कँदा मुसल हुन्छ । युक्रेनमा के भयो युक्रेनले छिमेक छोडेर परकोलाई मित्र मान्दा के भयो ? यो बुझेर पनि हामी कुन दहिचिउरे कुरा गर्दै छौँ ?’ उनले अगाडि भने, ‘उच्च हिमाली क्षेत्रमा किन सैनिक अभ्यास ? तराईमा किन नभनेको ? बरु आफू मर्नु राज्यमा कालो दाग लगाउने काम नगर्नू !’
उनले एसपीपी समहतिमा सत्यता भए हिजोको राणा शासन फर्किेएर आउन सक्ने टिप्पणी गर्दै राजा महेन्द्र सम्झने दिन आउन सक्ने बताए । उनले भनेका छन्, ‘बरु सरकार नरहोस्, राजनीतिक दलहरू नरहुन्, नेपाल कुनै पनि हालतमा एसपीपीमा सामेल हुनहुन्न । एमसीसी पनि खारेज गर्नुपर्छ । यो घाँडो पन्छाउनु पर्छ ।’