सरकारसँग स्वीकृति मागेरै पत्र लेखिएको सेना प्रवक्ता सिलवालको दाबी

काठमाडौँ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले कुनै गठबन्धनमा जान स्वीकार गरेर नेपाली सेनाले पत्र नलेखेको दाबी गरेका छन् ।

प्सरवक्न्ता सिलवालले सन् २०१५ को महाभूकम्पका बेला सरकारसँग स्वीकृति लिएरै अमेरिकी सेनालाई पत्र लेखिएको स्पष्ट पार्दै सो पत्र कुनै गठबन्धनमा जान स्वीकार गरेर नलेखिएको दाबी गरेका हुन् । उनले भनेका छन्,  ‘कुनै एलायन्समा जानका लागि स्वीकार गरेर, कुनै समझदारी या लिखित सम्झौता गरेर होइन, विनाशर्त मित्रवत सहयोगका लागि अनुरोध गरिएको हो, त्यो पनि सरकारसँग अप्रुभल लिएर ।’

सो पत्रमा सहयोगका लागि चार क्षेत्र तोकिएको समेत उल्लेख गर्दै पारदर्शी पत्रमाथि शंकाको कुनै विषय नभएको बताएका छन् । उनले भने, ‘विभिन्न स्थानमा राहत सामग्री पुर्‍याउन हेलिकप्टर, कार्गो प्लेन, एयरपोर्ट, वेयरहाउस, पुल जोगाउन खटिने जनशक्तिका लागि तालिमलगायतका विषय तथा क्षेत्र तोकेर सहयोग मागिएको छ, कुनै गठबन्धन स्वीकार गरिएको कुरा छैन ।’

‘त्यो बेलामा देशका सबै संयन्त्रसहित नेपाल आर्मीलाई के अनुभूति भयो भने हाम्रो तयारी कमजोर रहेछ, यस्तै प्रकृतिको या योभन्दा ठूलो खालको प्रकोप आयो भने के हुन्छ भनेर त्यसको फिडब्याक र अनुभवका आधारमा हामीले आफ्नो तयारी बढाउनुपर्छ भनेर संसारसँग सहयोग लिने क्रममा अमेरिकन आर्मीसँग सहकार्य भएको हो,’ उनले भने, ‘अमेरिकामा राज्यस्तरको नेशनल गार्ड प्रकोप नियन्त्रणमा खटिने भनेपछि त्यतिखेरको सरकारसँग अप्रुभल लिएर लेखेको पत्र हो।’

उनले अगाडि भने, ‘विपदका बेला स्वभाविक रूपमा नागरिकको सुरक्षाका लागि सहयोग माग्दा चीन, भारत, पाकिस्तान, बेलायत, अमेरिकालगायत मुलुकका सेना सहयोगका लागि आएको पनि हो र नेपाली सेनाले सबैको समन्वय, सञ्चालन, अनुगमन सबै गरेको पनि हो । यो कुनै गठबन्धनको विषय होइन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *