विश्वविद्यालय अनुसन्धानमुलक हुनुपर्छ : सभामुख शाही

सुर्खेत । कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले विश्वविद्यालयहरू विशुद्ध अनुसन्धानमुलक र प्राज्ञिक बन्नुपर्नेमा जोड दिएका छन् ।

मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको १२औं वार्षिकोत्सवका अवसरमा आज शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख शाहीले यस्तो बताएका हुन् । शाहीले प्राध्यापक, कर्मचारी र विद्यार्थीहरू राजनीतिक गतिविधिमा बढी केन्द्रीत हुने गरेकाले विश्वविद्यालयहरूको विश्वसनियता गुम्न पुगेको विचारसमेत व्यक्त गरेका छन् ।

शाहीले भने, ‘विश्वविद्यालय पढाउने, अनुसन्धान गर्ने थलो हो, राजनीति गर्ने र राजनीतिक प्रयोगशाला बन्ने थलोको रुपमा पहिचान बनाउनुहुँदैन । नेपालका विश्वविद्यालयमाथि अविश्वास बढ्दै गएको छ, अब सुधार गरेर गुमेको विश्वास फर्काउनुपर्छ ।’

विश्वविद्यालयहरू बेरोजगार उत्पादन गर्ने हब बन्न नहुने धारणा राख्दै उनले नेपाली युवा विद्यार्थीहरू उच्च शिक्षा पढ्न विदेश पलायन हुनुपर्ने अवस्थाको अन्त्य विश्वविद्यालय स्वयंले नै गर्नुपर्ने सुझाव दिए ।

यस्तै, सभामुख शाहीले कर्णालीको बेरोजगारी समस्या हटाउन मध्यपश्चिम विश्वविद्यालयले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । उनले विश्वविद्यालयलाई प्रविधिमैत्री बनाई विश्वको आवश्यकता अनुसार समयसापेक्ष परिवर्तन भई काम गर्नसक्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिन जरुरी रहेको र उत्पादित शैक्षिक जनशक्तिलाई कसरी रोजगारीमा जोड्न सकिन्छ भन्नेतर्फ विश्वविद्यालयले ध्यान दिनुपर्नेमा जोड दिए ।

विश्वविद्यालयमा राजनीतिक खिचातानी रोकिएको छः प्रा.डा. सिंह

यस्तै, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले स्थापनाकालदेखि विभिन्न आरोह अवरोह पार गर्दै आएपनि पछिल्ला केही वर्ष यता राजनीतिक खिचातानी रोकिएको बताए ।

उपकुलपति सिंहले भने, ‘राम्रो काम गर्नेलाई जुनसुकै आस्था र विचारको भएपनि प्रोत्साहन गर्ने काम भएको छ । विश्वविद्यालयबाट कर्णालीका लागि मात्र नभई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा गर्ने प्रयत्नमा छौँ, विश्वमा बढी बोलिने विभिन्न ६ वटा भाषामा पढ्ने व्यवस्था मिलाएका छौँ ।’

यस्तै, सिंहले विश्वविद्यालयले विगतका कमीकमजोरीबाट पाठ सिकेर अघि बढेको समेत बताए । सुर्खेतमा केन्द्रीय कार्यालय भई २०६७ साल असार ३ गते स्थापना भएको मध्यपश्चिम विश्वविद्यालयमा ६ सङ्काय, ७ केन्द्रीय र १० आंगिक क्याम्पस रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *